बुटवल
रुपन्देही क्षेत्र नं. ३ को उपनिर्वाचनको लागि ३५ दिने लामो छनोट प्रक्रियापछि उम्मेद्वार टुंगो लगाएको छ । आकांक्षी उम्मेदवारको सूचीमा रहेका न्युरोलोजिस्ट डा. लेखजंग थापालाई आधिकारीक उम्मेदवारको रुपमा घोषणा गरेको छ ।
केन्द्रीय पदाधिकारी समितिको बैठकले थापालाई आधिकारिक उम्मेदवारको रुपमा घोषणा गरेको हो । सिद्धार्थनगर–९, अञ्चलपुरमा जन्मिएका डा. थापा वरिष्ठ न्युरोलोजिस्ट र सामाजिक अभियन्ता हुन् । उनले नेपाली न्युरो साइन्सको विकास र बिरामी उपचारमा १६ वर्षभन्दा लामो समय बिताएका छन् ।
पोखराको मणिपाल कलेज अफ मेडिकल साइन्सेजबाट एमबीबीएस, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट इन्टरनल मेडिसिनमा एमडी र कलेज अफ मेडिकल साइन्सेज चितवनबाट डीएम न्युरोलोजी अध्ययन गरेका डा. थापा अमेरिकाको प्रसिद्ध हार्वर्ड विश्वविद्यालयको ‘सेफ्टी क्वालिटी लिडरसिप एण्ड इन्फमेटिभ’का ग्राजुएट्स हुन् ।
अनुसन्धानकर्मी समेत रहेका उनका ८० वटाभन्दा बढी अनुसन्धानात्मक पेपरहरु राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जर्नलहरुमा प्रकाशित छन् ।
नेपाल स्ट्रोक एसोसिएसनका संस्थापक अध्यक्ष समेत रहेका डा. थापाले स्ट्रोकको उपचार, निदान र सचेतनामा भूमिका खेलेका छन् । उनकै टिमको पहलमा बनाइएको राष्ट्रिय स्ट्रोक उपचार व्यवस्थापन प्रोटोकल समेत जारी भएको छ । जसलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समेत स्वीकृत गरेको छ ।
डा. थापाले आफ्नै पहलमा नेपालका हजारौँ चिकित्सक, नर्स र स्वास्थ्यकर्मीहरुलाई ‘स्ट्रोक मास्टर क्लास’ मार्फत् स्ट्रोकको पहिचान, उपचार र सचेतनासम्बन्धी तालिम दिँदै आएका छन् ।
उनी काठमाडौँको व्यस्त जीवनशैलीलाई छल्दै डेढ दशकयता हप्ताको दुई दिन जन्मभूमि भैरहवा पुगेर बिरामीको सेवा गर्दै आएका छन् ।
मुलुकलाई सुशासनसहितको सामाजिक न्याय, विकास र समृद्धिको बाटोमा लैजाने अठोटका साथ उनी राजनीतिमा होमिएका हुन् ।




