देवदह । देवदह व्यापार संघले विद्यार्थीलाई छात्रवृत्ति प्रदान तथा रक्तदान गर्दै आफ्नो १२औं स्थापना दिवस मनाएको छ । संघले १२औं स्थापना दिवसको अवसरमा एक कार्यक्रम गरी भविश्ष्य निर्माण माध्यमिक विद्यालयको कक्षा ९ मा अध्ययनरत देवदह–२, ढेकावर निवासी सुन्दर थापालाई छात्रवृत्ति प्रदान गरेको हो ।
पैसाको अभावमा कोही पनि शिक्षाबाट बन्चित हुन नपरोस भनेर संघले वार्षिक रुपमा एक जना विद्यार्थीको वार्षिक फिस, विद्यालय डे«स, स्टेशनरी सामग्री किन्ने रकम एकमुष्ट रुपमा विद्यार्थी थापा र अभिभावकलाई प्रदान गरेको हो ।
संघले वार्षिक रुपमा गरिब, विपन्न वर्गका विद्यार्थीलाई वार्षिक रुपमा लाग्ने खर्च स्थापना दिवसको अवसरमा प्रदान गर्दै आइरहेको संघका अध्यक्ष कोषबहादुर गुरुङ्गले जानकारी दिए ।
विद्यालयले गरेको सिफारिसको आधारमा छात्रवृत्ति प्रदान गरिएको अध्यक्ष गुरुङ्गले जानकारी दिए । छात्रवृत्ति प्रदान गर्दै देवदह नगरपालिका प्रमुख धु्रवप्रसाद खरेलले समाजको विकास र उत्थानमा सबैले हातेमालो गर्न आवश्यक रहेको बताए ।
उनले व्यापार व्यवसायको प्रवद्र्धनसंगै सामाजिक उत्तरदायित्वको कामहरु गर्नुपर्नेमा जोड दिए ।
नगरप्रमुख खरेलले रगतको अभावमा कसैको ज्यान जान नपरोस भनेर नगरपालिकाले निःशुल्क रगत उपलव्ध गराउँदै आएको बताए । सोही अवसरमा बोल्दै व्यापार संघ लुम्बिनी प्रदेशका वरिष्ठ उपाध्यक्ष झविन्द्रप्रसाद कंडेलले नगरको विकासमा व्यवसायीहरुको भूमिका महत्वपूर्ण रहेकोले व्यवसायीहरुको समस्या समाधानमा स्थानीय सरकारले भूमिका खेल्नु पर्नेमा जोड दिए । रक्तसञ्चार केन्द्र बुटवलको प्राविधिक सहयोग रहेको रक्तदान कार्यक्रममा ३० पिन्ट रगत संकलन भएको उपाध्यक्ष पिताम्वर खरेलले जानकारी दिए ।
देवदह व्यापार संघका अध्यक्ष कोषबहादुर गुरुङ्गको अध्यक्षतामा भएको कार्यक्रममा रुपन्देही व्यापार संघका उपाध्यक्ष प्रकाश ढकाल, नेकपा एमाले देवदहका अध्यक्ष केशव भट्टराईलगायतले आ–आफ्ना भनाइ राखेका थिए ।
संघका वरिष्ठ उपाध्यक्ष माधव ढकालको स्वागत र महासचिव हरिलाल भण्डारीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।




