बुटवल
वर्तमान राजनीतिक संकटको निकास वामपन्थी दलहरुबिच ध्रुवीकरण भएको नेताहरुले बताएका छन् । तीन वामपन्थी दलका केन्द्रीय पदाधिकारीहरु नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लव, नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसाल र नेकपा माओवादी केन्द्रका उप–महासचिव जनार्दन शर्माले कम्युनिष्ट दलहरुमा पुनर्संरचना आवश्यक रहेको औंल्याए ।
बिहीबार बुटवलमा शहिद तथा बेपत्ता स्मृति प्रतिष्ठान नेपालद्वारा आयोजित वर्तमान राजनीतिक संकट र निकास विषयक अन्तरक्रियामा बोल्दै नेताहरुले राज्यको तल्लो तहसम्म संस्थागत भैरहेको भ्रष्टाचार, पार्टीहरुमा देखिएको विचलन र दलाल पुँजीवादमा रुमल्लिएको अर्थ व्यवस्था नै अहिलेको संकट रहेको बताए । उनीहरुले पार्टीहरु नै दलाल पुंजिवाद र भ्रष्टीकरणको दलदलमा फसेको भन्दै चिन्ता व्यक्त गरे ।
कम्युनिष्ट पार्टीमा लोकतान्त्रिकरण, राज्य संयन्त्रमा देखिएको व्युरोक्रेसीको हालीमुहाली नियन्त्रण र लोकतन्त्रलाई नेताबाट जनतातर्फ फर्काउने कार्य नै संकटको निकास रहेकोमा नेताहरुले जोड दिए । त्यसको लागि भ्रष्टाचार नगर्ने नेताहरुको पार्टी निर्माण, आर्थिक सामाजिक विकासको स्पष्ट खाका निर्माण र संविधानले देखाएको समाजवादको दिशामा अगाडि बढ्नुपर्ने उनीहरुको भनाइ छ ।
भ्रष्टाचार र गलत आर्थिक प्रणालीप्रमुख चुनौती : विप्लव
गणतन्त्र प्राप्तीपछिको नेतृत्व कुन वर्ग र कुन विचारले गर्ने भन्ने टुंगोमा नपुग्दा मुलुक थप संकटतर्फ धकेलिएको नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले बताए । उनले मुलुकमा दलाल पूँजीवादी संरचना हावी भएकाले अहिलेको प्रमुख चुनौती भ्रष्टाचार र गलत आर्थिक प्रणाली भएको बताए ।
२०४७ सालको संविधान ब्यँुताएर अहिलेको समस्या समाधान हुने हल्ला फैलिएको भन्दै उनले पछाडि फर्किएर वा हावाको पछाडि लागेर समस्या समाधान नहुने स्पष्ट पारे । उनले हालैको ‘कुलिङ पिरियड प्रकरण’को सन्दर्भ उल्लेख गर्दै राजनीतिक नेतृत्व कमजोर हुँदा कर्मचारीतन्त्रको बदमासीले सिमा नाघेको जिकिर गरे ।
त्यसैगरी भिजिट भिसा प्रकरणको उदाहरण दिँदै विप्लवले त्रिभुवन विमानस्थलमा दैनिक ५० लाखसम्म घुस खाने अवस्था गरेको खुलासाबाट दलालहरुले देश र जनता चुसिरहेको टिप्पणी गरे । कांग्रेस नेता रमेश लेखकको नाम जोडिएको प्रसंग उल्लेख गर्दै उनले भने–‘हामीले उहाँलाई कांग्रेसभित्रको बुद्धिजीवी ठानेका थियौं, तर उहाँकै कर्मचारीले दैनिक ५० लाखसम्म घुस बुझाएको आरोप लगाएको देखियो ।’
उनले उपप्रधानमन्त्री भइसकेका नारायणकाजी श्रेष्ठको ‘पैसाबिना न्यायालयमा केही हुँदैन’ भन्ने अभिव्यक्तिले मुलुकको अवस्था झल्काएको दाबी गरे ।
विप्लवले अहिलेको कम्युनिष्ट आन्दोलन दिग्भ्रमित भएको भन्दै यसलाई दिग्दर्शन गर्न नयाँ बहस सुरु गरिएको बताए । ‘यो बहस के हो ? नयाँ पार्टी बनाउने हो ? भन्ने प्रश्न उठ्छ, तर अहिले निश्चित भन्न सकिँदैन, यो ८–१० वटा अन्तरक्रियापछि पनि टुंगिन सक्छ ।’– उनले भने ।
उनले सुरु गरिएको छलफल कुनै व्यक्तिको आकांक्षा नभई मुलुककै आवश्यकता भएको दाबी गरे । ‘यो छलफल श्रमिक जनताको चाहना, एकता र उज्यालोको बाटो पहिल्याउने प्रयास हो ।’–उनले भने ।
घुस नखाने नेताको कम्यूनिष्ट पार्टी आवश्यक : घनश्याम
नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले नेपालमा घुस नखाने नेताको कम्यूनिष्ट पार्टी आवश्यक भएको बताए । उनले नेपालमा कम्यूनिष्ट पार्टीहरु दलाल पँुजीवादको कब्जामा रहेको उल्लेख गर्दै अब जनतामा देखिएको निराशा र छटपटी चिर्न सुशासनको ग्यारेन्टी दिने क्रान्तिकारी कम्यूनिष्टपार्टी चाहिएको बताए ।
भुसालले नेपालमा व्यवस्था र संविधान बदलिए पनि दलहरुको ढाँचा, संरचना र तरिका उस्तै रहेको बताए । यी कुराहरु नबदलिंदा राजाकै पालादेखिको दलाल पुँजीवाद प्रभावमा दलहरु फसेको उनले टिप्पणी गरे । भुसालले राजनीतिक रुपमा नेपाली जनतामाथि भयंकर अत्याचार भएको समेत बताए ।
‘जनतामा विकल्प छैन, सत्ता, सरकार, प्रधानमन्त्री, नेताहरुको गुटले जनतालाई धेरै अपमानित गरेको छ, झुटबाट मान्छे तरंगित छ,’ भुसालले भने–‘म त भन्छु समाज बौलाएको छ, यसबाट निकास दिन अब ध्रुविकरण जरुरी छ ।’ उनले मुलुक वर्तमान छटपटीबाट नयाँ इतिहास बनाउने प्रसव पिडामा रहेको बताए । उनले पुरानोले काम नगरेको तर नयाँ नबसिकेकोले सर्पले काँचुली फेर्ने अवस्थामा जस्तै पीडा र छटपटी भएकाले नयाँ इतिहास बनाउन बहस जरुरी रहेको बताए ।
उनले वामपन्थी आन्दोलनलाई ध्रुविकरण गर्नुपर्ने बेला आएकाले आफूहरु वर्तमान राजनीतिको संकट र निकासबारे बहसमा आएको बताए । परिस्थिति धेरै पाकिसकेको बताउँदै उनले अब केन्द्रदेखि वडासम्मै वामपन्थी धुव्रिकरण आवश्यक रहेको बताए । उनले पुरानोले काम नगरेको तर नयाँ नबसिकेकोले सर्पले काँचुली फेर्ने अवस्थामा जस्तै छटपटी भएकाले नयाँ इतिहास बनाउन बहस जरुरी रहेको बताए ।
‘पुराना मान्यता भत्केका छन्, नेताहरुका नालायकी भत्केका छन्,’ उनले भने–‘स्वार्थ र भ्रमहरु भत्काएर नयाँ मानक बनाउनुपर्छ ।’ उनले क्रान्तिको लागि कसम खाएको व्यक्तिको हिसाबले सपनाले थिचिएर ऐठन हुने अस्थामा आएको बताए । माओवादीभित्र जनयुद्ध र एमालेभित्र बहुदलीय जनवादको संकल्प दलाल पुँजीवादको भित्तामा ठोक्किएर घाइते भएकाले मुलुकको भाग्य र भविष्यका लागि नयाँ समाजवादी पार्टी आवश्यक भएको जनाए । ‘मूलभूतरुपमा युद्ध र शान्तिपूर्ण हुकाई र अनुभवको विभाजन छन्, त्यो बाहेक अरु कृत्रिम नक्कली लक्ष्मण रेखाहरु भत्काउनुपर्छ ।’–भुसाले भने ।
उनले पछिल्लो समय नेकपाका महासचिव विप्लव, नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले बहस र छलफल गरेको प्रसंगमा आफूहरु कुनै नयाँ पार्टी बनाउनका लागि बहसमा नआएको बताए । ‘तीन जना मिलेर अलग पार्टी बनाउने होइन, अर्को पार्टी बन्दैन,’ भुसालले भने–‘हामीले सही सिद्धान्त बुझाउने र विभाजन नभई जुटाउने अभियानमा छौं ।’ उनले उनले समाजमा उकुसमुकुस तिव्ररुपमा रहेकाले विमर्श जरुरी रहेको बताए । उनले देउवा, ओली, प्रचण्ड, माधव नेपालदेखि रविसम्म असन्तुष्टि रहेकाले अब नयाँ निकास आवश्यक रहेको बताए । उनले वर्तमान राजनीतिमा देखिएको समस्याबारे साउन ६ गतेदेखि बहस सुरु भएको बताउँदै बुटवलमा आएपछि यसले गती लिने विश्वास व्यक्त गरे । ‘हामी तीन जनाले मात्रै गर्नुपर्छ भन्ने रहेन, कम्यूनिष्ट आन्दोलनमा चिन्तितहरुले माथिदेखि वार्डसम्म बहस गरौं ।’– भुसालले भने ।
वाम शक्तिहरूबीच पुनर्गठन आवश्यक : जनार्दन शर्मा
नेकपा माओवादी केन्द्रका उप–महासचिव जनार्दन शर्माले वर्तमान कम्युनिष्ट पार्टीहरू जनताको मुद्दा उठाउन असफल भएकाले वाम शक्तिहरूबिच पुनर्गठनको आवश्यकता रहेको बताए । उनले दलहरूको वर्तमान अभ्यासले जनतालाई निराश बनाएको टिप्पणी गरे ।
उप–महासचिव शर्माले दलहरूले लोकतन्त्रलाई व्यवहारमा नउतारेको बताए । ‘न लोकतन्त्रलाई व्यवहारमा नउतारेछन्, न त गरिबी र बेरोजगारी अन्त्य गर्ने बहसलाई प्राथमिकता दिएका छन्,’ उनले भने–‘बरु, पार्टी नेतृत्व आफ्नै जयजयकार गर्ने समूह तयार गर्ने काममा व्यस्त छ ।’
उनले दलहरू जनताका मुद्दामा स्पष्ट नभएको, नीतिहरूमा प्रष्ट नभएको, बरु अलमलमा परेको आरोप लगाए । उनले भने–‘दलहरूमा लोकतन्त्र छैन, सुशासन छैन, चुनौती सामना गर्ने क्षमता पनि छैन ।’शर्माले माओवादी केन्द्र र एमालेबिच एकता भएर नेकपा बनेको समयमा जनतामा उत्साह जागेपनि विभाजनसँगै निराशाको श्रृंखला सुरु भएको स्मरण गरे । सत्ता स्वार्थले नेकपा विघटन भएको भन्दै उनले चिन्ता व्यक्त गरे । आजको नयाँ पुस्ताले चाहेको के हो ? जेनजी पुस्ताको पनि बहस भइरहेको छ ? सबै आवश्यकतालाई सम्बोधन गर्ने गरी कम्युनिस्ट आन्दोलनलाई ध्रुवीकरण र पुनर्गठन गर्नुपर्छ । वृहत्त राष्ट्रिय स्वार्थमा केन्द्रित भएर पुनर्गठन गर्नुपर्छ ।’–उनले भने ।
शर्माले २०७४ सालमा नेकपा गठन हुँदा नेता तथा कार्यकर्तामा निकै उत्साह देखिएको तर नेताहरूको स्वार्थका कारण चिसो पानी खन्याइएको आरोप लगाए ।
‘नेकपा गठन गर्दा नेता तथा कार्यकर्तामा निकै उत्साह देखिएको थियो । तर सत्ता स्वार्थका कारण उत्साहमा चिसो पानी खन्याइयो । कसले ग¥यो व्यक्तिगत आरोप लगाउन चाहन्न । झन्डै दुई तिहाइ मत पाएको पार्टी विघटन भयो । यस्तो किन भयो भन्दा पार्टीभित्र अलोकतान्त्रिक गतिविधिका कारण, वैचारिक अभावका कारण समस्या आएको छ’, उनले भने–‘अब पुराना पुस्तालाई गाली गरेर होइन । विगतबाट शिक्षा लिएर जनताको पार्टी बनाउनुपर्छ । यसका लागि सम्पूर्ण कम्युनिस्ट पार्टीलाई एकीकृत बनाएर लैजान निरन्तर अभियान चलाउनुपर्छ ।’
कार्यक्रममा उनले नयाँ अभियान लिएर जानुपर्ने बेला सरकारमा जान छामछुम गरिरहेको आरोप लगाए । पार्टीलाई आफ्नो बिर्ता जस्तो ठानेका कारण कम्युनिस्ट पार्टीभित्र समस्या देखिएको शर्माले बताए ।
देशको आर्थिक प्रणाली अझै पञ्चायती शैलीमै रहेको र दलाल पुँजीवादले कब्जा गरेको उनको आरोप छ । ‘लोकतन्त्र जनताको नभई दलाल पुँजीवाद र भ्रष्टहरूको हातमा पुगेको छ,’ उनले भने–‘४७ देखि ५० लाख युवाले रोजगारी नपाएर खाडी मुलुक रोज्नुपरेको छ, खेतबारी बाँझो छन्, प्राकृतिक स्रोत साधनको सदुपयोग छैन । शिक्षा, स्वास्थ्य र नागरिकको दैनिकीमा लोकतन्त्र अझै आएको छैन ।’
रुपन्देहीका वामपन्थी नेता कार्यकर्ताको उल्लेख्य उपस्थिति रहेको कार्यक्रममा शहिद तथा बेपत्ता स्मृति प्रतिष्ठान नेपालका अध्यक्ष वसन्त श्रेष्ठ, उपाध्यक्ष शरद ओली, सचिव विरेन्द्र सीलगायतले बोलेका थिए ।




