बुटवल । रुपन्देहीका उद्योगी–व्यवसायी तथा विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधिहरुले दशकौंदेखि बुटवलको पुसे औद्योगिक प्रदर्शनी तथा महोत्सवले आफ्नो ब्राण्ड बनाएकोले त्यसलाई कायम राख्न अहिलेको आयोजक संस्था रुपन्देही उद्योग संघलाई सुझाव दिँदै सहकार्यका लागि तयार रहेको प्रतिबद्धता जनाएका छन् । उनीहरुले पुसको प्रदर्शनी यो क्षेत्रको व्यवसायिक पहिचान मात्रै नभएर बलियो ब्राण्ड भएकाले पनि यसमा कुनै स्तर कम नहुनेगरी स्टलहरुलाई सहभागी गराउन र त्यसको आन्तरिक व्यवस्थापनमा चुस्त योजना बनाउन सुझाएका हुन् ।
पुस ३ गतेदेखि १७ गतेसम्म बुटवल मण्डमा संघले आयोजना गर्न लागेको १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवका विषयमा यस क्षेत्रमा रहेका संघसंस्थाहरुसँगको अन्तरसंवादमा सहभागीहरुले यहाँबाट सुरु भएको प्रदर्शनी र महोत्सवको पहिचान अहिले देशैभरी भए पनि यो तहमा कसैले गर्न नसकेकोले अझै त्यसमा परिस्कृत गराउनेगरी योजना बनाउन र बुटवल क्षेत्रलाई दीर्घकालीन रुपमा पर्यटन र प्रविधिमा प्रभाव पार्नेखालका कार्यक्रम अघि सार्न आग्रह गर्दै त्यसमा हातेमालो गर्न तयार रहेको प्रतिबद्धता जनाएका हुन् ।
‘समृद्ध नेपाल निर्माणको आधार, स्वदेशी उद्यमशिलताको विस्तार’ नारा राखेर संघले आयोजना गर्न लागेको यो प्रदर्शनीमा स्वदेशी मात्रै उद्योगहरुलाई राख्ने प्रतिबद्धतालाई सम्मान गर्दै किर्ते स्टल राखेर बाहिर उत्पादन भएका वस्तु बिक्री नगराउन र समय गुज्रेका वस्तुहरु बेच्ने ठाउँको रुपमा विकास गर्ने वातावरण रोक्न उनीहरुको आग्रह थियो ।
कार्यक्रममा बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्यालले नवप्रवर्धनमा जोडिएका युवा उद्यमीहरुलाई सहभागी गराएर अहिले बढिरहेको निराशा अवलोकनकर्तामार्फत् चिर्नुपर्ने बताउँदै हिजोको ब्राण्ड जोगाएर व्यवस्थापकीय विषयलाई ध्यान दिँदै संस्थागत सहकार्यबाट अघि बढ्न सुझाव दिए ।




