प्यूठान । स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा)को नतिजामा जिल्लामा सरुमारानी गाउँपालिका पहिलो भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०-०८१ को नतिजाअनुसार सो गाउँपालिका जिल्लामा उत्कृष्ट भएको हो ।
जिल्लाका नौ स्थानीय तहमध्ये सरुमारानी प्रथम स्थानमा रहेको छ भने ऐरावती गाउँपालिका अन्तिम स्थानमा रहेको छ । स्वमूल्याङ्कनमा जिल्लामा उत्कृष्ट हुने सरुमारानीले ८७ अंक प्राप्त गरेको छ भने सबैभन्दा कम अंक प्राप्त गर्ने ऐरावतीले गाउँपालिकाले ६९.५ अंक प्राप्त गरेका छन् ।
त्यस्तै नौबहिनी गाउँपालिका ८६.५० अंक, मल्लरानी गाउँपालिका ८५.५० अंक, गौमुखी गाउँपालिकाले ८५.२५ स्वर्गद्वारी नगरपालिका ८४ अंक, झिमरुक गाउँपालिका ७८ अंक, प्यूठान नगरपालिकाले ७८ अंक, माण्डवी गाउँपालिका ७६.७५ अंक हासिल गरेको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रत्येक आर्थिक वर्षमा शासकीय प्रवन्ध, संगठन तथा प्रशासन, वार्षिक बजेट तथा योजना तर्जुमा व्यवस्थापन, वित्तीय एवम् आर्थिक व्यवस्थापन, सेवा प्रवाह, न्यायिक कार्यसम्पादन, भौतिक पूर्वाधार, सामाजिक समावेशीकरण, वातावरण संरक्षण तथा विपद् व्यवस्थापन, सहकार्य र समन्वयलगायतका विषयहरूलाई मूल्याङ्कनको आधार मानेर नतिजा सार्वजनिक गर्ने गर्दछ ।
सरुमारानी गाउँपालिकाले शासकीय प्रवन्धमा ८.५०, संगठन तथा प्रशासनमा ८, वार्षिक बजेट तथा योजना तर्जुमा व्यवस्थापनान ९, वित्तीय एवम् आर्थिक व्यवस्थापनमा १०.५०, सेवा प्रवाह १३.५०, न्यायिक कार्यसम्पादनमा ७, भौतिक पूर्वाधारमा १०.५०, सामाजिक समावेशीकरणमा ८ वातावरण संरक्षण तथा विपद् व्यवस्थापनमा ६.५० र सहकार्य र समन्वय ५.५० अंक प्राप्त गरेको छ ।
आर्थिक वर्ष ०७९-०८० मा नौबहिनी गाउँपालिकाले ८५ अंक प्राप्त गरी जिल्लामा उत्कृष्ट भएको थियो ।




