बुटवल । बुटवल क्षेत्रमा लजिस्टिक हब (सुख्खा बन्दरगाह) बनाउने सम्भाव्यताको बारेमा अध्ययन सुरु भएको छ । बुटवल क्षेत्रमा रहेका व्यवसायीहरुले पसल गरेको स्थानमा नै गोदाम राख्दा पूर्ण क्षमतामा काम गर्न नसकिरहेको निष्कर्णसहित लजिस्टिक हब निर्माणका लागि सरोकारवालासँग सम्भाव्यता अध्ययन सुरु भएको छ ।
ग्रीन ग्रोथ नेपाल (हरित विकास नेपाल)ले युके एडको सहयोगमा यस क्षेत्रका उद्योगी व्यवसायीलाई मध्यनजर गर्दै आवश्यकता अध्ययानको कार्य थालिएको हो । काठमाडौंको चोभारमा यसअघि नै निर्माण भएको लजिस्टिक हबको सफलतासँगै पश्चिम नेपालका जिल्लाहरुलाई समेत समेट्ने गरी बुटवल क्षेत्रमा निर्माणको पहल थालिएको हो ।
ग्रीन ग्रोथ नेपालले बुटवलका सरोकारवालाहरुसँग छलफल गरेको छ । बुटवल २ मैनाबगरमा रहेको बुटवल अटो इञ्जिनियरिङ एशोसिएसन रुपन्देही लुम्बिनीका सल्लाहकार कार्यसमितिसहित बैठक बसेर अटो क्षेत्रमा यसको आवश्यकताको बारेमा छलफल गरिएको हो ।
ग्रीन ग्रोथ नेपालका प्रोजेक्ट प्रीपरेसन एक्स्पर्ट सरोज बस्नेतले देशको पश्चिम बेल्टलाई सहज पहुँचमा पुराउन सकिने र देशकै ठूलो नाका बेलहीया नाका पनि रहेकोले जिस्टिक हब निर्माण गर्न सकिन्छ कि भनेर अनुसन्धान थालिएको बताए । कुनै पनि सामान आयात÷निर्यात गर्ने कार्य एकै स्थानबाट गर्न सकिने भएकोले यसको महत्व बुझाइएको उनले बताए ।
बुटवल अटो इञ्जिनियरिङ एशोसिएसन रुपन्देही लुम्बिनीका अध्यक्ष प्रेम गौचनले यसले व्यवसायीलाई केही थप स्थान प्राप्त गर्न सहयोगी हुने बताउँदै अझै अध्ययनपश्चात् यसको आवश्यकताको बारेमा बताउन सकिने जनाए । १४.५ बिघाह क्षेत्रफलमा रहेको बुटवल अटो इञ्जिनियरनिङ एशोसियसनमा अहिले ८ सय जना सदस्यहरु रहेको बताउँदै उनले यहाँ ४ सय प्लट रहेको, तर यो स्थान व्यवसायीलाई थोरै भएको तर्क गरे ।
निवर्तमान अध्यक्ष तुल्सीराम न्यौपानेले लजिस्टिकलाई मोतीपुर औद्योगिक क्षेत्रमा निर्माण गरेमा अझै सहज रुपमा प्रयोग गर्न सकिने उल्लेख गरे ।
युकेएडका प्रोग्राम म्यानेजर रजनी खड्काले सरोकारवालालाई यसको आवश्यकता छ वा छैन भन्ने जानकारी लिनुका साथै यसको बारेमा जानकारी गराउने उद्देश्यसहित अध्ययनमा आएको बताइन् । उनले बुटवल औद्योगिक क्षेत्र तथा अन्य औद्योगिक संघ संस्थासँग छलफल गरिने जनाइन् ।
चोभारमा लजिस्टिक हब २०७८ चैत २२ गते औपचारिक रूपमा उद्घाटन गरिएको हो । यसको उद्घाटन तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले गरेका थिए । यो बन्दरगाह नेपालको राजधानी क्षेत्र नजिकै अन्तर्राष्ट्रियस्तरको व्यापारिक केन्द्रको रूपमा विकास गरिएको हो ।
विश्व बैंकको ऋण सहयोगमा निर्माण गरिएको यस परियोजनाको कुल लागत करिब रु १.५४ अर्ब (१५४ करोड) रहेको छ । लगभग २३५ रोपनी (करिब ३५,००० वर्ग मिटर) क्षेत्रफलमा फैलिएको यो सुख्खा बन्दरगाहमा तीनवटा गोदाम, तीनवटा तौल मेशिन, ३५,००० वर्ग फुटको पार्किङ क्षेत्र, कन्टेनर यार्ड, प्रशासनिक भवन र वन–स्टप सेवा प्रणाली जस्ता सुविधा समावेश छन् । यसले आयात–निर्यातका सामानको भन्सार प्रक्रिया र ढुवानी व्यवस्थापनलाई सजिलो बनाउन, काठमाडौंलाई व्यापारिक केन्द्रका रूपमा स्थापित गर्न, र नजिकैको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसँग जोडिने सम्भावनालाई पनि बल दिएको छ ।




