बुटवल । नेपाली संगीतका महागुरु, स्वरसम्राट नारायणगोपालले नेपाली आधुनिक गीत–संगीतमा पु¥याएको अमूल्य योगदानको सम्मानस्वरूप बुटवलमा उनीप्रति समर्पित विशेष कार्यक्रम हुने भएको छ।
रागश्री संगीतालयले आयोजना गर्ने उक्त कार्यक्रम नारायणगोपालको ३५ औँ स्मृति दिवसको अवसर पारेर आगामी शुक्रबार गर्न लागिएको हो।
रागश्री संगीतालयका सञ्चालक सुरेश सेन्चुरीले नेपाली संगीत क्षेत्रमा अमूल्य योगदान पुर्याएका स्वरसम्राट नारायणगोपाल प्रति सम्मान व्यक्त गर्दै विशेष स्मृति कार्यक्रम आयोजना गरिएको बताए।
रागश्री संगीतालयद्वारा आयोजना हुने स्मृति कार्यक्रममा बुटवल उपमहानगरपालिका नगर कार्यपालिकाको सहकार्य गरेको छ।
स्वरसम्राट नारायणगोपाल नेपाली संगीत इतिहासका सर्वाधिक लोकप्रिय एवं सम्मानित व्यक्तित्व मानिन्छन्। ‘ए माझैले’, ‘उकाली ओराली’, ‘यो मन तिम्रै हो’, ‘केही मिठो बात गर’, ‘पिरतीको डोरी’लगायतका कालजयी गीतका कारण उनी नेपाली संगीतको सांस्कृतिक पहिचानकै रूपमा स्थापित छन्।
बुटवलमा पहिलोपटक यसरी संस्थागत रूपमा व्यापक स्मृति कार्यक्रम आयोजना हुन लागेकाले स्थानीय संगीतकर्मीले यसलाई सकारात्मक पहलका रूपमा स्वागत गरेका छन्।
रागश्री संगीतालयले कार्यक्रम मार्फत नयाँ पुस्तालाई नारायणगोपालको कलात्मकता, शैली र योगदानबारे जानकारी गराउँदै नेपाली संगीत संरक्षण तथा प्रवर्द्धनमा योगदान गर्ने लक्ष्य राखेको छ।
आयोजक संस्था रागश्री संगीतालयले कार्यक्रमका विस्तृत तयारी पूरा भइसकेको बताउँदै सबैलाई सहभागिताका लागि आह्वान गरेको छ।




