बुटवल
मौलिक संस्कृति जगेर्ना गर्ने उद्देश्यले बुटवलमा रोपाइँजात्रा मनाइएको छ । अर्घाखाँची मरेङ –रुपन्देही सम्पर्क मञ्चको आयोजनामा र श्री नवदुर्गा मन्दिर समितिको सह–आयोजनामा बुटवल–११ देवीनगर चौपारीमा आयोजित रोपाइँ जात्रा तथा तिज विशेष कार्यक्रम–२०८२ भव्यतापूर्वक सम्पन्न भएको हो ।
कार्यक्रमको उद्घाटन गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मौलिक संस्कृतिको पुस्तान्तरण अपरिहार्य रहेको उल्लेख गरे । आचार्यले मौलिक सांस्कृतिक परम्पराहरूको संरक्षण र प्रवर्धनका लागि पुस्तान्तरण अपरिहार्य रहेको बताए । ‘हाम्रा मौलिक परम्परा र संस्कृतिहरू बिस्तारै ओझेलमा पर्दै गइरहेका छन् । वर्षौंदेखि मनाउँदै आएका परम्पराहरू पुस्तान्तरण हुन जरुरी छ,’ उनले भने–‘युवा पुस्तालाई परम्परा र संस्कृति हस्तान्तरण गर्दै जगेर्ना गर्न आवश्यक छ ।’
हरितालिका तिजको अवसरमा आमा तथा दिदीबहिनीहरूमा शुभकामना व्यक्त गर्दै उनले पर्व उत्साह र उल्लासका साथ मनाउनुपर्ने, तर पर्वका नाममा विकृतिलाई प्रोत्साहन गर्न नहुनेमा जोड दिए ।
‘चाडपर्व मनाउने नाममा विकृतिलाई प्रोत्साहन गर्ने प्रवृत्ति बढ्दैछ, यस्ता विकृतिहरुलाई निरुत्साहित गर्नुपर्ने साझा जिम्मेवारी हो,’ उनले भने–‘मौलिक कला, संस्कृतिको संरक्षण गर्दै अघि बढ्न आवश्यक छ ।’
मञ्चका अध्यक्ष दिनेश कुँवरले जात्राबाट नयाँ पुस्तालाई सांस्कृतिक सम्पदाबारे जानकारी दिलाउने उद्देश्यसहित कार्यक्रम आयोजना गरिएको उल्लेख गरे ।
सह–आयोजक संस्थाका अध्यक्ष अर्जुन कुँवरले सरायँजस्तै रोपाइँ जात्रालाई पनि व्यवस्थित रूपमा निरन्तरता दिने उल्लेख गरे ।
कार्यक्रममा सुरुवा कटालेको हाकसँगै उल्टो हलोले जोत्ने परम्परागत दृश्य, बाउसे र खोकमार्ने चलन, रथयात्रा, मयुर नाच, घोडा नाच, लाउरे–लाउरेनी अभिनय, बाँदरसहितका रमाइला झाँकीले दर्शकलाई मन्त्रमुग्ध बनाएको थियो ।
रोपाहारहरूले धानको बिउ हातमा लिएर भाकामा नाच्दै रोपेको अभिनय गर्दा उपस्थित दर्शक उत्साहित बनेका थिए ।
भगवती भजन मण्डलीको विशेष भजन, नवदुर्गा मन्दिरको रथयात्रा, सान्देली, फुल्लेल, मोतीपुर महिला समूह, क्षेत्री समाज, नेवा समाजसहित स्थानीय समूहहरूको प्रस्तुति कार्यक्रमको अर्को आकर्षण बनेको थियो ।
सम्पन्न कार्यक्रममा करिब एक सयभन्दा बढी कलाकारले परम्परागत रोपाइँ जात्राका आकर्षक झलक प्रस्तुत गरेका थिए ।




