बुटवल । मौलिक पर्व तिजलाई संस्कृतिको रूपमा मनाउनुपर्ने सरोकारवालाहरूले बताएका छन् । सञ्चारिका समूह रूपन्देही नेपालले आयोजना गरेको हरितालिका तिज संस्कृति संरक्षण तथा पर्यटक प्रवर्धनका लागि महिला पत्रकार अन्तरक्रिया तथा दर खाने कार्यक्रममा बोल्ने वक्ताहरूले तिज पर्वमा विकृति फैलन नदिन संस्कृति संरक्षणमा ध्यान दिनुपर्ने उल्लेख गरेका हुन् ।
कार्यक्रममा बोल्दै नेपाली कांग्रेस लुम्बिनी प्रदेशसभाका प्रमुख सचेतक जमुना ढकालले महिलाहरुको अवस्था परिवर्तन भए पनि नेतृत्वमा पुग्ने अवस्था कमजोर भएको बताउँदै तिजले दुःख सुखका मर्म साट्ने चौतारोको रुपमा काम गर्ने बताइन् ।
तिज पर्व भड्किलो भयो भनिरहँदा तिजमा मौलिकतामाथि प्रश्न उठिरहँदा दसैंदेखि तिहारसम्म पुरुषहरुले गर्ने रमाइलोलाई के भनेर प्रश्न गर्ने त भनेर समेत उनले प्रश्न गरिन् । हाम्रा चाडपर्वमा केही कुरीतिहरू र विकृतिहरू भित्रिएका होलान् ती विकृतिहरूलाई हामी सबैले मिलेर परिमार्जित गर्नुपर्ने उनले बताइन् ।
कार्यक्रममा सिद्धार्थ नगरपालिका उप–प्रमुख उमादेवी अधिकारीले हरेक कुरामा सकारात्मक र नकारात्मक दुबै पक्ष हुने भए पनि सकारात्मक पक्षलाई आत्मसाथ गर्नुपर्ने बताइन् । उनले हाम्रा चाडपर्वले आर्थिक चलायमान बनाउने र विकृति होइन संस्कृतिलाई जगेर्ना गरिरहेकोे बताइन् । पर्वको नाममा महिलाहरूलाई बाँध्ने कुरुती हटाउन आवश्यक रहेको उनले बताइन् ।
यसैगरी कार्यक्रममा नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य रामराज पोखरेलले हिजो हामीले मान्दै आएको चाडपर्व र अहिले मान्दै गरेको चाडपर्व सबै नराम्रा भन्न नमिल्ने बताए । उनले हरेक पर्वले पर्यटनसँग सम्बन्धित छ र हरेक पर्वले हाम्रो संस्कृति जगेर्ना गरिरहेको बताए ।
सञ्चारिका समूह लुम्बिनी प्रदेश अध्यक्ष अमृता अनमोलले तिज पर्वमा महिलाहरु बाहिर निस्किंदा अनावश्यक टिकाटिप्पणी उठ्ने गरेको तर्क गरिन् । उनले अहिले धेरैले मौलिकताको अर्थ नबुझ्दा धेरै समस्या रहेको उल्लेख गरिन् ।
नेपाल पत्रकार महासङ्घ लुम्बिनी प्रदेश उपाध्यक्ष रामप्रसाद आचार्यले तिज पहिले पनि र अहिले पनि समीक्षाको विषय भएको बताए । उनले हामीले मनाउँदै आएका हरेक पर्वमा कहीँ न कहीँ विकृति भित्रिएको र यस विकृतिलाई एकल प्रयासले मात्रै सम्भव नभएको र यसमा सबैले सुधार गर्नुपर्ने जरुरी रहेको बताए ।
यसैगरी कार्यक्रममा नेपाल पत्रकार महासङ्घ रूपन्देहीका अध्यक्ष दिनेश पाण्डेले हाम्रा सबै चाडपर्व पर्यटन मैत्री रहेको बताए । जसले गर्दा देशको अर्थतन्त्र पनि चलायमान हुने र हाम्रो संस्कार र संस्कृतिको पनि प्रवर्धन भएको जिकिर गरे ।
सञ्चारिका समूह रूपन्देहीका निवर्तमान अध्यक्ष नीरु गौतमले तिजलाई महोत्सवको रुपमा अगाडि बढाउन सकियो भने पर्यटन भित्र्याउन सकिने उल्लेख गरिन् । यसले आर्थिक चलायमान पनि हुने र विदेशी पर्यटनलाई नेपाली संस्कृतिप्रति रुचि पनि रहने र जसले पर्यटक पनि भित्रिन सक्ने उनले बताइन् ।
कार्यक्रममा क्रियाशील महिला पत्रकार रूपन्देही संस्थापक अध्यक्ष भगवती पाण्डेले सजिलो र सुविधा सम्पन्नका लागि अहिले होटल पार्टी प्यालेसमा तिज गीत गाएर तीज पर्व मनाउने गरिएको बताइन् । यसलाई विकृतिको रुपमा नलिनको लागि अनुरोध गरिन । सञ्चारीका समूह रुपन्देहीका अध्यक्ष मीना ढकालको अध्यक्षता तथा महासचिव छायाँ पन्तको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।




