बुटवल । बुटवलको मोतिपुर–सेमलार खानेपानी संस्थाको चुनावमा कांग्रेसको विद्रोही समूह र राष्ट्रिय स्वतन्त्र पार्टीको संयुक्त प्रगतिशील प्यानलले नेपाली कांग्रेस र नेकपा एमालेको संयुक्त गठबन्धनलाई पराजित गरेको छ ।
शुक्रबार राति सम्पन्न चुनावी परिणाम अनुसार १४ सदस्यीय कार्यसमितिमा उपााध्यक्ष, सहसचिव र एक सदस्य वाहेक सबै पद उक्त प्यानलले जितेको हो । अध्यक्षमा कांग्रेसबाट विद्रोह गरेका उम्मेदवार रास्वपाको समर्थनमा विजयी भएका छन् ।
बुटवल उपमहानगरपालिकाको वडा नं १४, १५ र १९ का १७ सय उपभोक्ता रहेको निर्वाचनमा १० धारा बराबर एकजना परिषद सदस्यका दरले १७१ मतदाता थिए । अध्यक्षमा नेपाली कांग्रेसबाट विद्रोह गरेर रास्वपा सहितको संयुक्त प्रगतिशील प्यानलको समर्थनमा कृष्ण थापाले ८८ मत पाएर निर्वाचित हुंदा गठबन्धनबाट नेपाली कांग्रेसका नरबहादुर मल्ल ७५ मत पाएर पराजित भएका छन् । मल्ल बुटवल १४ का कांग्रेस वडा सभापति हुन् ।
।
वरिष्ठ उपाध्यक्षमा गंगाबहादुर पौडेल,उपाध्यक्षमा शंकर पौडेल, सचिवमा मधुप्रसाद घिमिरे,कोषाध्यक्षमा छत्रबहादुर खत्री र सहसचिवमा पृथबहादुर थापा निर्वाचित भएका छन् । यस्तै महिला सदस्यहरुमा राधा कार्की खांण र सिता बस्नेत, अन्य सदस्यहरुमा राजकुमार गौतम र हरिप्रसाद खनाल विजयी भए भने लिलाधर दंगोरिया थारु गोलाप्रथाबाट निर्वाचित भए ।
यस्तै आन्तरिक लेखा समिति संयोजकमा विष्णुप्रसाद पाण्डे तथा सदस्यमा लक्ष्मण सेन निर्वाचित भए भने महिला सदस्यमा सरस्वती बुढा गोलाप्रथाबाट निर्वाचित भएका निर्वाचन समिति संयोजक खत्रीले जानकारी दिए ।
रास्वपाबाट निर्वाचित सचिव मधुप्रसाद घिमिरेले आफूहरुले उपभोक्ताको संस्थामा दुई ठूला दलको सिण्डिकेट नगरी सबै दलको सहमतिमा नेतृत्व चयनको प्रस्ताव राख्दा दश मत पनि नभएको दल भनेर होच्याएपछि आफूहरुले चुनावी प्रतिस्पर्धा गरेको बताए । रास्वपाको प्यानललाई दलगत समर्थन कसैको नरहेको तर परिवर्तनशील मतदाताको समर्थन रहेको घिमिरेले बताए ।
यसअघि ५ हजार मतदाता रहेको बुटवलकै नयांगाउं खानेपानी संस्थामा पनि रास्वपाले कांग्रेस एमाले गठबन्धनलाई चुनौति दिंदै ५७ मतको झिनो अन्तरले पराजित भएको थियो ।




