बुटवल । भारतका प्रधानन्यायाधीश भूषण रामकृष्ण गवईले बुद्ध जन्मस्थल लुम्बिनीको भ्रमण गरेका छन् । न्यायपालिकाको सर्वोच्च जिम्मेवारी सम्हालेपछि उनको यो पहिलो नेपाल यात्रा हो । गबईले लुम्बिनी आगमनलाई विशेष आध्यात्मिक अवसरका रूपमा लिएको बताएका छन् ।
शनिबार बिहान लुम्बिनी प्रवेश गरेका गबईलाई लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे छिरिङ), सदस्य–सचिव सानुराजा शाक्य, कार्यकारी सदस्य श्याम रोक्का, वरिष्ठ प्रशासन प्रमुख ज्ञानिन राईसहित कोषका अधिकारी तथा कर्मचारीहरूले स्वागत गरेका थिए ।
भ्रमणका क्रममा गबईले लुम्बिनी क्षेत्रको ऐतिहासिक तथा धार्मिक महत्वबारे जानकारी लिएका थिए । उनले मायादेवी मन्दिर परिसरमा पुगेर बुद्ध जन्मस्थल अवलोकन गर्दै शुत्रपाठ गरेका थिए । साथै, विश्व शान्ति, मानव कल्याण, नेपालको प्रगति र भारत–नेपालबिचको मैत्रीपूर्ण सम्बन्ध अझ प्रगाढ होस् भन्ने कामना गर्दै दियो प्रज्ज्वलनसमेत गरेका थिए ।
लुम्बिनी भ्रमणपछि गबईले लुम्बिनी विकास कोषका पदाधिकारीहरूसँग गुरुयोजना र हाल सञ्चालनमा रहेका विकास–निर्माणका गतिविधिबारे चासो देखाएका थिए ।
उनले लुम्बिनीलाई अन्तर्राष्ट्रिय स्तरमा थप प्रचार–प्रसार गर्न नेपालले गरेको प्रयासको प्रशंसा गर्दै यस क्षेत्रमा भारतको सहकार्य निरन्तर रहने विश्वास पनि व्यक्त गरेका थिए भने प्रधान न्यायाधीश गवईलाई उपाध्यक्ष डा. लामाले बुद्धको मूर्ति उपहार प्रदान गरेका थिए ।
प्रधानन्यायाधीश गबई नेपालमा आयोजना हुने ‘नेपाल–इन्डिया जुडिसियल डाइलग’ कार्यक्रममा सहभागी हुन आएको अवसरमा लुम्बिनी पुगेका हुन् । उक्त कार्यक्रममा नेपाल र भारतका न्यायाधीश तथा विधिवेत्ताबिच आपसी अनुभव आदान–प्रदान, न्याय क्षेत्रका चुनौती तथा सम्भावनाबारे छलफल गरिएको थियो ।
प्रधानन्यायाधीश गबईको यस भ्रमणले लुम्बिनीमार्फत् नेपालको पर्यटन, सांस्कृतिक र धार्मिक महत्व अझै उच्च स्तरमा पुग्ने विश्वास लुम्बिनी विकास कोषले व्यक्त गरेको छ ।




