परासी । एमसीए नेपालले न्यू बुटवल सबस्टेसन र १८ किलोमिटर प्रसारण लाइन निर्माण कार्य सुरु गरेको छ । बुधबार नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सुनवलमा आयोजित एक समारोहबिच निर्माण कार्यको शुभारम्भ गरिएको हो ।
एमसीसी नेपाल कम्प्याक्ट कार्यक्रमअन्तर्गत निर्माण गर्न लागिएका यी पूर्वाधारले नेपालको विद्युतीय सञ्जाललाई सशक्तीकरण गर्नुका साथै नेपाल र भारतबिच महत्त्वपूर्ण ऊर्जा व्यापार अन्तरसम्बन्ध स्थापना गर्नेछ ।
कार्यक्रममा अर्थमन्त्री रामेश्वरप्रसाद खनाल, नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डिन आर थम्प्सन, एमसीसीका आवासीय राष्ट्र निर्देशक डायन फ्रान्सिस्को, एमसीए नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्ट तथा स्थानीय जनप्रतिनिधि उपस्थित भए ।
कार्यक्रममा अर्थमन्त्री खनालले स्वच्छ ऊर्जामा पहुँचको विस्तार, क्षेत्रीय ऊर्जा व्यापारमा अभिवृद्धि तथा दीर्घकालीन आर्थिक वृद्धि हासिल गर्ने राष्ट्रिय लक्ष्यमा सहयोग दिने सरकारको प्रतिबद्धता यस आयोजनामा प्रतिविम्बित भएको बताए ।
‘थप भरपर्दो ऊर्जा प्रणाली निर्माण गर्ने कार्यमा एक प्रतिबद्ध साझेदारका रूपमा नेपालसँग उभिन पाउँदा संयुक्त राज्य अमेरिकालाई गर्व लागेको छ,’ नेपालका लागि अमेरिकाका राजदूत थम्प्सनले भने–‘प्रसारण लाइन तथा सबस्टेसन जस्ता आयोजनाले घरपरिवार तथा व्यवसायमा बत्ती बाल्न मात्र सघाउने नभई यस क्षेत्रभरि नै व्यापार, वृद्धि तथा प्रगतिका लागि अवसरहरू पनि सिर्जना गर्छ ।’
नेपालको ऊर्जा सुरक्षा सशक्त बनाउने सन्दर्भमा एउटा नयाँ अध्याय थपिएको एमसीए–नेपालका कार्यकारी निर्देशक विष्टले बताए । ‘प्रसारण लाइन तथा सबस्टेसनले ऊर्जा व्यापार विस्तार गर्न तथा नेपालीका लागि दीर्घकालीन लाभ दिलाउन नयाँ अवसरहरू सिर्जना गर्नेछन्’ उनले भने–‘नेपाल र अमेरिकी सरकारको एमसीसीसँगको निकटतम साझेदारीमा यस आयोजनाको कार्यान्वयन गर्न पाएकोमा एमसीए नेपाल गौरवान्वित छ र यसलाई सफल बनाउनमा प्रतिबद्ध छ ।’
८ किलोमिटर प्रसारण लाइनले ४०० केभी न्यू बुटवल सबस्टेशनलाई नेपाल–भारत सीमासँग जोड्नेछ । करिब पाँच करोड अमेरिकी डलरको लगानीमा निर्माण गरिने यी ऊर्जा पूर्वाधारले आगामी दशक भित्रमा १० हजार मेगावाट बिजुली निर्यात गर्ने लक्ष्य लिएको छ । ऊर्जा व्यापार सम्झौताअन्तर्गत स्वच्छ जलविद्युत् भारत निर्यात गर्नमा यसले सघाउनेछ ।
प्रसारण लाइन र न्यू बुटवल सबस्टेसनले नेपालमा बढ्दो रूपमा उत्पादन हुन थालेको जलविद्युत्लाई क्षेत्रीय बजारसँग जोड्ने हुँदा नेपालको आर्थिक भविष्यका लागि महत्त्वपूर्ण रहेको एमसीए नेपालले उल्लेख गरेको छ ।
नेपालको उच्च भोल्टेजयुक्त विद्युतीय सञ्जाललाई सशक्त बनाउँदै यस आयोजनाले घरपरिवार एवम् व्यवसायका लागि विद्युत् आपूर्ति थप भरपर्दो बनाउने छ । विद्युत् चुहावट घटाउनुका साथै नेपाललाई ऊर्जाको वैदेशिक व्यापार गर्न सक्षम बनाउने छ ।
यी सुधारबाट व्यवसाय सञ्चालनको खर्च घट्ने अपेक्षा गरिएको छ । कार्यक्रममा नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डिनआर थम्प्सनले नेपाल र अमेरिकाको यो सहकार्यले नेपालको आर्थिक तथा सामाजिक विकासमा टेपा पु¥याउने बताए ।
एमसीसी आवासीय राष्ट्र निर्देशक डायान फ्रान्सिस्कोले सव स्टेसन निर्माणसंगै नेपालको आर्थिक समृद्धि र रोजगारीको सृजना हुने बताइन् । डायानले ३ वर्षमा नेपालको ३ स्थानमा स्टेसन निर्माण र ३ सय किमि डबल सर्किट प्रशारण लाइन विस्तारसंगै दाङ जिल्लाको ४० किमी सडक निर्माण हुने जानकारी दिइन् ।
सवस्टेशनसंगै १८ किलोमिटर लामो प्रसारणले प्रसारण लाइनले ४०० केभी न्यू बुटवल सवस्टेसनलाई नेपालभारतसम्म सिमानासम्म जोड्ने छ । करिब पाँच करोड अमेरिकी डलरमा निर्माण गरिने उर्जा पूर्वाधारले एकदशकभित्र १० हजार मेगावाट निर्यातमा सहज हुने अपेक्षा गरिएको छ ।
यो आयोजना आगामी तीन वर्ष भित्रमा यि दुबै सम्पन्न हुने लक्ष्य लिएको छ । परियोजनाको दुई वर्ष समय अवधि सकिएको र आगामी तीन वर्षभित्रमा एमसिएअन्तर्गतका सबै आयोजना सम्पन्न गर्नुपर्ने छ ।




