बुटवल । जिल्लामा हुन सक्ने प्रदर्शन, जुलुस, हुडाहुडी तथा झडपजस्ता सम्भावित घटनालाई दृष्टिगत गर्दै रुपन्देही जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा र कर्फ्यु आदेश जारी गरेको छ।
जिल्ला सुरक्षा समितिको सिफारिसअनुसार स्थायी प्रशासन ऐन, २०७४ को दफा ६ को उपदफा (३) बमोजिम प्रमुख जिल्ला अधिकारी टोकराज पाण्डेले २०८२ साल भदौ २७ गतेदेखि अर्को आदेश नभएसम्मका लागि आदेश जारी गरेका हुन्।
राति ९ बजेदेखि बिहान ६ बजेसम्म लागू हुने गरी कर्फ्यु आदेश जारी गरिएको छ। यस अवधिमा कसैलाई आवतजावत गर्न, सभा, जुलुस, प्रदर्शन, बैठक, धरना जस्ता गतिविधि गर्न निषेध गरिएको छ।
बिहान ६ बजेदेखि राति ९ बजेसम्म लागू हुने गरी निषेधाज्ञा जारी गरिएको छ। यस अवधिमा पाँच जनाभन्दा बढी भेला भई सभा, जुलुस, प्रदर्शन, धरना, धार्मिक तथा अन्य कोणसभामुलक कार्यक्रम गर्न पाइने छैन।
जिल्ला प्रशासन कार्यालयले आदेश उल्लङ्घन गर्नेहरूमाथि प्रचलित कानुन अनुसार कडा कारबाही हुने चेतावनी दिएको छ।





