बुटवल । विद्युत्को खपत कम गर्दा पनि तुलनात्मकरुपमा बिल धेरै आएको भन्दै नेप्लिज होटेलियर्स एशोसिएसन (एनएचए) लुम्बिनीले नेपाल विद्युत् प्राधिकरण बुटवलमा ज्ञापनपत्र बुझाएको छ ।
एशोसिएसनका अध्यक्ष प्रविणबहादुर पाठक, उपाध्यक्ष दिलिप गौचन, महासचिव विकास पाण्डे, सल्लाहकार महेन्द्रनारायण श्रेष्ठसहितको टोलीले प्राधिकरण बुटवल कार्यालय प्रमुख कपिलराज पाण्डेलाई ४ बुँदे ज्ञापनपत्र बुझाएको हो ।
व्यवसायीहरुले डिजिटल मिटर प्रयोगमा आएपछि अस्वभाविक रुपमा बिल धेरै आएको गुनासो गरेका छन् ।
व्यवसायीहरुले डिजिटल मिटरको सट्टा भरपर्दो वैकल्पिक मिटर जडानको व्यवस्था गर्न, डिजिटल मिटर जडानपश्चात् अस्वभाविकरुपमा बढेको युनिट तथा महशुल रकम समायोजन गर्न माग गरेका छन् ।
यस्तै होटल प्यानलबाट लिइएको युनिट र प्राविधिक हिसाबबाट लिइएको युनिटमा समानता सुनिश्चित गर्न र अघोषित लोडसेडिङ तत्काल अन्त्य गर्न माग गरेका छन् । यदि लोडसेडिङ गर्ने भए तालिका सार्वजनिक गर्न पनि व्यवसायीको माग छ ।
दैनिक रूपमा बारम्बार लाइन जाने, भोल्टेज तल माथि हुने जस्ता कारणले गर्दा इलेक्ट्रिक उपकरणहरुमा खराबी र पूर्णरूपमा नष्ट हुने समस्या आउँदा ठूलो आर्थिक क्षति भोग्नुपरेको नेप्लिज होटेलियर्स एशोसिएसनका अध्यक्ष प्रविणबहादुर पाठकले बताए ।
एशोसिएसनका उपाध्यक्ष दिलिप गौचनले जेठ महिनामाभन्दा असारमा होटेलको व्यवसाय आधा कम भएको हुँदा विद्युत् खपत पनि स्वभाविक रुपमा कम भए पनि बिल धेरै आउँदा डिजिटल मिटरप्रति विश्वस्त हुन नसकिएको बताए ।
उपाध्यक्ष गौचनले डिजिटल मीटरको रिडिङमा अनुमानित र मनोमानी बिलिङ हुने आशंका गहिरो रहेको बताए ।
ज्ञापनपत्र बुझेपछि कार्यालय प्रमुख कपिलराज पाण्डेले व्यवसायीका माग र समस्या समाधानका लागि आफूले पहल गर्ने प्रतिबद्धता जनाए । उनले साउन महिनामा खपत हुने विद्युत्को प्राधिकरण र व्यवसायी दुबैले तथ्यांक राखेर तुलना गरी समाधानको उपाय निकाल्ने बताए ।




