बुटवल । बुटवल उपमहानगरपालिका–१३ जितगढीस्थित बेलबोट टोल विकास समितिले आफ्नो टोललाई सुरक्षित, आधुनिक र उज्यालो बनाउने उद्देश्यले स्वचालित सेन्सर प्रणालीयुक्त बत्तीहरू जडान गरेको छ। अँध्यारोमा आफैं बल्ने र उज्यालोमा स्वतः निभिने प्रविधियुक्त पोलबत्ती टोलका विभिन्न सडक र गल्लीमा जडान गरिएको समितिले जानकारी दिएको छ।
पोलबत्ती जडान कार्यका संयोजक बिनोद पोखरेलका अनुसार टोलका एक सय पोलमा सेन्सरयुक्त बत्ती जडान गरिएको हो। “टोललाई सुरक्षित र व्यवस्थित बनाउनका लागि हामीले सामूहिक रूपमा यो पहल गरेका हौं,” पोखरेलले बताए।
उनका अनुसार बत्ती जडानका लागि बुटवल उपमहानगरपालिकाबाट रु २० हजार सहयोग प्राप्त भएको छ भने बाँकी रकम टोलबासीको स्वैच्छिक सहयोग र श्रमदानबाट संकलन गरिएको हो। “नगरपालिकाको सानो सहयोगले पनि हामीजस्ता टोलहरूले ठूलो परिवर्तन गर्न सक्छौं भन्ने सन्देश यो योजनाले दिएको छ,” उनले थपे। उनले त्यहाँकाे आमा समूहले समेत सहयाेग गर्ने प्रतिबद्धता ब्यक्त गरेकाे जानकारी दिए ।
टोेल विकास समितिका अध्यक्ष खुमबहादुर कुँवरले बत्ती जडानपछि टोलमा रातिको सुरक्षा व्यवस्था अझ मजबुत भएको बताए।“हरेक वर्ष चाडपर्वको समयमा चोरी र साना अपराधका घटना हुने गर्छन्। अब टोलका मुख्य गल्लीहरू उज्यालो हुने भएकाले यस्ता गतिविधिमा कमी आउने अपेक्षा गरेका छौं,” कुँवरले भने।
उनका अनुसार उज्यालोले न केवल चोरी नियन्त्रणमा मद्दत पुर्याउँछ, बरु मानिसमा आत्मविश्वास र सुरक्षाको अनुभूति पनि जगाउँछ। “राति घर फर्किने विद्यार्थी, महिलाहरू वा वृद्धहरूका लागि पनि अब सहज र सुरक्षित वातावरण बनेको छ,” उनले थपे।
यस अभियानमा टोलका बासिन्दाहरूको ठूलो योगदान रहेको समितिले जनाएको छ। सबै घरपरिवारले आर्थिक सहयोगका साथै बत्ती जडानका लागि आवश्यक तयारी, तार तान्ने कामदेखि सफाइसम्ममा सक्रिय सहभागिता जनाएका थिए।
सेन्सर प्रणाली भएका यी बत्तीहरू वातावरणमैत्री र ऊर्जा–सक्षम प्रविधिमा आधारित छन्। अँध्यारो महसुस भएपछि मात्र बत्ती बल्ने भएकाले विद्युत् खर्च पनि कम हुने अपेक्षा गरिएको छ। संयोजक पोखरेलका अनुसार, “यो प्रणालीले टोलको सौन्दर्य बढाएको छ र टिकाउ विकासको दृष्टिले पनि उपयोगी छ। भविष्यमा सौर्य ऊर्जाबाट चल्ने प्रणाली जडान गर्ने योजना पनि रहेको छ।”
बेलबोट टोल विकास समितिले यो परियोजना सफलतापूर्वक सम्पन्न गरेपछि अब सडक मर्मत, सरसफाइ व्यवस्थापन, र सिसीटिभी जडानजस्ता अन्य सामुदायिक योजना अघि बढाउने तयारी गरिरहेको छ।
“हामीले अबका दुई वर्षभित्र बेलबोट टोललाई ‘स्मार्ट टोल’ बनाउने लक्ष्य लिएका छौं,” अध्यक्ष कुँवरले भने। “टोलको विकासका लागि सबैको सानो–सानो योगदान ठूलो उपलब्धि बन्न सक्छ भन्ने सन्देश यो परियोजनाले दिएको छ।”




