काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले ०८४ सालको निर्वाचनमा एमालेले एकल बहुमत ल्याउने दाबी गरेका छन् । शुक्रबार ललितपुरको गोदावरीस्थित सनराइज हलमा आयोजित एमालेको दोस्रो विधान महाधिवेशनको उद्घाटन सत्रमा ओलीले आगामी निर्वाचनमा पार्टी सरकारमा नै हुने भएकाले धाँधली हुन नदिने र बहुमत ल्याउने दाबी गरेका हुन् ।
"०८४ मा हामीले एकल बहुमत ल्याउनुपर्छ । कम्तीमा एकल बहुमत हामीले ल्याउनुपर्दछ । कमरेडहरू, यदि हामी जनताको बीचमा सक्रियतापूर्वक गयौँ भने हाम्रा सम्पूर्ण पार्टी र जनवर्गीय संगठनका सम्पूर्ण कमिटीहरू र कार्यकर्ताहरू, सदस्यहरू र समर्थकहरू परिचालन गरेर जनताका बीचमा गयौँ भने बहुमत ल्याउनबाट कसैले पनि हामीलाई रोक्न सक्दैन । हामी बहुमत ल्याउन सक्छौँ," उनले भने ।
उनले अगाडि थपे, "यहाँहरूलाई थाहा छ– हामी सरकारमा छौँ । आउँदो निर्वाचन कसैले धाँधली गर्न सक्दैन । हामी पनि सरकारमा छौँ । र सरकारमा रहेर हामी धाँधली रोक्न सफल हुन्छौँ । दृढताका साथ धाँधली रोक्ने छौँ । र, निष्पक्ष, स्वतन्त्र निर्वाचन हुँदै छ । शान्तिपूर्ण वातावरणमा निर्वाचन हुँदै छ ।"




