बुटवल । बुटवलको अन्नपूर्ण बहुउद्देश्यीय सहकारी संस्थाले सहकारी विभागको निर्देशनविपरीत साधारणसभा गरेको पाइएको छ ।
सहकारी विभागले गत असार ३२ गते जारी गरेको एकीकृत निर्देशनमा एउटा आर्थिक वर्षको साधारणसभा अर्को आर्थिक वर्षमा गर्न नपाइने स्पष्ट उल्लेख गरेको थियो ।
तर उक्त सहकारीले नयाँ आर्थिक वर्ष सुरु भएको साउनको ११ गते २२औं वार्षिक साधारणसभा र रजत महोत्सव गरेको छ । सहकारीको कार्यालय हालै मात्र नियुक्त भएका सहकारी नियमन प्राधिकरणका अध्यक्ष डा. खगराज शर्माको घर भएको वडामा छ ।
सहकारी संस्थाहरुमा बेथिति बढेपछि सुशासन प्रवद्र्धनका लागि नियमनकारी सरकारी निकायले जारी गरेको निर्देशनविपरीत गरिएको साधारणसभामा प्रमुख अतिथि बुटवल उप–महानगरपालिकाका प्रमुख खेलराज पाण्डेय थिए ।
साधारणसभामा उप–महानगरका सहकारी शाखाका प्रमुख गुणाकर खनाललाई भने नबोलाइएको खनालले बताए । विभागको निर्देशनविपरीत साधारणसभा गरेको विषयमा उप–महानगरका सहकारी शाखा प्रमुख खनालले आफूलाई साधारणसभाबारे जानकारी र निम्ता नदिइएको बताए । उनले विभागको निर्देशन उल्लंघनबारे अध्ययन गरेर थप प्रतिक्रिया दिने बताए ।
विभागको निर्देशनमा साधारणसभाको बैठक बस्ने कम्तीमा तीस दिन अगावै बैठकको प्रस्तावसहित मिति, समय, स्थान तोकी सार्वजानिक सूचना जारी गर्नुपर्नेलगायत उल्लेख छ । तर निर्देशनका बुँदामा जुनसुकै कुरा लेखिएको भएता पनि एउटा आर्थिक वर्षको साधारणसभा अर्को आर्थिक वर्षमा गर्न नपाइने स्पष्ट उल्लेख छ ।
निर्देशनविपरीत साधारणसभा गरेको विषयमा सहकारीका सचिव खिमराज ज्ञवालीले गल्ती भएको स्वीकार गरे । ‘विभागको निर्देशनबारे अपडेट भइएनछ, अलिकति भूल भयो,’ ज्ञवालीले भने–‘रजत जयन्ती पनि मनाउने तयारी भएकाले साधारणसभा पनि गरिएको हो, आउने दिनमा गल्ती सच्याउँछौं ।’ बहुउद्देश्यीय भए पनि सहकारीले बचत तथा ऋणको मात्रै काम गरिरहेको छ ।
सचिव ज्ञवालीले बचत तथा ऋण बाहेक अरु काम पनि गर्न समिति बनाइएको भए पनि आर्थिक मन्दीले नसकिएको स्वीकारे ।
सहकारीमा ६६१ जना शेयर सदस्य रहेका र करिब ७० प्रतिशतको उपस्थिति रहेको ज्ञवालीले जनाए ।
सहकारी रहेको वडा हालैमात्र नियुक्त भएका सहकारी नियमन प्राधिकरणका अध्यक्ष डा. खगराज शर्माको घर भएको वडा हो । नियमविपरीत भएको साधारणसभामा राष्ट्रिय सहकारी महासंघ लेखा सुपरीवेक्षण समिति संयोजक भिम तुलाचन पनि विशिष्ट अतिथिका रुपमा सहभागी थिए । रुपन्देहीसहित लुम्बिनी प्रदेशमा नियमनकारी निकायको निर्देशन उल्लंघन गर्दै गतिविधि गरेका कारण प्रदेश कार्यक्षेत्र भएका २५ वटा सहकारीमा समस्या उत्पन्न भएको छ ।
बचतकर्ताको करोडौं रकम अपचलन भएर समस्या आएपछि लुम्बिनी प्रदेश सहकारी दर्ता अधिकारीको कार्यालयले पनि १९ बुँदे निर्देशन जारी गरेको छ ।
२०८१ साउन १८ को अद्यावधिक तथ्यांकअनुसार लुम्बिनीमा प्रदेश कार्यक्षेत्र भएका सहकारीको संख्या ८५० छ । तर झण्डै आधा सहकारीले प्रमुख नियामक निकायमा वार्षिक प्रतिवेदन समेत पेश गरेका छैनन् ।




