रुपन्देही । इस्माली समाज रुपन्देहीले “इस्मालीको सान, परम्परागत मौलिक संस्कृति हाम्रो पहिचान” भन्ने मूल नाराका साथ रुपन्देहीको तिलोत्तमा नगरपालिका–३, ड्राइभरटोलस्थित ब्ल्युबेल पार्टी प्यालेसमा बृहत् देउसी–भैलो कार्यक्रम–२०८२ सम्पन्न गरेको छ ।
कार्यक्रमको अध्यक्षता इस्माली समाज रुपन्देहीका अध्यक्ष कृष्ण जिसीले गरेका थिए भने इस्मा गाउँपालिका–१ का पूर्व अध्यक्ष चुराबहादुर खत्री प्रमुख अतिथिको रूपमा रहेका थिए ।
सह–सचिव पदम जिसीले सञ्चालन गरेको उक्त कार्यक्रममा समाजका वरिष्ठ उपाध्यक्ष लोकप्रसाद खरेलले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।
साँस्कृतिक कार्यक्रम संयोजक विष्णु घिमिरेको रहेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि खत्रीले इस्माली समाजले साँस्कृतिक परम्परा जगेर्ना गर्न, सामाजिक एकता मजबुत बनाउन र समुदायबिच समन्वय तथा सहकार्य बढाउन गरेको योगदानको प्रशंसा गर्दै आगामी दिनमा अझ ठूला सामाजिक कार्यमा अग्रसर रहोस् भन्ने शुभकामना व्यक्त गरेका थिए ।
त्यस्तै अध्यक्ष जिसीले समाजको स्थायी भवन निर्माणका लागि संस्थाले सक्रिय पहल गरिरहेको जानकारी दिए ।
“इस्माली समाज रुपन्देहीले इस्मालीहरूको हरेक सुख–दुःखमा काम गर्दै आएको र समाजले इस्मामा आगजनी-डढेलो पीडित तथा कोरोनाकालदेखि नै विभिन्न समयमा सहयोग पु¥याउँदै आएको छ ।”–जिसीले भने ।
कार्यक्रममा विविध साँस्कृतिक प्रस्तुति, देउसी भैलो, नृत्य तथा मनोरञ्जनात्मक कार्यक्रमहरू प्रस्तुत गरिएको थियो ।
इस्माली समाज रुपन्देहीका पदाधिकारी, सदस्यहरू, स्थानीय सरोकारवाला र अतिथिहरूको उल्लेखनीय सहभागितामार्फत् कार्यक्रम उत्साहपूर्ण र भव्य रूपमा सम्पन्न भएको थियो ।




