भैरहवा । रूपन्देहीका १३ वटा उद्योगको विद्युत् काटिएपछि कामविहीन भएका श्रमिकहरु विस्तारै काममा फर्किदै छन् ।
डेडिकेटेड तथा ट्रंक लाइन विवादले विद्युत् प्राधिकरणले सप्लाई नै बन्द गरेपछि उद्योग ठप्प हुँदा प्रत्यक्ष र अप्रत्यक्ष रुपले जोडिएका श्रमिकको रोजिरोटी, बजारको माग र विकास निर्माण काममा सम्झौताअनुसारको उत्पादनहरुको माग पूरा गर्न बाध्य भएर लाइन जडान गरिएको हो ।
रुपन्देहीको पञ्चकन्यासहित हालसम्म ६ वटा उद्योगको लाइन जोडिएको छ । पञ्चकन्या समूहले आफ्नो दुई वटै उद्योग पञ्चकन्या प्लाष्टिक उद्योग, पञ्चकन्या स्टील इण्डष्ट्रिजको सोमबार बक्यौता वापतको एक किस्ता बुझाएपछि विद्युत् जडान भएको छ, यस्तै सिद्धार्थ पेटप्लाष्ट र श्याम प्लास्टिकले सोमबार बक्यौताको पहिलो किस्ता तिरेका हुन् । गोयन्का फुड्स र घराना फुड्सले पनि यस अघि नै किस्ता बुझाएर विद्युत् जडान गरेका थिए ।
उद्योगहरुले उद्योग सञ्चालन नै पहिलो प्राथमिकता राखेर किस्ता बुझाएका हुन् । ‘किस्ता बुझाउनु भनेको हामीले ट्रंक लाइन लिएको भने कदापी हैन, हामीलाई जबरजस्ती ट्रंकलाइनमा जोडिएको हो ।’–पञ्चकन्या समूहका महाप्रबन्धक देवेन्द्र साहुले भने ।
‘बुटवल भैरहवा करिडोरका उद्योगीको समस्या अन्य उद्योगी बन्द फरक हो, यो सरकारले बुझ्नुपर्छ । सबै उद्योगीहरुलाई एउटै डालोमा हाले यहाँको उद्योग प्रति अन्याय हुन्छ ।
आफ्नो गल्ती ढाकछोप गर्न विद्युत्ले उद्योगीमाथि यो लादेको हो । हामीले यो स्वीकर नगरेको कारण नै विद्युत् नियमन आयोग (इआरसी )मा न्यायको लागि निवेदन दिएका छौं ।’–साहुले भने
‘हामीले अघिल्लो शुक्रबारबाट उत्पादन ठप्प पारे पनि कर्मचारीलाई बिदा दिएका छैनौ । तलब पनि काट्दैनौ, दैनिक २ लाख ३० हजार खर्च गरी जेनेरेटर चलाएर क्वाटर र कार्यालयमा विद्युत् चलाएका छौं, न्यायालयप्रति विश्वास छ, हामी न्यायको लडाई लडिरहेका छौं ।’–साहुले भने
बुटवल भैरहवा क्षेत्रका उद्योगीहरुले विद्युत्को आन्तरिक लोड मिलान गर्नका लागि जानकारी विनै ट्रंक लाइनमा १६÷१७ वटा उद्योग जोडेको रहेछ । बक्यौताको लागि बिल मात्रै दिएको छ, सूचनाको हक प्रयोग गरी प्रमाण माग्दा समेत केही प्रमाण नदिएको उद्योगीहरुको भनाइ छ ।
उद्योगहरुले २०७२ माघदेखि २०७५ बैशाखसम्ममा डेडिकेटेड तथा ट्रङ्क लाइन प्रयोग बापतको प्रिमियम महसुलको पहिलो किस्ता बुझाएका हुन् । पञ्चकन्या प्लाष्टिकको २४ लाख ६३ हजार, पञ्जकन्या स्टीलको ५२ लाख १९ हजार, सिद्धार्थ पेटप्लास्टको १ करोड ८३ लाख र श्याम प्लास्टिकको ४९ लाख १० हजार रुपैयाँ बक्यौता रहेको छ । बक्यौतालाई २८ किस्तामा विभाजन गरी उद्योगहरुले पहिलो किस्ता तिरेका छन् ।
बाध्यात्मक अवस्थाका कारण बक्यौताको २८ किस्ता मध्ये एक किस्ता बापत दुई लाख ८० हजार रुपैयाँ तिरेपछि प्राधिकरणले दुई उद्योगमा लाइन जोडिदिएको पञ्चकन्या समूहका महाप्रबन्धक साहुले बताए ।
उद्योगी बिनाको वार्ता
डेडिकेटेड र ट्रंक लाइनको बक्यौता विवाद समाधानका लागि नेपाल सरकार र नेपाल उद्योग वाणिज्य महासंघबिच छलफल चले पनि छलफलमा यस क्षेत्रको कुनै पीडित उद्योगीको प्रतिनिधत्व नरहेको बताएका छन् ।
महासंघका अध्यक्ष चन्द्र ढकालले सोमबार अपराह्न सिंहदरबार पुगेर प्रधानमन्त्री सुशीला कार्कीलाई भेटी डेडिकेटेड फिडर र टंक लाइनको बक्यौतासम्बन्धी विवाद समाधानका लागि मध्यमार्गी प्रस्ताव गरिएको थियो । नेपाल विद्युत् प्राधिकरणले दिएको २८ किस्ताको सुविधालाई स्वीकार गरी एक किस्ता बराबरको रकमलाई धरौटीका रुपमा उद्योगहरुले बुझाएपछि काटिएको विद्युत्को लाइन तुरुन्त जोड्ने प्रस्ताव गरिएको थियो । धरौटी रकम बुझाएपछि उद्योगीहरु पुनरावलोकनमा जान पाउने छलफल भएको छ ।
छलफलमा विवादबारे जानकारी भएको उद्योगी नै भएकोले समावेश गरेको भए निश्कर्ष र न्यायको लागि सहज हुन्थ्यो, तर यस क्षेत्रको पीडितको प्रतिनिधित्व समावेश नगराएकोमा उनले दुःख व्यक्त गरे ।




