बुटवल । नेपाली काँग्रेसका संस्थापक नेता तथा नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको स्मृतिमा नेपाली काँग्रेसले रुपन्देहीमा विविध कार्यक्रम गरेको छ ।
बीपी स्मृति दिवसको अवसरमा मंगलबार नेपाली काँग्रेसले रुपन्देहीमा बृक्षरोपण, बीपीको शालिकमा माल्यार्पण तथा अनाथ सहयोगापेक्षीलाई खाना खुवाएको हो ।
नेपाली काँग्रेस रुपन्देहीको आयोजनामा रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. ८ स्थित करहीया सामुदायिक बनमा बृक्षरोपण गरिएको हो ।
उक्त बनमा टिक लगायतका विभिन्न प्रजातीका बनस्पतीका ५ सय बिरुवा रोपिएको नेपाली काँग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाँणले जानकारी गराए ।
उक्त कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्यद्वय अब्दुल रज्जाक र गंगा शाहीले बीपीले बोकेका बिचार, सिद्धान्त र आदर्श पार्टीका लागि मात्रै नभएर सिंगो समाजका लागि अनुकरणीय रहेको बताएका थिए ।
बीपी स्मृति दिवसमा हरेक वर्ष नेपाली काँग्रेसले बृक्षरोपण कार्यक्रम गर्दै आएको छ । बोट बिरुवा मानव जीवनका लागि अति उपयोगी हुनुका साथै वातावरण संरक्षण र हरियाली प्रवद्र्धनका लागि पनि बीपीको स्मृतिमा पार्टीले हरेक वर्ष बृक्षरोपण कार्यक्रम गर्दै आएको सभापति खाणँले बताए ।
बन उपभोक्ता समितिले रोपिएका विरुवाको संरक्षण गर्ने गरी व्यवस्थापन मिलाईएको उनले बताए। कार्यक्रममा नेपाली काँग्रेस रुपन्देहीका पूर्वसभापती रामचन्द्र ढकाल, कोषाध्यक्ष हरिप्रसाद अर्याल, सचिव हरि काफ्ले, तिलोत्तमा नगर समितिका सभापति तथा करहीया सामुदायिक बन उपभोक्ता समितिका अध्यक्ष हरिलाल पाण्डे लगायतले बाेलेका थिए ।
त्यस अवसरमा करहीया सामुदायिक बन उपभोक्ता समितिका अध्यक्ष तथा नगर सभापति पाण्डेले रोपिएका बिरुवाको संरक्षण उपभोक्ता समितिले गर्ने प्रतिवद्धता व्यक्त गरे ।
त्यसैगरी बीपी स्मृति दिवसकै अवसरमा नेपाली काँग्रेस बुटवल नगरसमितिले बीपीको शालिकमा माल्यार्पण गरेको छ । बुटवल उपमहानगरपालिका वडा नं. ६ बीपी चोकमा रहेको बीपीको शालिकमा मंगलबार माल्यार्पण गरिएको नगर सभापति खेलराज पाण्डेले बताए ।
त्यस्तै नेपाली काँग्रेस रुपन्देही क्षेत्र नं. ३ ले मानव सेवा आश्रममा आश्रीत सहयोगापेक्षीलाई बिहानको खाना खुवाएको छ भने आश्रममा आवश्यक रहेको फ्रिज प्रदान गरिएको क्षेत्रीय सभापति सुशिल गुरुङ्ले जानकारी गराए ।
त्यस्तैगरी नेपाली काँग्रेस क्षेत्र नं. २ ले अपरान्ह बुटवलमा बीपी स्मृति साहित्य साँझ कार्यक्रम अयोजना गरिएको छ । उक्त कार्यक्रममा यस क्षेत्रका साहित्यकारहरुले बीपीका बारेमा रचना गरिएका साहित्यिक सिर्जना प्रस्तुत गर्ने क्षेत्रीय सभापति प्रजापाल गिरीले जानकारी गराए ।
नेपालमा प्रजातन्त्र स्थापनाका लागि कठोर संघर्ष गर्नुभएका बीपी कोइराला नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री भएका थिए । उनको २०३९ साउन ६ गते निधन भएको थियो । नेपाली काँग्रेसका संस्थापक नेता कोइराला २०१५ सालको आमनिर्वाचनमा पार्टीले दुई तिहाई बहुमत प्राप्त गरेपछि प्रथम जननिर्वाचित प्रधानमन्त्री भएका थिए ।




