बुटवल
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले भिजिट भिसा प्रकरणसहित भ्रष्टाचारविरुद्ध सदनसँगै सडक आन्दोलन गर्ने भएको छ ।
रुपन्देहीको भैरहवामा बुधबार दिउँसो बसेको संसदीय दलको बैठकले भिजिट भिसा प्रकरणमा संसदीय छानबिन समिति गठन नभएसम्म सदनमा विरोध जारी राख्ने निर्णय गरेको छ ।
साथै भिजिट भिसाको आवरणमा भएको भ्रष्टाचार र अन्य भ्रष्टाचार तथा बेथितिविरुद्धको आन्दोलनलाई सदनदेखि सडकसम्म जारी राख्ने निर्णय गरेको हो ।
बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै प्रमुख सचेतक सन्तोष परियारले भ्रष्टाचारविरुद्धको आन्दोलनलाई सदनसँगै सडकसम्म पुराएर फराकिलो बनाउने निर्णय भएको बताए ।
भूमिसम्बन्धी विधेयक, निजामती विधेयकलगायतमा सरकारले सार्वभौम संसद्लाई नै आक्रमण गरेको संददीय दलको बैठकले ठहर गरेको र यसविरुद्ध समितिमा सशक्त भएर आवाज उठाउन संसदीय दलले निर्देशन गरेको परियारले जानकारी दिए ।
यस्तै, सर्वोच्च अदालतले प्रवासी नेपालीहरुलाई चुनावमा मताधिकार दिने व्यवस्था गरेकोमा त्यसको कार्यान्वनको लागि सरकारसँग जोडदार माग गर्ने निर्णय गरेको परियारले बताए ।
त्यस्तै, गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान नहुँदा रुपन्देहीको पर्यटन व्यवसायमा परेको असर, खडेरीले किसानलाई परेको मर्का, प्रवासी नेपालीलाई रास्वपासँग जोड्ने पार्टीका सांसदको भूमिकालगायत विषयमा छलफल भएको उनले जानकारी दिए ।
रास्वपा नेता र सांसदहरू रुपन्देहीमा पार्टीले सञ्चालन गरेको हस्ताक्षर अभियानमा सहभागी हुने र रुपन्देही ३ को आसन्न उपनिर्वाचनका विषयमा समेत स्थानीय पार्टी नेताहरूसँग छलफल गर्ने छन् ।
रास्वपा नेता र सांसदहरू आजसम्म रुपन्देहीमा रहने र आजै साँझ काठमाडौं फर्कनेछन् ।
रुपन्देही आगमनका क्रममा पार्टी उपसभापति डीपी अर्याल र सोविता गौतमले सहकारी ठगी प्रकरणमा थुनामा रहेका पार्टी सभापति रवि लामिछानेलाई छुट्टाछुट्टै भेट गरेका छन् ।
आज रास्वपा नेताहरुले रुपन्देही ३ मा हुन लागेको उपनिर्वाचनमा मतदाताले कस्तो उम्मेदवार चाहेका छन् भनेर उनीहरुको मनोभावना बुझ्ने, पार्टी संगठनको विषयमा जिल्ला नेताहरुसँग छलफल गर्ने कार्यक्रम तय भएको प्रमुख सचेतक परियारले जानकारी दिए । पार्टीले रुपन्देही ३ को उपनिर्वाचनमा उम्मेदवार बन्नका लागि आवेदन माग गरिसकेकाले उम्मेदवारहरुको आवेदन दिने म्याद पूरा भएपछि मात्रै उम्मेदवारबारे छलफल हुने परियारले बताए ।
रुपन्देही ३ का आगामी कार्तिक १७ गते उप–निर्वाचन हुँदैछ । गत आम निर्वाचनमा रास्वपा यो क्षेत्रमा समानुपातिकतर्फ १४ हजार बढी मतसहित तेस्रो ठूलो दल बनेको थियो । त्यो बेला संगठन निर्माण गरिनसकेको रास्वपाले अहिले वडा तहसम्म संगठन निर्माण गरिरहेको छ । रुपन्देही ३ का ३६ वटा वडामै हस्ताक्षर अभियान सञ्चालन गरेको पार्टीले यो क्षेत्रमा मात्रै करिब २० हजार हस्ताक्षर संकलन गरिसकेको क्षेत्रीय सभापति मधु अर्यालले बताए । रास्वपाले रुपन्देही ३ मा जित निकाल्ने रणनीतिमा छ ।




