नवीन लोचनमगर
रोल्पा
दाङको घोराहीबाट होलेरी–थबाङ हुँदै रुकुमपूर्व जोड्ने सहिदमार्गको रोल्पा खण्डमा रात्रिकालीन यातायात बन्द गरिएपछि सरोकारवालाहरुले असन्तुष्टि जनाएका छन् । जिल्ला प्रशासन कार्यालय रोल्पाद्वारा जारी सूचनामा १५ भाद्रसम्म लागु हुनेगरि बेलुकी ६ बजेदेखि बिहान ५ः३० बजेसम्म सहिदमार्ग तथा अन्य भित्रि सडक सञ्चालनमा रोक लगाएपछि व्यापक असन्तुष्टि बढेको हो । सर्वदलीय, सर्वपक्षीय बैठकले सुरक्षा समितिलाई अनुरोध गरेसँगै सडक अवरुद्ध गरिएको प्रशासनले जनाएको छ ।
सडक अवरुद्ध गर्ने निर्णयप्रति केही जनप्रतिनिधि तथा सरोकारवालाहरुले भने असन्तुष्टि जनाएका छन् । ‘सवारी साधन आवागमन बन्द गर्ने निर्णयले सर्वसाधारण जनता मारमा छन्,’ रुन्टीगढी गाउँपालिका अध्यक्ष जनक पुनले फेसबुकमा लेखेका छन्–‘यो निर्णयमा विवेक पुगेनकि भन्ने बुझाई छ ।’ उनले जोखिम क्षेत्र, मौसमको अवस्था लगायतका कुरालाई निगरानी गरेर सहजीकरण गर्नुपर्नेमा बन्द गर्ने निर्णय बस्तुसंगत नभएको बताएका छन् ।
यता सहिद मार्गको मुख्य भाग पर्ने माडी गाउँपालिका अध्यक्ष अमरसिंह घर्तीले पनि पानी नपरेको र अनुकूल समयमा पनि बेलुकी ६ बजे नै सवारी साधन सञ्चालनमा रोक लगाउनु राम्रो नभएको बताए । ‘सहिद मार्गको रोल्पा खण्डमा आधाजति त कालोपत्रे नै छ, अन्य ठाउँमा पनि सडक नै बन्द गर्नुपर्ने अवस्था देखिँदैन,’ घर्तीले भने–‘सफा मौसम भएको अवस्थामा ६ बजे त डाँडाकाँडामा घाम नै डुबेको हुँदैन, यतिबेलै बन्द गर्ने निर्णय बस्तुसंगत छैन ।’ उनले बन्द नै गर्नुपर्ने अवस्थामा राती ८ बजेदेखि बिहान ४ बजेसम्म गर्न सकिने सुझाव दिए ।
सहिदमार्ग क्षेत्रमा बेलुकी गाडी सञ्चालनमा रोक लगाउँदा सर्वसाधारणले सास्ती व्यहोर्नुपरेको होलेरीस्थित सञ्चारकर्मी नन्दराम खड्का बताउँछन् । उनले ढुंगा खस्छ या विपद् हुनसक्छ भनेर सडक नै बन्द गर्ने कुरा बस्तुवादी नभएको बताए ।
सडकलाई नियमित बनाउन स्थानीय तह, प्रशासन र सडक सम्बद्ध निकायहरुले आवश्यक तयारी गर्नुपर्ने भए पनि सडक बन्द गरिनु राम्रो नभएको उनको भनाइ छ ।
यता प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालले भने सर्वसाधारणको जीउधनको सुरक्षाकै लागि यस्तो निर्णय गरिएको बताए ।
‘जिल्लास्थित यातायात व्यवसायी, राजनीतिक दल, सरोकारवाला सबैलाई बसालेर सबैको सहमतिमा यस्तो निर्णय भएको हो,’ दाहालले भने–‘यसमा अरु कुनै स्वार्थ नभइ विशुद्ध जनताको जीवनरक्षाको सवाल छ ।’ उनले विपद् कतिबेला पर्छ भन्नेकुरा कसैलाई थाहा नभएको बताउँदै निर्णय बस्तुसंगत नै भएको र निर्णय कार्यान्वयनमा सबैले सहयोग गर्न अपिल समेत गरे । बेलुकी ६ बजेपछि सुरक्षा निकायसँगको समन्वयमा मात्र एम्बुलेन्स सञ्चालन गर्न सकिने सूचनामा उल्लेख छ ।




