भैरहवा । भूमि विधेयकविरुद्ध जनता समाजवादी पार्टी नेपालले भैरहवामा प्रदर्शन गरेको छ । बिहीबार जसपा नेपाल जिल्ला समिति, रुपन्देहीले भैरहवाको हनुमान मन्दिर अगाडि विरोध प्रदर्शन सुरु गरी गल्लामण्डी हँुदै मिलनचोकमा आएर प्रदर्शन गरेको हो ।
भूमि र वन बचाउ, मधेश मरुभुमिकरणबाट जोगाउ, मधेशलाई मरुभूमिकरण गर्न पाइदैन, मधेशी विरोधी भूमि विधेयक चाहिंदैनलगायतका नाराका साथ कार्यकर्ता तथा नेताहरुले नाराबाजी गरेका थिए । जसपा नेपालले भूमिसम्बन्धी विधेयक मुलुक र जनताको हितमा नरहेको, भू–माफिया, जग्गा दलालको हित हुने र यसबाट वनजंगल विनाश भइ तराई–मधेश मरुभूमिकरण हुने भएकाले सुरुदेखि नै यसको विपक्षमा रहेको बताउँदै आएको छ ।
पार्टीको केन्द्र तथा प्रदेश समितिको निर्देशनअनुसार प्रदर्शनमा उत्रिएको जसपा नेपाल रुपन्देहीका अध्यक्ष सियाराम यादवले बताए ।
विरोधसभामा बोल्दै जसपा नेपालका केन्द्रीय सदस्य कैलाश गुरुङले बाध्य भएर आफूहरु आन्दोलनमा उत्रिनुपरेको र सरकारले यो आन्दोलनलाई कमजोर ठाने अझ सशक्त रुपमा अगाडि बढ्ने बताए ।
त्यस्तै पार्टीको केन्द्रीय सदस्य निलम यादवले भूमि विधेयक जनताको पक्षमा नरहेको दाबी गर्दैे जसपा नेपालले भूमि विधेयक पारित हुन नदिएपछि पार्टी अध्यक्ष उपेन्द्र यादवलाई फसाउन खोजिएको बताइन ।
पार्टीको केन्द्रीय सदस्य रीता यादवले वर्तमान सरकारले वनजंगल विनाश गरेर मधेशलाई मरुभूमि बनाउन खाजेको आरोप लगाइन । जसपा नेपाल लुम्बिनी प्रदेशका कार्यबाहक अध्यक्ष राम अवतार यादव, पार्टीको लुम्बिनी प्रदेश कोषाध्यक्ष तथा रोहिणी गाउँपालिकाका अध्यक्ष विद्याप्रसाद यादव, जसपा नेपाल लुम्बिनी प्रदेश कार्यकारिणी सदस्य बच्चुलाल केवट, इना मुल्लाह फकिर, समाजवादी युवा संघ, नेपालका केन्द्रीय वरिष्ठ उपाध्यक्ष राहुल यादव, पार्टीको गैडहवा गाउँपालिका अध्यक्ष शिवकुमार यादव, नेता ब्यासमुनी चौधरी, सिद्धार्थनगरका अध्यक्ष जावेद आलम लगायतले बोल्दै अहिले भ्रष्टाचारी सरकार काण्डै काण्डमा मुछिएकोले परमादेश जारी गरेर अध्यक्ष माथि षड्यन्त्र गर्न खोजेको आरोप लगाए, यो विधेयक पास भए मधेसी जनताको खतरनाक हुने हँुदा पास गराउन नहुने उनीहरुको भनाइ छ ।
नेताहरुले जनताको विपक्षमा कुनै पनि कदम चालिए पार्टीलाई स्वीकार्य नहुने बताउँदै यो आन्दोलनको सुरुवात हो र अब चोक चोक मा आन्दोलन हुने बताए । देश र जनताको हितमा सधैँ नै जसपा नेपाल अगाडि रहेको र रहने बताए ।
पार्टीको रुपन्देही जिल्ला सचिव विष्णु अधिकारीले ले अब निरन्तर कार्यक्रम तय गरी प्रदर्शनको कार्यक्रम अघि बढ्ने बताए । शुक्रबार धकधई, शनिबार पर्सा चोक विरोध प्रदर्शनको कार्यक्रम रहेको छ ।




