भैरहवा । संयुक्त लोकतान्त्रिक मोर्चाले रुपन्देहीमा आज बुधबार जनजागरण अभियान गर्दैछ । मोर्चाको उद्देश्य सहित काम, कर्तव्य र अधिकारबारे जानकारी गराउने उद्देश्यले रुपन्देहीको सियारी–३ स्थित सभाहलमा कार्यक्रम गर्न लागिएको हो ।
संघीय लोकतान्त्रिक मोर्चाले साउन १८ गते काठमाडौंबाट देशव्यापी रुपमा गर्ने गरी जागरण अभियान सुरु गरी वर्तमान राजनीतिक अवस्थासहित मोर्चाको योजनाबारे सबैलाई जानकारी गराउन रुपन्देहीमा दोस्रो अभियान गर्न लागेको र यसपछि यो अभियान नेपालगञ्ज, कैलाली, विराटनगर, राजविराज, जनकपुर, वीरगञ्जमा हुनेछ ।
भैरहवामा पत्रकार सम्मेलन गरी अभियानबारे जानकारी गराएको छ । रुपन्देहीमा हुने सभाको संयोजन नागरिक उनमुक्ति पार्टीले गर्नेछ । नागरिक उन्मुक्ति पार्टी रुपन्देहीका अध्यक्ष तुल्सीप्रसाद थारुले बुधबार बिहान ११ बजेदेखि सियारी गाउँपालिका–३ हर्नैयास्थित गाउँपालिकाको सभाहलमा कार्यक्रम सुरु हुने बताए । उनले सभामा नउपाका संरक्षक रेशमलाल चौधरी, अध्यक्ष लालवीर चौधरी, महासचिव गंगा चौधरी, संस्कृति, पर्यटन तथा नागरिक उड्ययन राज्यमन्त्री अरुण चौधरी, यस्तै जसपाका उपेन्द्र यादव, रामकुमार शर्मा, राष्ट्रिय मुक्ति पार्टीका राजेन्द्र महतो, लोसपाका सवेन्द्रनाथ शुक्ला, सन्तोष कुमार पाण्डेलगायत मोर्चामा सम्मिलित दलका उच्च नेताहरुको सम्बोधन हुने कार्यक्रम रहेको बताए ।
६ वटा प्रदेशमा वर्तमान राजनीतिक अवस्थाबारे जनजागरण अभियान सुरु भएको छ, जसको दोस्रो सभा यहाँ नउपाको संयोजनमा हुन गइरहेको छ । लोसपा रुपन्देहीका अध्यक्ष रवीकुमार रौनियारले संविधान संशोधनका लागि सरकारलाई दबाब दिने र वर्तमान राजनीतिक अवस्थाबारे जानकारी गराउने उद्देश्यले कार्यक्रम गर्न लागिएको बताए ।
साउन २३ गते भैरहवा, २५ गते कैलाली, भाद्र १६ गते विराटनगर, भाद्र १८ गते राजविराज, भाद्र २० गते जनकपुर र भाद्र २२ गते वीरगञ्जमा कार्यक्रम हुनेछ ।
भैरहवा, नेपालगञ्ज र कैलालीका कार्यक्रमको संयोजन नागरिक उन्मुक्ति पार्टीले गर्ने भएको छ । त्यस्तै विराटनगरमा जसपा नेपाल, राजविराजमा राष्ट्रिय मुक्ति पार्टी, जनकपुरमा तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) र वीरगञ्जमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले कार्यक्रमको संयोजन गर्ने जिम्मेवारी पाएको छ ।
मोर्चामा जनमत, जसपा नेपाल, लोसपा, नागरिक उन्मुक्ति, राष्ट्रिय मुक्ति, जनता प्रगतिशील र तमलोपा रहेका छन् । जनमत पछिल्लो समयको वैठकहरुमा नगए पनि मोर्चाबाट बाहिरिएको औपचारिक रुपमा जानकारी गराएको छैन ।
मोर्चाले रुपन्देहीको क्षेत्र नम्बर ३ मा हुने उपनिर्वाचनका लागि नउपालाई समर्थन गर्ने निर्णय गरेकोले यो सभा निर्वाचन लक्षित पनि रहेको एक नेताले जानकारी दिए ।
हाम्रो मुख्य काम मोर्चा कसरी अगाडि जाने भएता पनि यो सभाले निर्वाचनलाई पनि जोडेर लैजाने छ । नउपा रुपन्देहीले यहाँबाट ४ जनाको नाम सिफारिस गरेको र बुधबारको सभाले सार्वजनिक गर्नेछ ।




