काठमाडौं । उपसभामुख इन्दिरा राना मगरलाई हटाउने विषयमा छलफल गर्न कांग्रेस र एमाले आफ्ना सांसदहरुलाई बोलाएको छ । दुवै दलका सांसदहरुलाई छुट्टाछुट्टै दलको कार्यालयमा उपस्थित हुन भनिएको छ ।
कांग्रेसका एक सांसदले बाह्रखरीसँगको कुराकानीमा भने, “हामीलाई दिउँसोतिर बोलाइएको छ । हस्ताक्षरको कुरा पनि छ । उपसभामुखलाई हटाउने भन्ने हल्ला सुनेका हौँ । तर स्पष्ट भइसकेको छैन ।”
एमालेका एक सांसदले पनि आफूहरुलाई सिंहदरबार बोलाइएको बताए । उनले आफूले खाली कागजमा हस्ताक्षर गरेर फर्किएको बताए । एमाले सांसदलाई दलको कार्यालय बोलाएर धमाधम हस्ताक्षर गराइएको हो ।
अहिले बिहान १० बजेदेखि नै उनीहरुलाई दलको कार्यालय बोलाएर हस्ताक्षर गराइएको छ ।
“हामीलाई खाली कागजमा हस्ताक्षर गराइएको छ,” एमालेका एक सांसदले भने, “प्रयोजन अहिलेसम्म भनिएको छैन । तर यस्तो हस्ताक्षर बेला बेलामा गराउने गरिएको छ ।”
पहिले उपसभामुखलाई राजीनामाका लागि आग्रह गर्ने नमाने महाभियोग दर्ताको तयारी गरिएको छ । राना मगरले अमेरिकी भिसाका लागि लेटरप्याडमा निवेदन लेखेर मानव तस्करी गरेको आरोप लागेको छ ।
कांग्रेस सांसद रामहरि खतिवडाले बाह्रखरीसँग कुरा गर्दै हस्ताक्षर के का लागि गर्न लागिएको भन्ने बारेमा जानकारी नभएको बताए ।
उनले भने, “उपसभामुखविरुद्ध मानव तस्करीको आरोप लागेको हो, उहाँले नै नैतिकताको आधारमा राजीनामा दिनुपर्ने हो । तर दिनुभएन । अब के हुन्छ अहिले भन्न सकिँदैन ।”
उपसभामुखले आग्रह नमाने महाभियोग दर्ता गरेर हटाउने तयारी छ ।
उनलाई महाभियोग लगाउन संसद्को दुई तिहाइ मत आवश्यक पर्छ । यो भनेको २७२ सदस्यीय प्रतिनिधिसभामा १८४ मत आवश्यक पर्छ । तर अहिले सरकारसँग त्यति मत छैन । सरकारसँग कांग्रेसका ८८, एमालेका ७८, जसपाका ७ र लोसपाका ४ सांसद पक्षमा छन् । जनमत पार्टीको पनि समर्थन रहेको तर महाभियोगमा तयार हुने नहुने केही जानकारी नभएको एक सांसदको टिप्पणी छ ।




