दाङ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दाङको गढवा गाउँपालिकामा अनुमतिभन्दा बढी ढुङ्गा, बालुवा उत्खनन् गरेको अभियोगमा दुई जनाविरुद्ध झण्डै एक करोडको भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगले गढवा गाउँपालिका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत लालबहादुर योगी र बज्रगुरु कन्स्ट्रक्सन कम्पनी प्रालिका प्रबन्ध निर्देशक लक्ष्मणकुमार रानाविरुद्ध आइतबार विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर हो ।
आयोगकाअनुसार गढवा गाउँपालिका–१ स्थित पत्रिङ्घाघाटदेखि जेठानगाउँसम्मको राप्ती नदी क्षेत्रबाट ढुंगा, गिट्टी, बालुवा, ग्राभेल र रोडा उत्खनन्का लागि २०७६ साल पुस १२ गते गाउँपालिका र बज्रगुरु कन्स्ट्रक्सन कम्पनीबिच ठेक्का सम्झौता भएको थियो ।
उक्त सम्झौताअनुसार कम्पनीले तोकिएको भन्दा बढी परिमाणमा नदीजन्य पदार्थ उत्खनन् गरेको अभियोगमा अख्तियारले उनीहरूविरुद्ध ९५ लाख ९८ हजार बिगो मागदाबी गरिएको छ ।
२०७७ साल साउनमा गाउँपालिकाका प्रतिनिधि र जिल्ला समन्वय समिति दाङको उपस्थितिमा गरिएको मापनअनुसार १ लाख १० हजार ६३८ घनमिटर नदीजन्य पदार्थको स्टक देखिएको थियो ।
सम्झौताभन्दा बढी उत्खनन् भएको परिमाणको राजस्व विभाज्य कोषमा जम्मा गर्न गाउँपालिकाले तीनपटक पत्राचार गरे पनि कम्पनीले रकम बुझाएको थिएन ।
तर प्रमुख प्रशासकीय अधिकृत योगीले गाउँ कार्यपालिकाको निर्णयविपरीत र कुनै कानुनी प्रक्रिया नअपनाई गाउँपालिकाको नाममा राखिएको ९५ लाख ९८ हजार बराबरको बैंक ग्यारेन्टी फुकुवा गर्न २०७८ साल पुस १२ गते नेपाल बंगलादेश बैंकलाई पत्राचार गरेका थिए ।
सो बैंक ग्यारेन्टी फुकुवा भएपछि गाउँपालिकाले राजस्व असुल गर्न नसकेको र सो प्रक्रिया अनियमित रूपमा भएको प्रमाण फेला परेको आयोगले जनाएको छ ।
आयोगले योगी र कम्पनीका प्रबन्ध निर्देशक रानाले मिलेमतो गरी गाउँपालिकाको राजस्व रकम हिनामिना गरेको, सरकारी सम्पत्तिमा हानि पु¥याएको र भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गतको कसुर गरेको ठहर गर्दै दुवै जनाविरुद्ध मुद्दा दायर गरेको हो ।
आयोगले विशेष अदालतमा दायर गरेको आरोपपत्रमा उनीहरूलाई प्रचलित कानुनअनुसार सजाय माग गरिएको छ ।
नदीजन्य पदार्थको ठेक्का लगाउने धेरैजसो स्थानीय तहमा गढवामा जस्तै अनुमतिभन्दा चार–पाँच गुणा बढी ढुङ्गा, बालुवा उत्खनन् हुने गरेको सम्बन्धित क्षेत्रका जानकारहरु बताउँछन् ।
पालिकासँग भएको सम्झौताको चार÷पाँच गुणा बढी ढुंगा, गिट्टी, बालुवा निकाल्ने, तोकिएको घाटगद्दीमा नलगी नजिकका क्रेसर उद्योगमा लगेर चोरी निकासी गर्ने गरेको उनीहरुको भनाइ छ । एउटै आर्थिक वर्षमा एउटै नदीको ठेक्काबाट करोडौं मूल्यको ढुंगा, गिट्टी, बालुवा अवैध उत्खनन् र चोरी निकासी हुने गरेको कतिपय जनप्रतिनिधिहरु समेत स्वीकार्छन् ।
यसबारे गहन अनुसन्धान हुने हो भने धेरै स्थानीय तहका नदीजन्य पदार्थ उत्खनन् ठेक्कामा बद्मासी र आर्थिक अनियमितता भेटिने उनीहरुको दाबी छ । नदीजन्य पदार्थको ठेक्कामा अधिकांश प्रमुख राजनीतिक दलकै नेता कार्यकर्ताको संलग्नता हुने गरेको छ ।
उता सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयको टोलीले छापा मारेको छ ।
आइतबार अख्तियारको विशेष टोलीले नगरपालिकाको कार्यालयमा छापा हानेर केही कागजातहरू नियन्त्रणमा लिएको छ । अनियमितता भएको भन्ने पटक–पटक गुनासो तथा उजुरी आएपछि अख्तियारले आइतबार छापा मारेको हो ।
स्रोतका अनुसार भोटेकोशी जलविद्युत् आयोजनासँग अस्पतालका लागि भन्दै नगरपालिकाका मेयर बालकृष्ण बस्नेतले ५ करोड लिएको आरोप छ । । धम्क्याएर अस्पतालका भनेर रकम लगेको तर उक्त रकम हिनामिना गरेको भन्ने सूचना आएपछि अख्तियारको टोली खटिएको थियो ।
अख्तियारले छापा मार्दा २० लाखको हिसाब किताब भेटिएन पनि बाँकी रकमबारे केही पनि हरहिसाब नभेटिएको स्रोतले बतायो । ‘प्रारम्भिक अनुसन्धानका क्रममा २० लाखको हरहिसाब देखिन्छ । बाँकी रकम कहाँ गयो, केही पनि उल्लेख छैन ।’– स्रोतले भन्यो ।




