युवराज पाण्डेय
बुटवल उप–महानगरपालिकाले आ.व. २०८१-०८२ मा स्वास्थ्य सेवा क्षेत्रमा गुणस्तर, पहुँच र दिगोपनामा सुधार ल्याउने लक्ष्यका साथ विभिन्न कार्यक्रमहरू सञ्चालन गरेको छ । बालबालिका, महिला, किशोरी, जटिल रोगी र विपन्न नागरिकलाई लक्षित गर्दै नगरभित्र स्वास्थ्य सेवा प्रणालीलाई अझ सुदृढ बनाउने प्रयास गरिएको छ ।
१. बालबालिका र खोप सेवाको दिगोपना
आ.व. २०८१-०८२ मा बुटवल उप–महानगरपालिकामा खोप सेवाको कभरेज ८७ प्रतिशत पुगेको छ । यस अवधिमा ३२,३७५ बालबालिकाले नियमित खोप सेवा लिएका थिए । बालबालिकाको स्वास्थ्य अनुगमनमा ०–२३ महिनाका बालबालिकालाई औसत १० पटक तौल मूल्याङ्कन गरिएको थियो । यो स्वास्थ्य कार्यक्रम बालबालिकाको समग्र विकास र पोषण सुधारमा महत्त्वपूर्ण योगदान पु¥याएको छ ।
भिटामिन ए कार्यक्रममार्फत् कार्तिक र बैशाखमा ६ महिना–५ वर्ष मुनिका बालबालिकालाई पोषण सहयोग प्रदान गरियो । यस क्रममा २४,६१५ बालबालिकाले भिटामिन ए सेवन गरेका थिए । त्यस्तै, २२,५७३ बालबालिकालाई जुकाको औषधि वितरण गरिएको थियो । यी कार्यक्रमले बालबालिकामा रोग प्रतिरोधक क्षमता बढाउन सहयोग पु¥याएको छ ।
२. महिला स्वास्थ्य र प्रसूति सेवा
महिला स्वास्थ्य क्षेत्रमा पनि उल्लेखनीय प्रगति भएको छ । सेमलार स्वास्थ्य चौकीबाट २८ महिलाले सुरक्षित प्रसूति सेवा लिएका थिए । शहरी स्वास्थ्य केन्द्र–११ र शहरी स्वास्थ्य प्रवर्धन केन्द्र–१२ बाट ७४ महिलाले निःशुल्क सुरक्षित गर्भपतन सेवा प्राप्त गरे ।
५६४ गर्भवती महिलाले निःशुल्क प्रयोगशाला सेवा (फ्री ए.एन.सी. प्याकेज) प्राप्त गरे भने २४१ महिलाले निःशुल्क भिडियो एक्सरे सेवा प्राप्त गरेका थिए । यसले गर्भवती महिलामा स्वास्थ्य जोखिम कम गर्न र सुरक्षित प्रसूति सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेलेको छ ।
पाठेघरको मुखको क्यान्सरको स्क्रिनिंग कार्यक्रम वडा नं. ३, ५, ७, ८, १०, १७ र १८ का ३०–५९ वर्ष उमेरका ५७० महिलालाई लक्षित गर्दै सञ्चालन गरिएको थियो । यस प्रकारका कार्यक्रमहरूले महिलाको स्वास्थ्यमा समयमै हस्तक्षेप गर्ने अवसर प्रदान गर्छन् ।
३. किशोरी स्वास्थ्य र खोप अभियान
किशोरी स्वास्थ्यमा पनि प्रगति भएको छ । नगरका लक्षित उमेरका ९,९६१ किशोरीमध्ये ९,४४३ जनाले एच.पी.भी. खोप लगाएका छन् । यसरी ९५ प्रतिशत प्रगति हासिल गरिएको छ । किशोरी खोप कार्यक्रमले गर्भाशयको क्यान्सर जस्ता रोगको जोखिम घटाउने र दीर्घकालीन स्वास्थ्य सुरक्षामा योगदान पु¥याउने उद्देश्य राखेको छ ।
४. क्षयरोग र कुष्ठरोग उपचार
क्षयरोग र कुष्ठरोग उपचारमा पनि प्रगति देखिएको छ । आ.व. २०८१-०८२ मा नयाँ २६ कुष्ठरोगी र ४२५ क्षयरोगी उपचारमा रहेका थिए । क्षयरोग नोटिफिकेसन रेट २०० प्रति लाख पुगेको छ ।
नेपालमै पहिलो पटक सरकारी निकायको आयोजनाअन्तर्गत एआइ एक्स–रेबाट वडा नं. ११ मा क्षयरोग स्क्रिनिंग शिविर सञ्चालन गरिएको थियो । ४१५ जनाको परीक्षणमा ६ जनामा पोजेटिभ देखियो । यस प्रकारका प्रविधि प्रयोगले रोगको प्रारम्भिक पहिचान गर्न सहयोग पु¥याएको छ ।
२४ जना विपन्न तथा अत्यावश्यक र कुपोषित क्षयरोग बिरामीलाई पोषण सामग्री वितरण गरिएको थियो । यसले स्वास्थ्य र पोषण दुबै पक्षमा सुधार ल्याउन मद्दत गरेको छ ।
५. स्वास्थ्य संस्था स्थापना र डिजिटलाइजेशन
वडा नं. ५, ६, ८, १०, १३ र १८ मा आधारभूत स्वास्थ्य केन्द्र स्थापना गरी सञ्चालनमा ल्याइयो । सबै स्वास्थ्य संस्थालाई आ.रा.का. संग समन्वय गर्दै प्यानमा जोडिएको छ ।
वडा नं. ७ र ११ का स्वास्थ्य संस्थामा दैनिक सेवाको डिजिटलाइजेशन सुरु भएको छ । यसले सेवा पहुँचमा पारदर्शिता र समय बचत गर्न सहयोग पु¥याएको छ ।
स्वास्थ्य संस्था दर्ता, नवीकरण र स्तरोन्नतिसम्बन्धी मापदण्ड २०८० बमोजिम अनुगमन तथा मूल्याङ्कन गर्दा थप ६१ वटा सबै प्रक्रिया पूरा गरेका स्वास्थ्य संस्थालाई अनुमति प्रमाणपत्र प्रदान गरिएको छ ।
६. जटिल रोग र विपन्न नागरिकलाई सहयोग
नगरपालिकाले जटिल रोगको उपचारमा १८० जना संघीय र ५२ जना प्रदेश सरकारमा सिफारिस गरेको थियो । स्वास्थ्यसम्बन्धी विपन्न नागरिकलाई रु. १७,०००/– अनुदानमार्फत् १५८ जनालाई सहायता उपलब्ध गराइएको छ ।
मृगौला प्रत्यारोपण, डायलाइसिस, क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएका ३३६ जना बिरामीलाई रु. १,७९,०५,०००÷– प्रदान गरिएको छ । यसमा प्रत्येक बिरामीलाई मासिक औषधि र उपचार खर्चका लागि रु. ५,०००/– सहयोग उपलब्ध गराइयो ।
नेपाल रेडक्रस सोसाइटी बुटवल शाखालाई स्थायी रूपमा ६१९ जना बिरामीलाई १५६७ पोका रगत बराबरको रकम उपलब्ध गराइयो ।
७. पोषण, कुपोषण र सुत्केरी आमाको सहयोग
सुत्केरी पोषण रकम वितरणमा कार्यविधि संशोधन गर्दै रु. २०००÷– का दरले ३०१ जना आमालाई रकम उपलब्ध गराइयो । शिघ्र कुपोषणको उपचारमा शहरी स्वास्थ्य प्रवर्धन केन्द्र–१२ र मोतिपुर स्वास्थ्य चौकीमा ओ.टी.सी. सेन्टर थप गरिएको थियो ।
८. रोग रोकथाम र सरोकारवालासँग सहकार्य
डेंगुरोग रोकथाम तथा नियन्त्रणका लागि टोल विकास समितिहरू र सरोकारवालालाई अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको थियो । लामखुट्टेको फुल र लार्भा खोज–नष्ट गर अभियान सञ्चालन गरियो ।
चाडबाड लक्षित हेल्थ डेस्क कार्यक्रम लुम्बिनी बस टर्मिनलमा सञ्चालन गरिएको थियो । यसले नगरका नागरिकलाई स्वास्थ्य सचेतना र पहुँच सुनिश्चित गर्न मद्दत गरेको छ ।
९. सम्मान, पुरस्कार र सेवा सुधार
६० वर्ष उमेर पुगेका महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई कार्यविधि अनुसार नगद रु. १२५,०००÷– सहित सम्मान प्रदान गरिएको छ ।
बुटवल उप–महानगरपालिकाका स्वास्थ्य संस्थाहरूमा पहिलो पटक थ्री–फेज लाइन जडान गरिएको छ । यसमा सेमलार स्वास्थ्य चौकी, मोतीपुर स्वास्थ्य चौकी, शहरी स्वास्थ्य केन्द्र–११, शहरी स्वास्थ्य प्रवर्धन केन्द्र–१२ र आधारभूत स्वास्थ्य केन्द्र–१३ समावेश छन् ।
१०. समग्र उपलब्धि र दिगोपना
बुटवल उप–महानगरपालिकाले घरधुरी सर्वेक्षणमार्फत् ड्रप आउट भएका बालबालिकालाई खोप लगाउँदै पूर्णखोप दिगोपना सुनिश्चित गरेको छ । यसले बुटवललाई पूर्णखोप दिगोपना पालिका घोषणा गर्ने अवसर दिएको छ । नगरपालिकाले स्वास्थ्य सेवा पहुँच, गुणस्तर, डिजिटलाइजेशन, पोषण, जटिल रोग उपचार र सरोकारवालासँग सहकार्यमार्फत् नागरिकको स्वास्थ्य सुधारमा समग्र योगदान पु¥याएको छ ।
(पाण्डेय बुटवल उप–महानगरपालिकाका जनस्वास्थ्य महाशाखा उप–निर्देशक हुन् ।)




