बुटवल । राष्ट्रियता, भौगोलिक अखण्डता, वीर पुर्खाहरुको योगदान र युवाहरुको भूमिकाका विषयमा युवा पुस्तालाइ जानकारी गराउने उद्देश्यसहित बुटवलमा वृहत शिक्षामूलक अभिमुखिकरण कार्यक्रम हुने भएको छ ।
सुस्ता बचाउ युवा अभियान र सुस्ता बचाउ अभियान नवलपरासीको संयुक्त आयोजनामा आगामी कात्तिक १४ गते बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको सभाहलमा अभिमुखिकरण आयोजना हुने भएको आयोजकले जनाएका छन् ।
कार्यक्रममा सीमाविद बुद्धिनारायण श्रेष्ठ र नेपाली सेनाका पूर्व उपरथी राष्ट्रिय रक्षाविद डा पूर्णबहादुर सिलवालले राष्ट्रियताका विविध पक्षमा प्रशिक्षण दिने सुस्ता बचाउ युवा अभियनका योगेन्द्र गौतमले बताए ।
कार्यक्रममा रुपन्देहीसहित नवलपरासी, कपिलवस्तु र पाल्पाका कक्षा ९ देखि स्नातक सम्मका युवा विद्यार्थीहरु सहभागी हुने भएका छन् । हरेक जिल्लाबाट कम्तिमा ५० जना विद्यार्थीहरु सहभागी हुने अपेक्षा गरिएको छ ।
कार्यक्रमलाई निजी तथा सामुदायिक विद्यालय तथा बुटवलको लखन ब्रदर्स क्लबले सहयोग र सहकार्य गरेका छन् ।
कार्यक्रमबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा दीप बोर्डिङ हाइस्कूलका प्राचार्य टिकाराम न्यौपाने, नविन औद्योगिक कदरबहादुर रितामाविका प्राचार्य प्रेमबहादुर बस्नेत लगायतले कार्यक्रमलाई उपलब्धिमूलक र युवाहरुमा सचेतना जागृत गर्ने खालको हुनेमा विश्वास व्यक्त गरे ।




