अविजित पन्थी
अर्घाखाँची
अर्घाखाँची जिल्लाका विविध धार्मिक, सांस्कृतिक तथा प्राकृतिक गन्तव्यहरूलाई समेटेर निर्माण गरिएको ‘मेरो अर्घाखाँची, हाम्रो अर्घाखाँची’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । यो सिर्जना अर्घाखाँची र पाल्पामा स्थायी रूपमा बसोबास गर्दै हाल काठमाडौंलाई कर्मथलो बनाएका संस्कृतिप्रेमीहरूको साझा पहलमा स्थापित श्री गोपाल सिद्ध लोक भजन पाणिनी समाजले ल्याएको हो ।
समाज विगत केही वर्षदेखि परापूर्वकालदेखि गाइँदै आएका पुराना भजनहरूको अभिलेखिकरण गर्दै आएको छ । साथै, नयाँ सिर्जनाहरू अडियो–भिडियोसहित बजारमा ल्याइने क्रम जारी राखेको छ । यी प्रयासहरूले समाजलाई लोकभजन प्रेमीहरूको माझ उल्लेखनीय चर्चा र रुचि प्राप्त गराएका छन् ।
यसपटक समाजले सार्वजनिक गरेको नयाँ गीत अर्घाखाँचीको धार्मिक, सांस्कृतिक र प्राकृतिक पहिचानलाई सशक्त रूपमा उजागर गर्ने उद्देश्यले तयार पारिएको छ । गीतका शब्द तथा लय समाजका अध्यक्ष शेशनारायण पोख्रेलले सिर्जना गरेका हुन् भने स्वरमा गोमा न्यौपानेले भावपूर्ण प्रस्तुति दिएक छन् ।
गीतको छायाँकन पाणिनी तपोभूमि, दह, दुर्वासेश्वर गुफा, अर्घा भगवती, मालारानी, बल्कोट पौवा, सुपादेउराली मन्दिर, खन दह, मृगस्थलीलगायत अर्घाखाँचीका ऐतिहासिक, धार्मिक र प्राकृतिक रूपमा महत्वपूर्ण स्थानहरूमा गरिएको हो । यी दृश्यहरूले अर्घाखाँचीको भौगोलिक सुन्दरता, आस्था, सांस्कृतिक जीवन्तता र पर्यटन सम्भावनालाई आकर्षक ढङ्गले प्रस्तुत गरेका छन् ।
भिडियोमा स्मारिका ढकाल, सुरेश कोली र गोमा न्यौपानेको नृत्य संयोजन रहेको छ भने सुरज खनालले निर्देशन गरेका छन् ।
भिडियोमा पाणिनी गाउँपालिकाका अध्यक्ष टेकराज न्यौपाने, उपाध्यक्ष नर्मदा पौडेल गौतम, पूर्व अध्यक्ष अचुत गौतम, पूर्व उपाध्यक्ष लक्ष्मी गौतम, पर्यटन प्रवर्धनमा सक्रिय अर्जुन पोखरेल, समाजसेवी तथा बौद्धिक व्यक्तित्व पत्रकार सहयोगी बिसीलगायतको उल्लेखनीय उपस्थिति रहेको छ । यी व्यक्तित्वहरूको सहभागिताले भिडियोको सांस्कृतिक, सामाजिक तथा भावनात्मक महत्वलाई अझ गहिरो बनाएको समाजले जनाएको छ । छायाँकन अवधिभर कलाकारहरूको बसोबास पाणिनी गाउँपालिकाको दुर्गाफाँटस्थित सगुन रिसोर्टमा गरिएको थियो ।
अध्यक्ष शेशनारायण पोख्रेलले गीत सार्वजनिक गर्दै यस गीतको मुख्य उद्देश्य अर्घाखाँचीको पर्यटन प्रवर्धन, स्थानीय पहिचानको प्रचार–प्रसार र मौलिक संस्कृतिको नयाँ पुस्तासम्म पु¥याउनु रहेको बताए । हामी यस प्रकारका मौलिक, विविधता भएका सांस्कृतिक सिर्जनाहरूको निरन्तरता दिँदै आगामी दिनहरूमा थप व्यवस्थित रूपमा लोक भजन र परम्परा संरक्षणमा योगदान गर्ने प्रतिबद्धता पनि उनले गर ।
समाजका अनुसार, यो गीतले अर्घाखाँची जिल्लाको सांस्कृतिक पहिचान, धार्मिक आस्था र प्राकृतिक सौन्दर्यलाई राष्ट्रिय मञ्चमा प्रस्तुत गर्ने महत्व राख्दछ । स्थानीय भजन, नृत्य र दृश्य संयोजनमार्फत भिडियोले भूगोलिक विविधता, झरना–दह–गुफा–मन्दिर जस्ता पर्यटन स्थलहरूको आकर्षण र स्थानीय जीवनशैलीलाई व्यापक रूपमा प्रतिनिधित्व गरेको छ ।
भिडियोले जिल्लाको सांस्कृतिक आत्मा, धार्मिक श्रद्धा र प्रकृतिको सौन्दर्यलाई मात्र प्रस्तुत गरेको छैन, यसले युवापुस्तामा मौलिक पहिचानप्रतिको अभिमान र सांस्कृतिक जरा–मूलप्रति चासो जगाउने महत्त्वपूर्ण भूमिका निभाउने अपेक्षा गरिएको समाजले जनाएको छ ।
स्थानीय कलाकर्मीदेखि परम्परा बोकेका वरिष्ठद्वारा गरिएको यस्तो सामूहिक पहलले अर्घाखाँचीलाई सांस्कृतिक अभियानको नयाँ क्षितिजतर्फ अग्रसर गराउने विश्वास पनि व्यक्त गरिएको छ ।




