२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

पाणिनिमा स्थानीय सहभागितामै दिगो विकास

पाणिनिमा स्थानीय सहभागितामै दिगो विकास

पाणिनिमा स्थानीय सहभागितामै दिगो विकास

पाणिनिमा स्थानीय सहभागितामै दिगो विकास

पाणिनिमा स्थानीय सहभागितामै दिगो विकास
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, मंसिर १९ २०८२
शुक्रवार, मंसिर १९ २०८२
  • अविजित पन्थी
    अर्घाखाँची 
    पाणिनि गाउँपालिका वडा नम्बर ७, अर्घाखाँचीले आर्थिक वर्ष २०८२ र २०८३ का लागि स्वीकृत विकास निर्माण योजनाहरूलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने उद्देश्यले एकदिवसीय उपभोक्ता समिति अभिमुखीकरण, योजना सम्झौता तथा बैंक खाता खोल्ने कार्यक्रम सम्पन्न गरेको छ ।  

    उपभोक्ता समितिलाई योजना सम्झौता, कागजात प्रक्रिया तथा बैंक खाता खोल्न गाउँपालिकाको केन्द्र दुर्गाफाँटसम्म धाउनुपर्दा समय, खर्च र झन्झटका कैयौँ समस्या आइपर्थे । टाढा–टाढाबाट आउने उपभोक्ता समितिका सदस्यहरूका लागि यात्रामा लाग्ने अतिरिक्त खर्च, काम गर्ने समयमा कमी, पुनः कागजात बुझाउनुपर्ने चुनौती र प्रशासनिक असहजता सामान्य समस्याकै रूपमा थियो । यिनै वास्तविकता र जनसुविधालाई प्राथमिकता दिँदै गाउँपालिकाले वडामै पुगेर योजना सम्झौतादेखि बैंक खाता खोल्ने सबै प्रक्रिया सम्पन्न गरिदिएको हो । यसले उपभोक्ताहरूलाई सहज, सरल र प्रत्यक्ष सेवा उपलब्ध गराएको छ, जसले योजनाहरू समयमै सम्पन्न हुने सुनिश्चिततामा पनि सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।


    कार्यक्रमको अध्यक्षता वडा नम्बर ७ का वडाध्यक्ष गुनाखर अधिकारीले गरेका थिए । उनले वडामा यस वर्ष १४ वटा उपभोक्ता समितिहरू गठन भइसकेको र ती १४ वटै योजनाहरूको लागत अनुमान तयार भई कार्यान्वयन प्रक्रियामा प्रवेश गरेको जानकारी गराए ।  


    गाउँपालिकासम्म पुग्न टाढा भएकाले वडाबाटै सम्झौता तथा खाता खोल्ने व्यवस्था हुँदा उपभोक्तालाई ठूलो राहत भएको उनको भनाइ थियो ।  ग्लोबल आइएमइ बैंक दुर्गाफाँट शाखाको टोली वडामै आएर सेवा दिनु उपभोक्तामै सेवा पु¥याउने उत्कृष्ट पहल भएको उनले उल्लेख गरे । वडाध्यक्ष अधिकारीका अनुसार गतवर्ष योजनाहरू छिटो सम्पन्न गर्ने वडामध्ये वडा नम्बर ७ पहिलो स्थानमा आएको थियो, र यस वर्ष पनि त्यही परम्परा कायम रहने अपेक्षा गरिएको छ ।


    कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष टेकराज न्यौपानेले उपभोक्ताकै घरदैलोमा सेवा पु¥याउने यो अभ्यास स्थानीय शासनको मौलिक सफलताका रूपमा स्थापित भइरहेको बताए । गाउँपालिकाको केन्द्रसम्म टाढा–टाढाबाट आउँदा उपभोक्ताहरूले झेल्ने कठिनाइ हटेर योजना सम्झौता, अभिमुखीकरण र बैंक सेवा एकै दिन वडामै उपलब्ध हुनु विकास प्रक्रियामा समय र स्रोत दुवैको बचत हुने उनको धारणा थियो । उनकाअनुसार, स्थानीय तहले विकास निर्माणमा पारदर्शिता, जिम्मेवारी र जनसहभागिताको संस्कृतिलाई संस्थागत गर्नुपर्छ, र उपभोक्तामै पुगेर सेवा दिने यो अभ्यास त्यही दिशातर्फको महत्वपूर्ण कदम हो ।


    विशिष्ट अतिथि गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत सुवर्ण खनालले नेपालले किन उपभोक्ता समिति मोडेल अपनायो भन्ने सैद्धान्तिक पक्षबारे विस्तृत प्रष्ट्याए । विकसित देशहरूमा विकास निर्माणका सबै काम टेन्डर प्रक्रियामार्फत् ठेकेदारद्वारा सम्पन्न हुने र नागरिकको भूमिका कर तिर्ने तथा निगरानी गर्ने तहमा सीमित रहने बताउँदै उनले नेपालजस्तो विकासोन्मुख मुलुकमा स्थानीय जनशक्तिको सहभागिता, रोजगारी सिर्जना र कामको दिगोपन अत्यधिक महत्त्वपूर्ण हुने भएकाले उपभोक्ता समिति मोडेल उपयुक्त छ भन्ने तर्क प्रस्तुत गरेका थिए । उनका अनुसार, उपभोक्ता समितिमार्फत् स्थानीयमै काम गराउँदा संरचनाको माया, संरक्षण र स्वामित्व बढ्छ, जसले कामको गुणस्तर र दीर्घकालीन उपयोगक्षमतामा प्रभाव पार्छ । साथै, कानुनी प्रक्रिया, अभिलेख, खर्चका शीर्षक, कागजातको व्यवस्थापन र योजनाको वित्तीय पारदर्शिताबारे पनि उपभोक्तालाई सचेत रहन आग्रह उनले गरे ।


    लेखा अधिकृत मोहन खनालले खर्चका शीर्षक, वित्तीय अनुशासन र भुक्तानी प्रक्रियासम्बन्धी व्यावहारिक पक्षमा जानकारी दिँदै उपभोक्ता समिति नै वित्तीय पारदर्शिताको प्रमुख जिम्मेवार रहेको उल्लेख गरे । अनावश्यक खर्च कटौती गरी सबै स्रोत विकास निर्माणमै केन्द्रित गर्न सकिए योजना दिगो र गुणस्तरीय बन्दछ भन्ने उनको जोड थियो ।


    भौतिक पूर्वाधार शाखा प्रमुख उमानाथ पौडेलले उपभोक्ता समिति विकासका साझेदार भएको बताएका थिए । उपभोक्ता भनेको लाभग्राहीहरूको समूह भएको र उनीहरूले आफै योजना बनाउने, सञ्चालन गर्ने र संरक्षण गर्ने प्रणाली स्थानीय विकासका लागि सबैभन्दा प्रभावकारी मोडेल भएको उनले व्याख्या गरे । खानेपानी, सडक, विद्यालय, मठमन्दिरजस्ता संरचनाहरू जनताको साझा सम्पत्ति भएकाले ती संरचनाहरू जोगाउने, माया गर्ने र दीर्घकालसम्म टिकाइ राख्ने दायित्व सबै उपभोक्ताको भएको उनको भनाइ थियो । गाउँपालिकासम्म धाउनुपर्ने झन्झट हटेर वडामै योजना सम्झौता गर्न सकिँदा समय, पैसा र श्रमको बचत हुने, जसले बचेको स्रोत विकासमा नै लगाउन सकिने उनको जोड थियो ।


    आन्तरिक लेखा परीक्षण शाखा प्रमुख रामचन्द्र चुँदालीले योजनाको वित्तीय व्यवस्थापनमा कडाइ अत्यावश्यक रहेको स्पष्ट पारे । लागत अनुमानमा तोकिएको काम अनुकूल नबने वा समयमै काम सम्पन्न नभए बेरुजु आउँने भन्दै उनले उपभोक्ता समितिलाई अत्यन्त सावधानीपूर्वक काम गर्न आग्रह गरे । म्याद थप नभएर काम ढिलो हुँदा पनि बेरुजु देखापर्ने भएकाले योजना सम्झौतामा उल्लेखित सबै प्रावधान र मापदण्डको कडाइका साथ पालन गर्नुपर्ने उनको तर्क थियो । कागजात व्यवस्थापन, बिल–भौचर, सार्वजनिक लेखापरीक्षण र खर्चको पारदर्शिताबारे पनि उनले विस्तृत रूपमा जानकारी दिए ।


    कार्यक्रममा राजनीतिक दलका प्रतिनिधि, स्थानीय जनप्रतिनिधि, पत्रकार, कर्मचारी र उपभोक्ता समितिका सदस्यहरूको उल्लेख्य सहभागिता रहेको थियो । सहभागीहरू अत्यन्त उत्साहित देखिन्थे । धेरै उपभोक्ताले योजना सम्झौता, वित्तीय प्रक्रिया, बैंक खाता खोल्ने प्रणाली, अभिलेख व्यवस्थापन र विकास निर्माणमा सावधानी अपनाउनुपर्ने विषयमा विस्तृत बुझाइ पाएको बताए । 
    समग्रमा, वडा नम्बर ७ ले स्थानीय तहमै सेवा पु¥याउने अभ्यासलाई सुदृढ बनाउँदै विकास व्यवस्थापनलाई सहज, पारदर्शी र जनमैत्री बनाएको छ । योजना सम्झौता, बैंक खाता खोल्ने तथा अभिमुखीकरण वडामै सम्पन्न हुनुले स्रोत, समय र श्रमको बचत मात्र होइन, कामको स्वामित्व, दिगोपन र जनसहभागिता बढाउने मार्ग प्रशस्त गरेको छ । 


    गतवर्ष छिटो योजना सम्पन्न गर्ने अग्रणी वडाको रूपमा स्थापित वडा नम्बर ७ ले यस वर्ष पनि त्यही उपलब्धि कायम गर्ने दृढ संकेत दिएको देखिन्छ । पाणिनी गाउँपालिकाले पालिकाबाट टाढा टाढा रहेका वडाहरूमा वडामै गएर योजना सम्झौता गर्ने काम गरिरहेको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij