भैरहवा । सोमबारदेखि भैरहवा भन्सारको काम ठप्पसँगै मंगलबारदेखि देशभरका भन्सार कार्यालय मंगलबारदेखि काम ठप्प भएको छ । भन्सार एजेन्ट महासङ्घको आह्वानमा देशभरका सबै कार्यालयको भन्सार जाँचपास ठप्प भएको हो ।
आइतबार वीरगंजमा एक एजेन्टका कर्मचारीले जाँचपास गर्दा गलत कागज समावेश गरी जरिवानामा परेपछि उत्पन्न समस्याहरुले वीरगञ्ज भन्सार कार्यालयमा काम भएन, सोमबार सोही समस्या सबै कर्मचारीमा हुन सक्ने भएपछि भैरहवामा पनि काम भएन ।
भैरहवाबाट अतिआवश्यक मालवाहक र केही पेट्रोलियम पदार्थको गाडी मात्रै जाँचपास भएको छ । भन्सार एजेन्ट महासंघ नेपालले विज्ञप्ति निकाल्दै नेपाल सरकारले भन्सार ऐन २०८२ को मस्यौदा तयारी गर्दाको समयदेखि नै भन्सार एजेन्ट महासंघ नेपालले मुलुकको अन्तर्राष्ट्रिय व्यापार सहजिकरण, भन्सार एजेन्टहरुको पेशा÷व्यवसायगत हकहितका सम्बन्धमा भन्सार विभाग, अर्थ मन्त्रालयलगायत अन्य सरोकारवाला निकायहरुमा ऐनमा समेटिनु पर्ने विषयहरुका सम्बन्धमा पटक–पटक ध्यान आकर्षण गराएकोमा हाम्रा मागहरुलाई बेवास्था गर्दै जारी भएको भन्सार ऐन २०८२ मा उल्लेखित दफाहरुमा भन्सार एजेन्ट सेवाको क्षेत्रमा आबद्ध भन्सार एजेन्ट इजाजत पत्र प्राप्त व्यक्तिलाई हतोत्साहित पार्ने खालका दण्ड जरिवानाका प्रावधानले एजेन्ट पेशा÷व्यवसायलाई प्रत्यक्ष असर पर्न जाने प्रति भन्सार एजेन्ट महासंघ नेपालको ध्यानकर्षण गराउदै आएको बताए ।
भन्सार ऐन २०८२ मा समावेश गरिएका कतिपय प्रावधानहरुले भन्सार एजेन्टहरुको पेशागत हकहित, काम गर्ने सहजता तथा अन्तर्राष्ट्रिय व्यापार सहजीकरणमा समेत नकारात्मक असर पुर्याउने वातावरण सृजना भएको हुँदा विरोध स्वरूप भन्सार एजेन्ट महासंघ नेपालद्वारा मिति २०८२ मंसिर २३ गतेदेखि देशभरका भन्सार कार्यालयहरुमा पेन डाउनलगायतका विरोध कार्यक्रम सार्वजनिक गर्न बाध्य भएको अध्यक्ष प्राचीन थैवले बताए । ‘उत्पन्न परिस्थितिलाई नेपाल सरकार, अर्थ मन्त्रालय, भन्सार विभागले समयमै समाधानका लागि पहल कदमी लिने अपेक्षा गर्दछौं । हामीले उठाएका मागहरुलाई समयमै समाधान नगरिए आन्दोलनका थप कार्यक्रम सार्वजनिक गर्न बाध्य हुने व्यहोरा समेत विज्ञप्तिमार्फत् ध्यानाकर्षण गराईएको छ ।’– उनले भने ।
योसँगै देशमा हुने सबै प्रकारका मालवस्तुको आयात निर्यात रोकिएका छन् । तर लामो समयसम्म लबिङ गर्दा पनि निर्णय सच्याउनेतिर कुनै ध्यान नदिएपछि भन्सार जाँचपास नै अवरुद्ध गर्नुपरेको भन्सार एजेन्ट महासंघले जनाएको छ ।
महासंघले भन्सार ऐनमा भएका अव्यवहारिक व्यवस्थाहरू, सर्भरमा देखिएको निरन्तरको समस्या, र पेशागत हकहितका विषयलाई लिएर चरणबद्ध आन्दोलनअन्तर्गत पेनडाउन थालिएको महासंघले जानकारी दिएको छ । खासगरी दफा ७१ (झ) मा विद्युतीय माध्यमबाट कम्प्युटर प्रणालीमा कागजात अपलोड गर्दाखेरि भुलवश भएका गल्तीमा पनि जरिवाना गर्ने प्रावधानप्रति महासङ्घको आपत्ति रहेको छ ।




