बुटवल । बुटवल उद्योग वाणिज्य संघ, रुपन्देहीमा वालिङ उद्योग वाणिज्य संघ, स्याङ्जाको भ्रमण टोलीलाई स्वागत गरिएको छ । त्यस अवसरमा संस्थागत सम्बन्धलाई व्यवसायिक सम्बन्धमा रुपान्तरण गर्न सकिने धारणासहित रुपन्देहीले स्याङ्जा र स्याङ्जाले रुपन्देहीमा आफ्ना उत्पादित बस्तुहरुको बजार खोजेका छन् ।
स्याङ्जाबाट भ्रमणको यात्रामा निस्केको वालिङ उद्योग वाणिज्य संघको टोलीलाई बुटवलमा स्वागत गर्दै बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष हरिप्रसाद अर्यालले रुपन्देहीमा उत्पादन भएका औद्योगिक बस्तुहरुको स्याङ्जामा राम्रो बजार बन्ने विश्वास व्यक्त गर्दै स्याङ्जामा उत्पादन भएका कृषिजन्य बस्तुहरुलाई रुपन्देहीमा बजारीकरण गर्न सकिने भनाइ राखेका थिए ।
उनले उद्योग वाणिज्य संघहरुबिचको आपसी सम्बन्धलाई व्यापार व्यवसायमा पनि जोड्न सकियो भने त्यसले औद्योगिक तथा व्यवसायिक विकासमा समेत टेवा पुग्ने बताए । त्यसको लागि बुटवल उद्योग वाणिज्य संघ तयार रहेको पनि उनले जनाए ।
त्यसैगरी वालिङ उद्योग वाणिज्य संघ स्याङ्जाका अध्यक्ष चेतनारायण श्रेष्ठले पहिलेदेखि नै स्याङ्जा र रुपन्देही बिचमा संस्थागत तथा व्यवसायिक सम्बन्ध रहिआएको बताउँदै यो सम्बन्धलाई अझै मजबुद बनाउनु पर्ने बताए । उनले स्तरोन्नति हुँदै गरेको बुटवल–पोखरा सडक तथा सोही सडकमा पर्ने पाल्पा र स्याङ्जाको सिमाना राम्दीमा क्षमता वृद्धिसहित बन्दै गरेको पुलको निर्माण पूरा भएपछि व्यवसायिक सम्बन्धले अझै मूर्त रुप लिने विश्वास व्यक्त गरे । उनले वालिङमा परम्परागत कृषिजन्य उत्पादनसहित सुन्तला खेती रहेको जानकारी गराउँदै ती उत्पादनलाई बुटवलमा बजारीकरणमा सहयोग गर्न आग्रह गरे ।
कार्यक्रममा बोल्दै बुटवल उद्योग वाण्ज्यि संघका निवर्तमान अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य उज्ज्वलप्रसाद कसजूले यस क्षेत्रको औद्योगिक विकास तथा आर्थिक, सामाजिक विकासमा बुटवल उद्योग वाणिज्य संघले लगानीसहितको नेतृत्वदायि भूमिका निर्वाह गरेको जानकारी गराए । उनले औद्योगिक विकाससहित उद्योगी व्यवसायिका समस्या समाधानका लागि महासंघले पहल गरिरहेको बताउँदै महासंघको पहलकै कारण धेरै समस्या समाधान पनि भएको उल्लेख गरे । कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष टंकप्रसाद गैरे, महासचिव मुक्ति अधिकारीलगायतले आ–आफ्ना भनाइ राखेका थिए ।
त्यस अवसरमा संघका कार्यकारी निर्देशक मदनकुमार कार्कीले बुटवल उद्योग वाणिज्य संघको स्थापना, यसको विधानमा भएका व्यवस्था, सञ्चालित कार्यक्रम, सदस्यहरुको अवस्थालगायतका विषयमा प्रस्तुति गरेका थिए ।




