बुटवल । रुपन्देहीमा सञ्चालित क्यासिनोहरुमा बेथिति बढ्न थालेको छ । प्रशासनले प्रभावकारी नियमन नगर्दा क्यासिनो नियमावलीको उल्लंघन हुने क्रम बढेको छ । नेपाली नागरिकलाई प्रवेश दिने, कर छल्ने र सुरक्षा मापदण्ड पालना नगर्ने जस्ता समस्या देखिएका छन्, जसले गर्दा केही क्यासिनोका विवाद अदालतसम्म पुगेका छन् ।
गत महिनामा भैरहवास्थित निर्वाणा होटलमा सञ्चालित गोल्डेन स्टार क्यासिनोमा नेपाली र भारतीय ग्राहकबिच भएको सामान्य विवादले उग्ररूप लिएको थियो । विवादपछि भारतीय ग्राहकले होटलको गेट बाहिर नेपाली ग्राहकलाई लक्षित गरी गोली प्रहार गरेका थिए । तर गोली नलागेकाले अप्रिय घटना हुन पाएन । यो घटनाले क्यासिनोहरुमा सुरक्षा व्यवस्थाको कमजोरीलाई उजागर गरेको छ ।
हालै मात्र भैरहवास्थित होटल एसियन बुद्ध मातहत रहेको इलिगेन्ट इन्टरटेन्मेन्ट सेन्टर (क्यासिनो) को विवाद पनि प्रशासनको प्रभावकारी नियमन अभावमा अदालतसम्म पुगेको छ । प्रशासनले क्यासिनोका सञ्चालकभन्दा अरु व्यक्तिसँग सम्पर्क र हिमचिम बढाउने, उनीहरुकै कुरा सुन्ने गरेकाले मनोबल बढेर मुख्य लगानीकर्तामाथि नै अनुचित ढंगले हावी हुने गरेको पाइएको छ ।
उक्त क्यासिनोकी अध्यक्ष अञ्जु गुरुङलाई पदबाट हटाउनका लागि सञ्चालक विजय उत्प्रेतीले विशेष साधारणसभा बोलाएका थिए, जसमा अध्यक्षको अनुमति नै लिइएको थिएन । यसपछि गुरुङले उच्च अदालत तुल्सीपुर बुटवल इजलासमा मुद्दा दायर गर्दै साधारणसभा रोक्न र पुराना माइन्यूटहरु यथास्थितिमा राख्न माग गरेकी छिन् । अदालतले सबै काम कार्बाही यथास्थितिमा राख्न आदेश गर्दै दुबै पक्षलाई यहि २२ गते छलफलकालागि बोलाएको अदालत स्रोतले बताएको छ । योसँगै क्यासिनोमा जालझेल र किर्ते कागजातको आधारमा आफ्नो सेयर नै हडप्ने खेलमा लागेको भन्दै गुरुङले जिल्ला अदालत रुपन्देहीमा समेत मुद्दा हालेको क्यासिनो स्रोतको दाबी छ ।
स्रोतका अनुसार, क्यासिनोका कर्मचारी समिर शर्मा र होटल एसियन बुद्धका निर्देशक तिलकराम घिमिरे यो प्रकरणमा जोडिएका मुख्य व्यक्ति हुन् । उनीहरुले अन्य सञ्चालकहरु दिनेश भण्डारी, विजय उत्प्रेती र वीरबहादुर थापालाई प्रभावमा पारेर गुरुङलाई हटाउने प्रपञ्च रचेको गुरुङ पक्षको गुनासो छ । गुरुङ क्यासिनोकी मुख्य लगानीकर्ता हुन् ।
गोली काण्डपछि जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी (सीडीओ) माधवप्रसाद पोखरेलले क्यासिनो सञ्चालकहरुलाई कडा निर्देशन दिएका थिए । सुरक्षा जाँचलाई कडा बनाउन, भारतीय नक्कली आधारकार्ड प्रयोग गरी प्रवेश गर्ने नेपालीहरुलाई रोक्न र क्यासिनो नियमावली, २०८२ का सबै शर्त तथा मापदण्ड पालना गर्न निर्देश दिइएको थियो । तर, क्यासिनो सञ्चालकहरुले यसको पालना गरेको देखिएको छैन ।
प्रशासनले क्यासिनोहरुलाई आकस्मिक लाभकर दाखिला अवस्था, आधारकार्ड प्रयोग गरी प्रवेश गर्ने नेपालीहरुको विवरण, प्रतिबन्धित भारतीय नोटको कारोबार भए÷नभएको जानकारी, न्यूनतम ६ महिनाको सीसीटीभी अभिलेख, गत आर्थिक वर्षको कर चुक्ता प्रमाणपत्र र चालु वर्षको इजाजत नवीकरणको प्रमाण बुझाउन निर्देशन दिएको छ । यद्यपि, यी निर्देशनहरुको कार्यान्वयनमा ढिलाइ भइरहेको छ । प्रशासनले बेथितिहरुलाई बेवास्ता गर्दा क्यासिनोहरुमा बेथिति र विवाद बढ्दै गएको छ ।
रुपन्देही जिल्लामा हाल लाकौल, निर्वाणा, मौर्य, नान्स, एसियन बुद्ध, टाइगर प्लेस, भैरहवा गार्डेन र ड्रिमल्याण्ड गोल्ड रिसोर्टमा क्यासिनोहरु सञ्चालनमा छन् । यी क्यासिनोहरुमा नियमित अनुगमन र नियमनको अभावले थप समस्या निम्त्याउने खतरा बढेको स्थानीयहरु बताउँछन् । प्रशासनले यस विषयमा थप कदम चाल्नुपर्ने माग उठेको छ ।




