सैनामैना । रूपन्देहीको सैनामैनामा रहेको लायन्स क्लब अफ सैनामैना मनमलाका पूर्व अध्यक्ष शिवराज पोख्रेलको जन्मदिनको अवसरमा एसईई परीक्षा २०८१ मा उत्तीर्ण विद्यार्थीहरूलाई सम्मान गरिएकाे छ ।
सैनामैना ७ भित्रका तीनवटा विद्यालय सरस्वती माध्यमिक विद्यालय , राष्ट्रिय माध्यमिक विद्यालय र बुद्ध इङ्लिस स्कुलका विद्यार्थीहरूलाई सम्मान गरिएको हो।कार्यक्रममा विद्यार्थीहरूलाई टीका, खादा ,डायरी र कलम सहित सम्मान गरिएको थियो।
जन्मदिनको अवसरमा विद्यार्थीहरूका माझमा यस प्रकारको कार्यक्रम गर्न पाउँदा आफू ज्यादै खुसी भएको पूर्व अध्यक्ष एवम् कार्यक्रम संयोजक शिवराज पोखरेलले बताए ।

कार्यक्रममा बोल्दै कार्यक्रमको प्रमुख अतिथि लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ पि नेपालका पि एम जि एफ लायन मिना पन्थीले विद्यार्थीले प्राप्त गरेको अङ्क मात्र सबैकुरा नहुने भन्दै विद्यार्थीलाई जिपिएका आधारमा वर्गीकरण गर्न नहुने बताइन ।
यस्तै कार्यक्रममा बोल्दै डिस्ट्रिक्ट एडभाइजर एवम् क्लबका संस्थापक अध्यक्ष लायन कृष्णप्रसाद शर्माले विद्यार्थीले प्राप्त गरेको अङ्कले भन्दा विद्यार्थीको अनुशासन र उसले प्राप्त गरेको सिकाईले महत्त्व राख्ने भन्दै कम जिपिए आयो भन्दैमा अत्तिन नहुने बताए ।
राष्ट्रिय माध्यमिक विद्यालयका प्राचार्य ओम प्रकाश पाण्डेले क्लबले गरेको कार्यप्रति धन्यवाद दिँदै यस प्रकारका क्लब सरकारी निकाय र शिक्षा सम्बद्ध अन्य निकायहरू मिलेर शैक्षिक गुणस्तर वृद्धिका लागि लाग्नुपर्ने बताए ।
यस्तै बुद्ध इङ्लिस स्कुलका व्यवस्थापन समिति अध्यक्ष खिमराज पोख्रेलले आफूहरू सधैँ विद्यार्थीहरूको उन्नयनका पक्षमा रहेको भन्दै विद्यार्थीहरूलाई परेको समस्याका बेला आफूहरू सहयोग र सहकार्यका लागि सधैंभर तयार रहेको बताए ।
कार्यक्रम क्लबका अध्यक्ष जीवन घिमिरेको अध्यक्षता, लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ पि नेपालका पि एम जि एफ लायन मिना पन्थीको प्रमुख आतिथ्यता , लायन्स क्लबका विभिन्न पदाधिकारी, विभिन्न संघसंस्थाका अध्यक्ष एवं पदाधिकारी आदिको आतिथ्यता रहेको थियो ।
कार्यक्रम संयोजक शिवराज पोखरेलको स्वागत एवं क्लबका सचिव ज्ञानप्रसाद पाण्डेको सञ्चालनमा देउवापार दुर्गा मन्दिर परिसरमा कार्यक्रम सम्पन्न भएको हो।




