बुटवल । लुम्बिनी प्रादेशिक अस्पतालले पुनः ओपिडि टिकट र बेडचार्ज बापतको रकम लिने भएको छ । अस्पतालले एक सुचना जारी गर्दै सो वापत न्युनतम रकम लिने निणर्य भएको जनाएको हो ।
गत आर्थिक वर्ष २०७९/८० अन्तरगत ०७९ साउन १ गतेदेखि लुम्बिनी र राप्ती प्रादेशिक अस्पतालमा आकस्मिक र बहिरंग सेवाको टिकट तथा शय्यावापत शुल्क नलाग्ने व्यवस्था गरिएको थियो ।तर लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८०/८१ का लागि सोही कार्यक्रमलाई सोधभर्ना रकम दिने कुनै निणर्य नगर्दा पुनः ओपिडि टिकट र बजेडचार्ज बापतको रकम लाग्ने अस्पतालले जनाएको छ ।
अस्पतालका प्रमुख डा. बिनोद गिरीले प्रदेश सरकारले सोधभर्ना नदिने भएसंगै ठुलो रकम खर्च हुने भएकोले पुनः रकम लिने निणर्य भएको उनले जानकारी दिए ।
अस्पतालले जारी गरेको सुचनामा ओपिडि टिकट नयाँको लागि ३० रुपैयाँ, पुरानो नविकरणको १५ रुपैयाँ तथा जनरल बेडचार्ज प्रतिदिन ३० रुपैयाँ लाग्ने जानकारी गराईएको छ।
अस्पतालका प्रमुख डा. बिनोद गिरीले ८ वर्ष पुरानो दररेट सहित पुनः लिन बाध्य भएको जानकारी दिए । उनले भने,‘ हाम्रोमा कर्मचारी संख्या धेरै छ । प्रदेश सरकारले खर्च तिर्दा हामीलाई समस्या थिएन्, तर कार्यक्रम हट्यो, हामीले त्यो खर्चको भार हामी थेग्न सक्दनो त्यसैले पुनः रकम लिन थाल्यौँ । ’




