बुटवल । शाइन रेसुंगा डेभलपमेन्ट बैंकले भारतमा उत्कृष्ट विकास बैंकसहित चार अवार्ड जितेको छ । इण्डियन च्याम्बर अफ कमर्स स्थापनाको सय वर्ष पुगेको अवसरमा भारतको नयाँदिल्लीमा आयोजित तेस्रो आइसीसी एशिया इमर्जिङ बैंकिङ अवार्ड समारोहमा यो अवार्ड वितरण गरिएको हो । शाइन रेसुंगाले बेस्ट डेभलपमेन्ट बैंकसँगै बेस्ट पर्फमेन्स अन रिस्क म्यानेजमेन्ट, बेस्ट पर्फमेन्स अन प्रोफिटाबिलिटी र पर्फमेन्स अन ग्रोथ विधामा पनि अवार्ड पाएको बैंकले जनाएको छ । यी अवार्डहरु बैंकका तर्फबाट सहायक महाप्रबन्धक यशोधन पाण्डे र चिफ टेक्नोलोजी अफिसर शैलेश श्रीवास्तवले ग्रहण गरेका हुन् ।
बैंकको पछिल्लो तीन वर्षको वित्तीय विवरणको मूल्यांकनको आधारमा शाइन रेसुंगाले चार वटा अवार्ड पाएको हो । इण्डियन च्याम्बर अफ कमर्सले बिमस्टेक राष्ट्रका बैंक तथा वित्तीय संस्थाहरुलाई एकै थलोमा ल्याएर उनीहरुका असल अभ्यास र अनुभव आदानप्रदान गर्दै देशको अर्थतन्त्रमा थप योगदान गर्न उत्प्रेरित गर्ने उद्देश्यले यो अवार्ड वितरण गर्दै आएको आइसीसीले जनाएको छ । कमर्सियल बैंकतर्फ एभरेष्ट बैंकले बेस्ट कमर्सियल बैंक र बेस्ट पर्फर्मेन्स अन प्रोफिटाविलिटी गरी दुई विधामा उपाधि जितेको छ ।
शाइन रेसुंगाले यसअघि अन्तर्राष्ट्रियस्तरको एसिया इमर्जिङ बैंकिङ अवार्ड जितेको थियो भने सन् २०२२ र २४ मा बेष्ट म्यानेज्ड डेभलपमेन्ट बैंक अवार्ड जितेको थियो । शाइन रेसुंगा बुटवलमा केन्द्रीय कार्यालय रहेको लुम्बिनी प्रदेशकै एकमात्र राष्ट्रियस्तरको विकास बैंक हो । अवार्ड वितरण समरोहमा नेपाल राष्ट्र बैंकका प्रतिनिधि पनि सहभागी थिए । बैंकले चारवटा अवार्ड जित्नुमा बैंक सञ्चालक समिति, सेयर सदस्य, कर्मचारी, सेवाग्राही उद्यमी–व्यवसायी र बैंकका शुभेच्छुक सबैको भूमिका रहेको बैंकले जनाएको छ ।




