बुटवल । बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको प्रवेशद्वार क्षेत्रमा बृक्षारोपण गरिएको छ । मानवअधिकारका लागि महिला एकल महिला समूह रुपन्देहीको आयोजनामा भएको बृक्षारोपाणमा धुपी, स्वामी लगायतका बिभिन्न प्रकारका ३० बिरुवा रोपिएको हो ।
बृक्षारोपण अघि आयोजना गरिएको औपचारिक कार्यक्रममा बोल्दै लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका मेडिकल सुपरिटेण्डेन्ट डा ईन्द्र ढकालले लुम्बिनी प्रादेशिक अस्पताललाई सबैको सहयोग अपरिहार्य रहेको बताए । उनले तीनै तहका सरकार, यो क्षेत्रमा क्रियासिल संघसंस्था तथा जनताको सहयोगले नै अस्पताल अझै विकसित हुने भन्दै सहज सेवाको लागि मद्दत पुग्ने उल्लेख गरे ।
उनले समुहले बृक्षारोपण गरेपनि अस्पतालले यसको संरक्षणमा ध्यान दिने उल्लेख गरे ।
कार्यक्रममा बोल्दै मानवअधिकारका लागि महिला एकल महिला समूह रुपन्देहीका अध्यक्ष रिता शेनले अस्पताल क्षेत्रमा अक्सीजन सहज रुपमा प्रदान गर्न केही भएपनि सहज होस भन्ने उदेश्यले बृक्षारोपण गरिएको बताईन् । उनले अस्पतालको विकासमा समूहले हरेक क्षेत्रमा सहकार्य गर्ने प्रतिवद्धता ब्यक्त गर्दै अन्य सामाजिक कार्यको लागि पनि तयार रहेको बताईन् ।
सो अवसरमा लुम्बिनी प्रादेशिक अस्पतालकी गीता ज्ञवाली, संस्थाका सचिव कला केसी लगायतले बोल्दै बृक्षारोपाणको महत्वको बारेमा बताएका थिए । सो अवसरमा अस्पतालका दयासागर पन्थी, समुहका लुम्बिनी प्रदेशका निवर्तमान अध्यक्ष जानकी घिमिरे लगायत ४९ जना सदस्यहरु सहभागी रहेका थिए ।




