भैरहवा
भदौरे गर्मीको हप्को खप्दै केही मानिसहरू शनिबार सिद्धार्थनगरको बिचैमा रहेको सहिद स्मृति पुस्तकालयमा भेला भए । ती सबैको चिन्तन–मननको विषयमा थिए युवाकवि मोतीराम भट्ट ।
जम्मा तिस वर्ष बाँचे पनि साहित्य सिर्जनाअन्तर्गत गजल, कविता, नाटक आदि लेखन, निर्देशन प्रशिक्षणलगायत समालोचना, पत्रकारिता र प्रकाशनका क्षेत्रमा उल्लेख्य कार्य गरेका मोतीराम भट्टको जन्मजयन्तीसहित स्रष्टा सम्मान गर्न सिसास अर्थात् सिर्जनशील साहित्यिक समाज रूपन्देहीले यस्तो जम्को गरेको थियो ।
उपस्थित स्रष्टाहरूले मोतीरामका योगदानलाई साँचो मनले सम्झना त गरे नै, आआफ्ना सिर्जना, मन्तव्य र विमर्शका विषय पनि सार्वजनिक गर्न भ्याए । वि.सं. १९२३ मा कुसे औंसीका दिन काठमाडौँमा जन्मेर १९५३ को सोही तिथिमा सदाका निम्ति आँखा चिम्लिएका मोतीरामले नेपाली साहित्यको माध्यमिक कालको नेतृत्व गरेका थिए भने उनकै सक्रियतामा त्यस कालखण्डका थुप्रै विधाले हुर्कने तथा झँगिने मौका पाएको थियो ।
कार्यक्रममा सर्जक डिआर न्यौपाने ‘सूर्य’ गजलमा भन्दै थिए :
कोसिस गरे निरन्तर हर बार हार हुन्न
सङ्घर्षविहीन जीवन बाँचेर सार हुन्न
सायद विचार हुन्थ्यो घरको भए समस्या
मुलुकको अस्मितामा कुनै विचार हुन्न
..............................
रुनु उसैको सामु टेक्नु उनैको छाती
आमा र धर्तीलाई सन्तान भार हुन्न ।
दुर्गा थापा मगरले मोतीको सम्झनामा रचेको गजलांश यस्तो रह्यो :
नाम तिम्रै चित्र तिम्रै कोरिएको हुन्छ
तन छ टाढा मन तिमीमै अल्झिएको हुन्छ
........................
जोडबलले मात्र बन्दैनन् सदीक्षा पूरा
मिल्छ हाम्रो भाग्यमा जे लेखिएको हुन्छ ।
त्यस्तै यज्ञलाल सुवेदीको सम्झनामा मोती यसरी अङ्कित हुनपुगे :
गजलका सेरमा जागेर मोतीराम गर्जन्छन्
सहरका गाउँका बस्ती अनेकौँ चोक थर्कन्छन्
रचे इतिहास धेरै नै विधा आधार जन्माई
गजलका पारखीका मन त्यसै सम्झेर पग्लन्छन् ।
साहित्य सिर्जनामा लागेका नवपुस्ता देश–विदेश छरिएका छन् । ती सबैलाई आफूले मोतीरामकै रूपमा बुझेको भन्दै प्रमुख अतिथि प्राज्ञ बूँद रानाले गजल घन्काए :
हजारौँ नाममा यौटा छ प्यारो नाम सम्झन्छु
गजलको अर्चना गर्दै म मोतीराम सम्झन्छु ।
मौकामा सिसासका निवर्तमान अध्यक्ष कमल पोख्रेल निश्छलले सुनाए प्रेमिल गजल :
रानीवनमा घुम्न जाँदा भेटेको हो मैले
यो मनमा उसको नाम लेखेको हो मैले
लजाएर भाग्न उसले नखोजेकी होइन
मुस्कुराउँदै बाटो उसको छेकेको हो मैले ।
गजलसमेत सुनाएका छवि ज्ञवालीको मुक्तकले भन्यो :
कर्मयोगी मोतीराम बने युवाकवि
साहित्यलाई मानी धाम बने युवाकवि
सुकर्मका खानीलाई श्रद्धाञ्जली सधैँ
अल्पायुमै अमर नाम बने युवाकवि ।
सीता काफ्ले र गङ्गा घिमिरेले तिज गीत सुनाएको कार्यक्रममा बालसर्जक लेखनाथ ज्ञवाली ‘छन्दक’ ले ‘पैसा’ तथा सारथि ज्ञवालीले ‘देश’ शीर्षकमा कविता प्रस्तुत गरे भने देवी न्यौपानेबाट मुक्तकहरू सुनाइए । सिद्धार्थ साहित्य परिषद्का अध्यक्ष डिल्लीराज भट्टराई, सहिद स्मृति पुस्तकालयका अध्यक्ष रुद्र ज्ञवाली, आख्यानकारद्वय वनमाली निराकार र विजय सागर, सर्जक रमेश समर्थन तथा लेखक डा. दामोदर ढकालका मन्तव्यले मोतीलाई गजलकारका रूपमा मात्र सीमित गरी कार्यक्रम गर्नुभन्दा उनका समालोचक, पत्रकार, नाटक, सङ्गठक, व्यवस्थापक आदि विधाका योगदानलाई समेत उत्तिकै सम्झनुपर्ने खाँचो औंल्याए ।
राजेशकुमार चौधरी जिज्ञासु, खेमनारायण लम्साल, उर्मिला यादव, रुद्र शर्मा दुखी, लक्ष्मीप्रसाद अधिकारी, युवराज शर्मा खनाल, सिर्जना खनाल, उमेशचन्द्र रिजाल, याम थापा, नीमा डिसी, शान्ता अर्याल, सुवास रिजाल यात्री आदिलाई कार्यक्रमले असल श्रोताका रूपमा पायो ।
बूँद रानाबाट तुलिका (ब्यानर) को बेहोरा वाचन गरी उपस्थितिले मोतीको तस्विरमा अबिर–फूलमाला चढाएर सुरु भएको कार्यक्रममा सक्रिय सर्जकद्वय डिआर न्यौपाने ‘सूर्य’ र मन्जु सिग्देललाई दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरी मोती स्रष्टा सम्मान प्रदान गरियो ।
सिसासका अध्यक्ष सरु ज्ञवालीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थापक अध्यक्ष सुरज दीपशिखा र पूर्व अध्यक्ष नारायण भण्डारीबाट क्रमशः मोतीराम भट्ट तथा सम्मानित सर्जकबारे जानकारी गराइएको थियो भने सचिव रामराज गौतमले उद्घोषण तथा उपाध्यक्ष विष्णुप्रसाद गजुरेलले स्वागत मन्तव्य दिए ।
२०६० मा स्थापित सिसासले रूपन्देहीलाई कार्यक्षेत्र बनाई नेपाली भाषा, साहित्य, कला र संस्कृतिको विकासका निम्ति हरेक महिनाको तेस्रो शनिबार नियमित रूपमा गरी २ सय ५९ ओटा साहित्यिक सङ्गम सम्पन्न गरिसकेको छ । मोती जयन्तीमा गजलस्रष्टाको सम्मान तथा माघको वार्षिकोत्सवमा विविध विधाका सर्जकलाई पुरस्कार अर्पणलगायतका काम गर्दै आएको छ । हालसम्म करिब ६० जना सर्जकलाई साहित्यिक पुरस्कार अर्पण गरिसकेको छ ।




