बुटवल । प्रेस काउन्सिल नेपालले आर्थिक वर्ष ०७९÷८० को पत्रपत्रिका वर्गीकरण मूल्याङ्कनको नतिजा सोमबार सार्वजनिक गरेको छ ।
उक्त नतिजाअनुसार निजी क्षेत्रबाट निरन्तर प्रकाशित नेपालको पहिलो राष्ट्रिय दैनिक लुम्बिनी विगतमा जस्तै निरन्तर राष्ट्रिय ‘क’ वर्गमा सूचीकृत हुन सफल भएको छ ।
२०४५ सालदेखि प्रकाशन शुरु भई निरन्तर राष्ट्रिय ‘क’ वर्गमा सूचीकृत हुँदै आएको दैनिक लुम्बिनी नेपालकै पुरानो र प्रतिष्ठित राष्ट्रिय दैनिक हो ।
प्रेस काउन्सिल नेपालले प्रेस काउन्सिल ऐन, २०४८ को दफा १० बमोजिम गठित पत्रपत्रिका वितरण सम्परीक्षण समितिको वर्गीकरण मूल्याङ्कन प्रतिवेदनको आधारमा पत्रपत्रिका वर्गीकरण मूल्याङ्कनको प्रारम्भिक नतिजा सार्वजनिक गरेको हो ।
नतिजा उपर चित्त नबुझेको खण्डमा आधारप्रमाण सहित १५ दिनभित्र र दोब्बर दस्तुरमा थप ७ दिनको समयमा पुनरावलोकनको लागि निवेदन दिन सकिने प्रेस काउन्सिल नेपालका उपप्रशासकीय अधिकृत राधेश्याम अधिकारीले जानकारी दिए ।
आर्थिक वर्ष ०७९÷०८० को वर्गीकरण मूल्याङ्कनका लागि देशभरबाट ८९४ पत्रपत्रिकाले आवेदन दिएका थिए ।




