नरेश चौधरी
सैनामैना
सैनामैना नगरपालिका–९ र ११ स्थित पिपलडाँडाका स्थानीय बासिन्दाले सडक छेउमै फोहोर फालिँदै आएको भन्दै त्यसको विरोधमा उत्रिएका छन् । नगर क्षेत्रबाट संकलित फोहोर बस्ती छेउमा डम्पिङ गर्दा दुर्गन्ध, झिं गा, र रोगको जोखिम बढेको भन्दै स्थानीयले फोहोर बोकेको गाडी नै फर्काइ दिएका छन् । स्थानीय बासिन्दा हिमलाल अर्यालका अनुसार फोहोर फाल्ने स्थानबाट १०–१५ मिटरको दूरीमा घरहरू रहेका छन्, जसका कारण सामान्य जीवन यापन गर्न असहज भएको छ ।
“घर अगाडि फोहोर थुपार्दा दुर्गन्धको कारण एकछिन पनि घरमा बस्न सकिँदैन,” उनले भने–“हामीलाई यहाँबाट विस्थापित गर्ने षड्यन्त्रजस्तो लाग्छ ।”
सैनामैना नगरपालिकाले विगत सात वर्षदेखि पिपलडाँडास्थित चिल्ड्रेन पार्क छेउमा फोहोर डम्प गर्दै आएको छ । सो क्षेत्र पूर्व–पश्चिम लोकमार्गसँग सटेको हो, जहाँ दैनिक हजारौँको संख्यामा सवारी आवागमन हुन्छ । फोहोरको दुर्गन्धका कारण यात्रुहरू नाक छोपेर हिँड्न बाध्य भएका छन् भने आसपासका बासिन्दा झिंगा र संक्रमणको त्रासमा छन् । स्थानीयले पटक–पटक डम्पिङ साइटको विरोध गर्दै आए पनि नगरपालिका प्रशासनले कुनै ध्यान नदिएको आरोप लगाएका छन् । “जनप्रतिनिधि चाडपर्वमा अतिथि बन्न आउँछन्, तर यहाँको दुर्गन्ध, झिंगा र हैजाको सम्भावित त्रासप्रति गम्भीर चासो देखाएका छैनन् ।” एक स्थानीय महिलाको भनिन् ।
फोहोर थुपारिने स्थलमा नगरपालिकाले दिनको तीन पटक फिनायल छर्ने, माटोले छोप्ने योजना सार्वजनिक गरे पनि व्यवहारमा त्यसको कार्यान्वयन नभएको स्थानीयको गुनासो छ ।
यता, दीर्घकालीन फोहोर व्यवस्थापनका लागि सैनामैना नगरपालिका–१० स्थित एकलापहाडमा संघीय सरकारको मन्त्रिपरिषद्को निर्णयअनुसार भोगाधिकार लिइएको आठ महिना भइसक्दा पनि उक्त स्थानमा कुनै निर्माण कार्य सुरु हुन सकेको छैन । दीर्घकालीन समाधानमा ढिलाइ हुँदा अस्थायी डम्पिङ साइटका कारण वातावरणीय र जनस्वास्थ्यको समस्या जटिल बन्दै गएको छ ।
स्थानीयले फोहोर व्यवस्थापनमा नगरपालिका गम्भीर नभए पुनः आन्दोलनमा जाने चेतावनी दिएका छन् । सैनामैनामा दैनिक १० टेक्टर फोहोर उत्पादन हुने गरेको छ ।




