तिलाेत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकाभित्र पर्ने मणिग्रामदेखि शिवपुर सडकखण्डमा खाल्डाखुल्डी बढ्दै गएपछि यातायात दुर्घटनाको जोखिम पनि बढेको छ। विशेष गरी चार नम्बर, अंकल किराना पसल चोक, टीका भवन चोकलगायत अधिकांश चोकमा खाल्डा परेका कारण सडक प्रयोग गर्ने पैदलयात्रीदेखि सवारी चालकहरू सम्म प्रभावित बनेका छन्।
स्थानीयवासीका अनुसार दैनिक आवतजावतमा खाल्डा जोगाउने क्रममा सवारीसाधन अचानक मोडिनु वा ब्रेक लगाउनुपर्ने अवस्थाले ठोक्किने तथा पल्टिने सम्भावना बढी रहेको छ। मोटरसाइकल चालकलाई त झन् ठूलो चुनौती थपिएको छ। बर्षातकाे समयमा पानी जमेर खाल्डा देख्नै कठिन हुने भएकाले दुर्घटनाको सम्भावना अझ बढ्ने गरेको उनीहरूले बताए।

सडक व्यवस्थापन नहुँदा पैदलयात्रु पनि समान रूपमा प्रभावित छन्। सडक छेउछाउमा खाल्डा भएका कारण बाटो काट्न समस्या हुने र सवारी साधनसँग ठोक्किने डर रहने गरेको छ। स्थानीय शैक्षिक संस्थामा पढ्न जाने विद्यार्थीहरू, बजारतिर दैनिक जाने व्यापारी तथा सर्वसाधारणलाई असुविधा थपिएको छ।
यातायात व्यवसायीहरूका अनुसार सडकमा खाल्डा हुँदा सवारी साधनमा समेत क्षति पुग्ने गरेको छ। मोटरसाइकल, स्कुटरदेखि ठूला बस तथा मालवाहक गाडीका टायर चाँडै नष्ट हुने, झट्का लागेर इन्जिन पार्टमा असर पर्ने समस्या देखिएको छ।
तिलोत्तमा नगरपालिकाभित्रको यो प्रमुख सडकखण्ड प्रदेश राजधानी बुटवलसँग जोडिने बाटो भएकाले दैनिक हजारौँ मानिस यसैमार्ग हुँदै आवतजावत गर्छन्। यस्तोमा खाल्डाखुल्डीका कारण दुर्घटनाको जोखिम झन् गम्भीर बन्नु चिंता लाग्दो विषय बनेको छ।
स्थानीयवासीहरूले सम्बन्धित निकायलाई अविलम्ब खाल्डा पुरेर सडक मर्मत गर्न माग गरेका छन्। यदि समयमै मर्मत गरेमा कुल लागत खर्चकाे १० प्रतिशतमा नै सडक पुन निर्माणहुने र खर्च बच्ने स्थानीयकाे सुझाव छ ।




