बुटवल । बन्द गरिएका सामाजिक सञ्जाल खोलिएको छ । सरकारले औपचारिक निर्णयको जानकारी नदिए पनि इन्टरनेट प्रदायक कम्पनीहरुले बन्द गरेका सामाजिक सञ्जाल सुचारु गरेका हुन् ।
नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाली कांग्रेस पार्टी सभापति शेरबहादुर देउवाले सामाजिक सञ्जाल माथिको प्रतिबन्ध फुकुवा गर्न आग्रह गरेका थिए। तर मन्त्रिपरिषद बैठकमा भने ओलीले यो बारे कुनै निर्णय गरेनन्। लगत्तै ओलीलाई भेट्न देउवा ओली निवास पुगेका थिए। यो सँगै राति १० बजेबाट बन्द गरिएका सबै सामाजिक सञ्जालहरू सञ्चालनमा आएका हुन्।
सरकारको कम्पनी नेपाल टेलिकमले पनि बन्द गरिएका सामाजिक सञ्जाल सुचारु गरेको छ भने देशको सबैभन्दा ठुलो इन्टरनेट प्रदायक कम्पनी वर्डलिंकबाट पनि बन्द गरिएका सामाजिक सञ्जाल सुचारु गरिएको छ ।
सरकारले दर्ता नभएको भन्दै गत विहिबारदेखि २६ सामाजिक सञ्जाल निष्क्रिय पारिदिएको थियो । सोमबार देशभर जेनजीको आन्दोलनमा १९ जनाको मृत्यु भएपछि सरकार ब्याकफुटमा आएर समाजिक सञ्जाल बन्द गर्ने आफ्नो निर्णयबाट पछि हटेको छ ।




