काठमाडौं । ‘जेनजी’ पुस्ताको प्रदर्शनका कारण सामाजिक सञ्जालमा चासो राख्ने जमात बढेपछि नेपालको इन्टरनेट धराशायी भएको छ । सामाजिक सञ्जाल निष्क्रिय भएको अवस्थामा भीपीएन र डीएनएसको प्रयोग गरिँदा इन्टरनेट ब्यान्डविथमा ठूलो चाप परेको हो ।
सोही कारण नेपाली वेबसाइट र इन्टरनेट सेवा निकै सुस्त भएको इन्टरनेट सेवा प्रदायक एसोसिएसनका अध्यक्ष सुधीर पराजुलीले बताए । “भीपीएन र डीएनएस प्रयोगका कारण बरबाद छ, (सोमबार) बेलुकासम्म त इन्टरनेट ठप्प होला जस्तो छ,” उनले भने, “सबैले भीपीएन र यो ओपन डीएनएस चलाए । आज झन् त्यहाँ जेनजीले एकापसमा नलेज साटासाट गरेको जस्तो छ ।”
नेपालमा दैनिक औसत दुई टेराबाइट इन्टरनेट ब्यान्डविथ खपत हुने गरेको छ । यति बेला त्यसको ४० प्रतिशतभन्दा बढी ब्यान्डविथ खर्च भइसकेको उनले जानकारी दिए ।
“इन्टरनेसनल ब्यान्डविथ चोक भइसक्यो । हामीसँग जति कनेक्सनको कनेक्टिभिटी छ, त्यसको क्यापासिटी फुल भइसक्यो,” उनले भने, “यही अवस्था रहे बेलुकासम्म इन्टरनेट अनयुजेबल हुन्छ ।” सोमबार (भदौ २३) अपराह्नसम्म सरकारले सामाजिक सञ्जाल सक्रिय गर्न कुनै निर्देशन नदिएको उनले बताए ।




