स्याङ्जा । वालिङको एक सामुदायिक विद्यालयमा ‘पढ्दै, कमाउँदै’ कार्यक्रमअन्तर्गत नर्सरी स्थापना गरी बेर्ना (बिरुवा) उत्पादन थालिएकोे छ । स्याङ्जाको वालिङ नगरपालिका–१० फूलबारीस्थित पूर्णामृत भवानी माध्यमिक विद्यालय र भकुण्डेको न्यू गाउँबेशी बहुउद्देश्यीय सहकारी संस्थाको संयुक्त प्रयासमा नर्सरीमा बिरुवा उत्पादन गर्न थालिएको हो ।
विद्यालय र सहकारीले स्थापना गरेको नर्सरीमा विभिन्न प्रजातिका बेर्ना उत्पादन गरिंदै आएको छ । नर्सरी स्थापनामा आर्थिक सहयोग र बजारीकरणको जिम्मा सहकारीले लिएको छ । संस्थाले नाफा कमाउनु मात्रै होइन्, विभिन्न रचनात्मक र आयआर्जका लागि विद्यालयसँग सहकार्य गरेर बेर्ना उत्पादन गर्दै आएको सहकारी अध्यक्ष अर्जुन खनालले बताए ।
लगानी र बजारीकरणको जिम्मा सहकारीले लिएको छ भने उत्पादन कार्यमा विद्यालयका विद्यार्थी तथा प्राविधिक शिक्षकहरुले श्रमदान गर्दै आएका छन् । उत्पादित मौसमी तथा बेमौसमी तरकारीका बेर्ना, फलफूलका बिरुवाहरु सहकारीले बजारीकरण गर्दै आएको छ । बिरुवा बिक्रीबाट भएको नाफामध्ये ७० प्रतिशत विद्यार्थीलाई र ३० प्रतिशत सहकारी र विद्यालयलाई उपलब्ध गराइने छ ।
सहकारी र विद्यालयको संयुक्त अभ्यास जिल्लामा संभवत नौलो र पहिलो हो । स–साना विद्यार्थीले विद्यालयमा सिकेको सीपलाई घरमा पनि प्रयोग गरेर व्यावसायिक बन्नेमा र कार्यक्रम सहयोगी बन्नेमा सहकारीले विश्वास लिएको अध्यक्ष खनालले बताए । पछिल्लो सिजनमा विद्यार्थीले नर्सरीमा काउली, बन्दा, ब्रोकाउली, साग, बोडि, सिमीलगायतका तरकारीका बेर्ना उत्पादन गरेका छन् ।
बेर्ना बिक्रीबाट भएको आम्दानीबाट विद्यार्थीले शैक्षिक सामग्री खरिद तथा विद्यालयमा दिवा खाजाको व्यवस्था गरिएको विद्यालयका प्रधानाध्यापक दिपक लम्सालले बताए । विद्यालयमा सञ्चालित बाली विज्ञान विषयमा अध्ययनरत कक्षा ९ का विद्यार्थी तथा प्राविधिक शिक्षकको सहजीकरणमा बिरुवा÷बेर्ना उत्पादन गरिएको प्रधानाध्यापक लम्सालले जनाए ।
‘विद्यालय परिसरकै जग्गामा नर्सरी स्थापना गरी कृषिमा प्रविधिको प्रयोगबाट मौसमी तथा बेमौसमी तरकारी तथा फलफूलका बिरुवाहरु उत्पादन गर्न थालिएको छ,’ प्रधानाध्यापक लम्सालले भने–‘विद्यालयमा सैद्धान्तिक ज्ञानसँगै सिकेको प्रयोगात्मक ज्ञान सिक्नेलाई घर र समुदायमा पनि प्रयोगमा ल्याई उद्यमशीलताको विकास गर्नमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।’
पहिलो चरणमा चालु शैक्षिक सत्रबाट सुरु भएको नर्सरीलाई आगामी दिनहरुमा थप व्यवस्थित गरी विस्तार गर्दै लगिने लक्ष्य राखिएको छ । नर्सरीमा विद्यार्थीले गोलभेडा, काउली, ब्रोकाउली, बन्दालगायतका बेर्ना उत्पादन हुँदै आएको छ । अर्को सिजनमा च्याउ र नगदेबालीका कार्यक्रमहरु विस्तार गर्दै लगिने विद्यालयले तयारी गरेको छ ।
वालिङ नगरपालिकाले आफ्नो वार्षिक नीति तथा कार्यक्रममा नगरका एक दर्जन विद्यालयमा पढ्दै कमाउँदै कार्यक्रम सञ्चालन गर्दै आएको छ । कार्यक्रम लागू भएका विद्यालयले मौसमी कृषिजन्य वस्तु उत्पादन गर्दै आएका छन् । उत्पादित कृषिजन्य वस्तुको बिक्रीबाट दिवा खाजासँगै विद्यालयको भौतिक पूर्वाधार समेत निर्माण गरिएको नगरपालिकाले जनाएको छ ।




