भैरहवा । रुपन्देहीको भैरहवामा जारी सातौं लुम्बिनी महोत्सव–२०८२ (उद्योग, व्यापार, कृषि तथा पर्यटन प्रवर्धन) मा हालसम्म ३५ हजार जना बढी दर्शकले अवलोकन गरेका छन् ।
चेम्बर अफ कमर्श, रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही) को आयोजनामा मंसिर ३ गतेदेखि सिद्धार्थनगर नगरपालिका–८ स्थित अञ्चलपुरमा महोत्सव सुरु भएको छ ।
मंसिर ६ गते (शनिबार) सम्म ३५ हजार बढी दर्शकले अवलोकन गरेको संस्थाका सचिव कृष्णप्रसाद पाण्डेले बताए ।
सचिव पाण्डेका अनुसार शनिबार १५ हजार बढी दर्शकले महोत्सवको अवलोकन गरेका छन् ।
त्यस्तै शनिबारसम्म करिब १ करोड बढीको कारोबार भएको संस्थाका कोषाध्यक्ष तथा महोत्सवको आर्थिक व्यवस्थापन उपसमिति संयोजक धिरजकुमार मल्लिकले जानकारी दिए ।
‘स्थानीय बजारमा खरिद गरौं, स्थानीय बजारको प्रवर्धन गरौं, स्वदेशी वस्तुको प्रयोग गरौं, स्वाभिमानी नेपालीको पहिचान बनाऔं’ भन्ने मूल नाराका साथ आयोजना गरिएको महोत्सव मंसिर २१ गतेसम्म सञ्चालन हुने चेम्बर अफ कमर्श, रुपन्देहीका अध्यक्ष तथा महोत्सव मूल आयोजक समितिका संयोजक सचिन रोक्काले बताए ।
महोत्सवले उद्योगी–व्यवसायी र उपभोक्तालाई जोड्न पुलको काम गर्ने अध्यक्ष रोक्काले जनाए । उनले महोत्सवमा ३ सय वटा स्टल रहेको जानकारी दिए ।
यसपटकको महोत्सवको मुख्य आकर्षण नेपालमै पहिलोपटक भियतनामबाट ल्याइएको ‘जलपरी’ र फिस टनेल प्रदर्शन रहेको छ । महोत्सवमा स्थानीयदेखि राष्ट्रिय कलाकारसम्मको प्रस्तुति रहेको संस्थाका पूर्वअध्यक्ष नारायणप्रसाद भण्डारीले जानकारी दिए ।




