पाल्पा । डुम्रे दुग्ध कृषि सहकारी संस्था लिमिटेड तिनाउ ६ पाल्पाको ३२औं साधारणसभा सम्पन्न भएको छ । साधारणसभामा सहकारी संस्थाका कृषक लगानीकर्ताहरुलाई लगानीको १५ प्रतिशत लाभान्स वितरण गरेको छ । ४ सय जना कृषकहरुले ५५ हजारदेखि १ हजारसम्म वार्षिक लाभान्स पाएका छन् । साधारणसभामा सहकारीले कृषकहरुलाई फूलमालासहित लाभान्स वितरण गरेको हो ।
डुम्रे दुग्ध कृषि सहकारी संस्थामा ५ सय जना कृषकहरु आबद्ध रहेकोमा १ सय ६४ जना महिला र २ सय २३ जना पुरुष शेयर सदस्यहरु रहेका छन् । संस्थाले गत आर्थिक वर्ष २०८१-०८२ मा ९ लाख ४६ हजार ७ सय ३० लिटर दूधको कारोबार गरेको छ । संस्थाले ३४ करोड १३ लाख ८८ हजार ६ सय ६४ रुपैयाँ बराबरको कारोबार गरेको छ । संस्थामा ५ करोड १९ लाख ५६ हजार ६ सय २० रुपैयाँ संस्थागत पुँजी रहेको छ । संस्थाको जगेडा कोषमा ७८ लाख ५१ हजार ८ सय ८ रुपैयाँ, शेयर पुँजी ५३ लाख १३ हजार १ सय रुपैयाँ र अन्य कोषमा ८ लाख २ हजार ५७ रुपैयाँ रहेको छ ।
संस्थाले पशुपालक कृषकहरुलाई चाहिने घाँसको बिउ, दाना, ब्रान, पशु औषधी, भिटामिन, बिउ बिजनलगायतका सरसामानहरु साथै कृत्रिम गर्भाधान, पशु उपचार जस्ता कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । संस्थाले कृषक शेयरधनीको गाईभैंसी सुत्केरी हुँदा पशु सुत्केरी पोषण बापत प्रति पशु १ हजार २ सय रुपैयाँ वितरण गर्दै आएको छ । शेयर सदस्यले नयाँ गाईभैंसी खरिद गर्दा निःशुल्क रुपमा ढुवानी सेवा दिँदै आएको छ ।
संस्थाले कृषकहरुबाट संकलन हँुदै आएको दूध बिक्रीको लागि तानसेन बजारमा १ वटा मिशन, १ वटा डेरी र डुम्रेमा एग्रोभेट पसल सञ्चालन गरी सेवा प्रदान गरेको छ । वर्षायाममा अत्याधिक दूध उत्पादन हुने भएकोले विभिन्न डेरीहरुलाई उधारोमा बिक्री बन्द गरेर संस्थाले आगामी दिनमा बुटवलमा एक वटा डेरी राजमार्ग क्षेत्रमा मिठाई, चिया तथा लस्सी एवं दूधजन्य परिकार बिक्री गर्ने पसल सञ्चालन गर्ने, छुर्पी उत्पादन गर्ने तथा दूधका परिकारलाई विविधिकरण गर्ने सहकारीले साधारणसभामा जानकारी दिएको छ ।
संस्थाले मुक्तिनाथ विकास बैंकबाट २ करोड रुपैयाँ ऋण लिएर कृषकहरुलाई सहुलियत दरमा लगानी गर्दै आएको छ । संस्थामा आबद्ध कृषकहरुको ४ लाख ४ हजार ७ सय २० रुपैयाँ बराबरको निःशुल्क पशु बिमा गरेको छ । जसबाट कृषकहरुले वार्षिक ४० लाख रुपैयाँभन्दा बढीको क्षतिपूर्ति पाएका छन् । हेफर नेपालको सहकार्यमा दैनिक ३५ लिटरसम्म दूध दिने गाईको सिमेन कोरियाबाट ल्याई पाल्पाका गाईबाट १० वटा बाच्छी उत्पादन भइसकेकोले संस्थामा आबद्ध कृषकहरुको गाईमा नश्न सुधार गर्दै जाने सहकारीले जनाएको छ । संस्थामा आबद्ध कृषकहरुका उन्नत नश्लका गाईहरु मिल्क फिबर रोगबाट मृत्यु हुने गरेकोले किसानको घाटालाई कम गर्न चालु आर्थिक वर्षमा काउ लिफ्ट खरिद गरी समस्या समाधान गर्ने जनाएको छ ।
संस्थाले दैनिक ३ हजारदेखि ४ हजार लिटरसम्म दूध खरिद बिक्री गर्दै आएको छ । संस्थाले कृषकका १६ जना छोरा छोरीहरुलाई प्रत्यक्ष रुपमा रोजगारी प्रदान गरेको छ । संस्थामा आबद्ध भएका दुग्ध कृषकहरुले राम्रो मूल्य पाएको, सरकारले वितरण गर्ने अनुदानदेखि संस्थाले कमाउने मुनाफामा समेत पाउने भएकोले तानसेन, रिब्दीकोट, तिनाउ, माथागढी, बगनासकालीलगायतका कृषकहरुलाई संस्थामा आबद्ध हुन सहकारी अध्यक्ष दुर्गाबहादुर खाँण ठकुरीले अनुरोध गरे ।
डुम्रे दुग्ध कृषि सहकारी संस्था नेपालकै नमूना कृषि सहकारी संस्था भएको, यसको उत्पादन तथा गुणस्तर नेपालमै नमूना रहेको साधारणसभामा तिनाउ गाउँपालिका वडा नंं. ६ का वडाध्यक्ष टोमबहादुर पुनले बताए । गाउँपालिकाले डुम्रे दुग्ध कृषिमा आबद्ध भएका कृषकहरुको लागि ५ लाख ९८ हजार रुपैयाँ अनुदानमा आधारित प्रोत्साहन रकम प्रदान गरेको वडा अध्यक्ष पुनले बताए । सहकारीले स्वदेशमै पशु तथा कृषिमार्फत् रोजगारी बढाउन, आयआर्जन गराउन ठुलो सहयोग पुगेको उनले बताए ।
साधारणसभामा जिल्ला दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष रामजी घिमिरे, शेयर सदस्यहरु राम प्रसाद पोखरेल, सिता जिसीलगायतले सहकारीको योगदानको चर्चा गर्दै आगामी दिनमा क्षेत्र विस्तारको साथै दूधको विविधिकरण गरी, गुणस्तरी उत्पादनमा ध्यान दिँदै देशकै नमूना दुग्ध उत्पादक सहकारी संस्था बनाउनु पर्नेमा जोड दिए ।
कार्यक्रममा संस्थाका लेखा सुपरिवेक्षण समितिका संयोजक धनबहादुर कार्कीले ३४ करोड बराबरको आय व्यय सार्वजनिक गर्दै संस्थाको खुद नाफा ९ लाख रुपैयाँ रहेको जानकारी दिए । साथै संयोजक कार्कीले संस्थाका राम्रा तथा आगामी दिनमा सुधार गर्नुपर्ने कुराहरु समेत लिलित रुपमा जानकारी गराएका थिए । संस्थाका अध्यक्ष दुर्गाबहादुर खाँण ठकुरीको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत उपाध्यक्ष शंकरप्रसाद भण्डारीको रहेको थियो भने व्यवस्थापक गोपाल जिसीको सञ्चालनमा भएको थियो ।




