बुटवल
नेपालकै सबैभन्दा ठूलो गाई फार्मको रुपमा स्थापना भएको रुपन्देहीको टिकुलिगढस्थित लुम्बिनी एग्रो प्रोडक्टस् एण्ड रिसर्च सेन्टर राज्यको गलत नीति र व्यवहारका कारण अहिले थला परेको छ । शुरुमा करिब सात सय गाई रहेको फार्ममा अहिले आधा घटेर साढे तीन सय मात्र गाई छन् ।
सरकारको नीति र व्यवहार किसानमैत्री नहुनु, दूधको उचित मूल्य नपाउनु र सरकारी स्वामित्वको डीडीसीले भारतबाट पाउडर दूध आयात गरी बिक्री वितरण गर्दा गाई भैंसी पाल्ने ठूला फार्महरु संकटमा परेको लुम्बिनी एग्रो प्रोडक्टस् एण्ड रिसर्च सेन्टरका सञ्चालक शशि पौडेलले गुनासो गरे ।
दूध बढी उत्पादन हुने सिजनमा बजारको समस्या हुने, गाई भैंसीलाई दिइने दानामा चर्को मूल्य वृद्धि, ब्रिडको समस्यालगायत राज्यका नीतिगत समस्याले निरुत्साहित बनाएको पौडेलको गुनासो छ ।
डीडीसीले किसानबाट गाईको दूध सबैभन्दा सस्तोमा अधिकतम ६५ रुपैयाँमा खरिद गर्ने, तर आफूले फ्याट निकालेर झण्डै दोब्बरमा बिक्री गर्दा दूध उत्पादक किसान मारमा परेको र व्यवसाय संकटमा धकेलिएको पौडेलले गुनासो गरे ।
राज्यको किसानमैत्री नीति नहुँदा फार्मभित्र झण्डै १० करोड लागतमा बनेको ७ सय ५० किलोवाट विद्युत् उत्पादन गर्ने १५ सय घनमिटरको बायोग्यास प्लान्ट पनि बन्द भएको पौडेलले गुनासो गरे ।
प्लान्टबाट उत्पादन हुने विद्युत् स्थानीयलाई बिक्री गर्न पाउने वा विद्युत् प्राधिकरणले खरिद गरिदिने व्यवस्था नगरिदिंदा ठूलो मारमा परेको पौडेलले गुनासो गरे ।
यस्तै फार्मभित्र प्रांगारिक मल उत्पादन गर्न ३ करोड लगानीमा बनाइएको प्लान्ट पनि सरकारी नीतिकै कारण घाटामा गएको पौडेलले गुनासो गरे ।
फार्मबाट दैनिक संकलन हुने करिब १० मेट्रिक टन गोबरलाई प्रशोधन गरी प्रांगारिक मल बनाउने योजना भए पनि मलको खपतका लागि सरकारबाट कुनै सहयोग नभएको पौडेलले गुनासो गरे । राज्यका निकायले स्थानीयस्तरबाट उत्पादन भएको शुद्ध प्रांगारिक मललाई प्रवद्र्धन गर्नुको साटो उल्टै भारतबाट आयातित मललाई प्राथमिकता दिंदा मल उत्पादन पनि रोकिएको पौडेलको गुनासो छ । फार्मले इजरायली कम्पनीसँग मिलेर अन्तर्राष्ट्रिय मापदण्डका डेरी प्रोडक्टहरु उत्पादन गर्ने तयारी गरे पनि राज्यको संरक्षणमुखी नीति नहुँदा उक्त परियोजना पनि रोकिएको छ ।
इजरायलको एबीईएल कम्पनीसँगको साझेदारीमा ३५ करोड लगानीमा गाई फार्मसंगै डेरी प्लान्ट राख्न थालिएको थियो ।
तीन बिघा क्षेत्रफलमा स्थापना हुने डेरी प्लान्टबाट युरोयिन र अमेरिकन मापदण्डमा प्रशोधित दूध, दही, घिउ, मही, मिल्कसेक (बोतल दुध) र आइसक्रिम लगायतका परिकारहरु उत्पादन गरी कोक–फेन्टाको विकल्प दिने योजना थियो ।
प्रा.लि.ले डेरी प्लान्टसँगै खाद्यान्न परिकारहरु उत्पादनको तयारी पनि गरेको थियो तर उक्त परियोजना पनि रोकिएको छ ।फार्मले स्कुले बालबालिकाले खाजाको रुपमा बढी चाउचाउलगायतका जङ्क फूडको सेवनलाई नियन्त्रण गर्ने उद्देश्यले १० दिनसम्म नबिग्रने प्रविधिबाट खीर उत्पादन पनि गर्ने योजना बनाएको थियो, तर स्थानीय, प्रदेश र केन्द्र सरकारले कुनै सहयोग नगरेपछि त्यो पनि रोकिएको पौडेलले गुनासो गरे ।
फार्मले इजरायली कम्पनीसंगको साझेदारीमा प्रालिलाई दक्षिण एशियाकै नमूना एग्रो रिसोर्टको रुपमा विकास गर्ने सपनापनि देखेको थियो । एग्रो रिसोर्टमा सुविधासम्पन्न बेडरुम, रेष्टुरां, कन्फेरेन्स हलहरु,स्वीमिङ पूल, चिल्ड्रेन पार्क,एग्रो लाइब्रेरी, सपिङ मल आदि सुविधा उपलब्ध गराउने दीर्घकालीन लक्ष्य रहेको थियो । तर राज्यका निकायले प्रोत्साहनभन्दा दुःख र सास्ती दिने गरेकाले सबै योजना र उत्साह तुहिएको पौडेलले गुनासो गरे । एग्रो रिसोर्टमा लुम्बिनी आउने पर्यटकलाई समेत लक्षित गरेर सेवा उपलब्ध गराइने सोंच थियो ।
२३ बिघा जग्गामा रहेको गाई फार्ममा हालसम्म गाई खरिद र संरचना निर्माण , जग्गाको मूल्य समेत जोड्दा दुई अर्ब रुपैयाँ लगानी पुगेको संचालक पौडेल बताउँछन् ।
नेपालकै ठूलो गाई फार्मको रुपमा स्थापित भएपछि यो फार्म हेर्न देशका सबैजसो जिल्लाबाट विभिन्न क्षेत्रका मान्छेहरु दैनिक आउने गरेका थिए । सबैभन्दा धेरै संख्यामा गाई, मेसिनबाटै दूध दुहुने प्रविधि, आफ्नै दूध चिस्यान मेसिन र सरकारबाट उत्कृष्ट किसानका रुपमा विकास रत्न पदक र हालै मात्र जनसेवा श्री पदकबाट सम्मानित जस्ता कारणले पौडेलको फार्म देशभर चर्चित भएकाले हेर्न आउनेहरुको संख्या पनि ठूलो थियो ।
विगतमा दिनमा सरदर साढे दुईसय जनाका दरले अवलोकनकर्ताहरु फार्म हेर्न आउने गरेको संचालक पौडेल बताउंछन् । फार्म अवलोकनकर्ताबाट मात्रै प्रा.लि.ले वर्षमा साढे ४५ लाख आम्दानी गरेको थियो । तर केही वर्ष यता गाईको संख्या घटेसंगै अवलोकनकर्ताको संख्या पनि घटेको छ ।
विगतमा औसतमा दैनिक २ हजार लिटर दूध उत्पादन गरी बिक्री गर्ने प्रालिले अहिले करिब १२ सय लिटर दूध बिक्री गरिरहेको छ । पौडेलको फार्मको एउटा गाई एकलाख देखि डेढलाख रुपैयाँसम्ममा बिक्री हुने उनी बताउंछन् ।
सरकारी स्कूलको स्थायी शिक्षक पौडेल २०६७ साल बैशाखमा गाई फार्म सुरु गर्नुअघि सञ्चार गृह, बैंक र रियल स्टेट व्यवसायमा पनि थिए । बीचमा भीसा पाएर अमेरिका पनि पुगेका पौडेल फर्केर फेरि नेपालमै आएपछि गाईपालनमा हात हालेका हुन् । सुरुमा पाँचजना मिलेर दर्ता गरेको प्रालिबाट दुई जना त फार्म शुरु नहुंदै बाहिरिएका र बाँकी २ जना केही वर्षपछि सहमतिमै बाहिरिएका पौडेल बताउँछन् ।
पौडेलले अहिलेसम्म राज्यका नीति, नियम, कानुन र व्यवहारले नयाँ क्षेत्रमा केही गर्न खोज्ने उद्यमीलाई प्रोत्साहन गर्नेभन्दा निरुत्साहित गर्ने र त्यो पेशा व्यवसायबाटै हात झिक्ने बनाउने खालका रहेको दुखेसो पोखे ।
सरकारी नीति नियम, कर्मचारी प्रशासनको रवैया देख्दा त बेलाबेलामा पेशा नै छोडौं कि जस्तो सोंच आउने गरेको पौडेल स्वीकार्छन् । तर आफूले संयमता र धैर्यता अपनाएर देशका लागि केही नमूना काम गरेर देखाउन पनि यो व्यवसाय नछोड्ने दृढता व्यक्त गर्छन् ।




