देवदह । प्रतिनिधिसभा सदस्य छविलाल विश्वकर्माले देवदह नगरपालिका–७, स्थित मदन आश्रित हुँदै उत्तरतर्फ हिलेटोल जाने सडक स्तरउन्नतिको अवलोकन गरेका छन् ।
संघीय सरकारको आर्थिक वर्ष २०८१-०८२ मा दुई करोड १७ लाखको लागतमा मदन आश्रित हुँदै उत्तरतर्फ हिलेटोल जाने सडक स्तरउन्नति गरिएको हो । मदन आश्रित हुँदै उत्तरतर्फ हिलेटोलसम्म करिव ११ सय ६० मिटर बाटो स्तरउन्नति गरिएको देवदह–७, का वडाध्यक्ष कृष्णप्रसाद अधिकारीले जानकारी दिए । पहिलो चरणमा एक करोड र दोश्रो चरणमा एक करोड १७ लाखको लागतमा ११ सय ६० मिटर बाटो स्तरउन्नति गरिएको शहरी विकास मन्त्रालय रुपन्देहीका इञ्जिनियर शुसिल रसाईलीले जानकारी दिए ।
सो अवसरमा बोल्दै प्रतिनिधिसभा सदस्य विश्वकर्माले संघीय सरकारले ३ करोडभन्दा तलको योजना बनाउने नपाउने नीति रहेको बताए ।
उनले स–साना योजनामा संघीय सरकारबाट बजेट बिनियोजन गर्न नसकिने प्रावधान रहेकोले यस्ता योजनाहरु प्रदेश र स्थानीय सरकारले हेर्नुपर्नेमा जोड दिए । पूर्वमन्त्री समेत रहेका सांसद विश्वकर्माले विकास निर्माणहरुको मर्मत संभारसँगै संरक्षणमा स्थानीयवासीहरु लाग्नु पर्ने बताए । सोही अवसरमा बोल्दै देवदह नगरपालिका प्रमुख धु्रवप्रसाद खरेलले यही साउनभित्र अव्यवस्थित बसोवास तथा सुकुम्बासीहरुलाई लालपुर्जा तिवरण गर्ने तयारी गरिरहेको जानकारी दिए ।
उनले देवदह नगरपालिकामा ८ सय ४४ वटा लालपुर्जा तयार भइरहेको बताउँदै यही साउनभित्र लालपुर्जा वितरण गर्ने बताए । यसैगरी राष्ट्रपति चुरे संरक्षण कार्यान्वयन कार्यालय रुपन्देहीका प्रमुख अणनाथ बरालले स्थानीय तह संग समन्वय र सहकार्य गरेर चुरेक्षेत्रको संरक्षण गर्ने जनाए ।
उनले राष्ट्रपति चुरे संरक्षण कार्यान्वयन कार्यालयले तटबन्धन, वृक्षरोपण जस्ता काममा बजेट बिनियोजन गर्ने भएकोले समयमै योजना माग गर्न आग्रह गरे । देवदह नगरपालिका–७, का वडाध्यक्ष कृष्णप्रसाद अधिकारीको अध्यक्षतामा भएको अनुगमन कार्यक्रममा उपप्रमुख विद्यालक्ष्मी गुरुङ्ग, नगर प्रवक्ता गणेश डुम्रे, जनप्रतिनिधि, टोल विकास संस्थाका प्रतिनिधि, राजनैतिक दलका प्रतिनिधि, समाजसेवी तथा सरोकारवालाहरुको सहभागिता रहेको थियो ।




