प्रकाश डोटेल
स्याङ्जा,
नेपाली काँग्रेस स्याङ्जाले प्रतिनिधिसभा निर्वाचनका लागि दुई कान्छा उम्मेदवार सिफारिस गरेको छ । आउँदो फागुन २१ गते गर्ने भनिएको निर्वाचनका लागि स्याङ्जा काँग्रेसले सिफारिस गरेकामध्ये क्षेत्र नं.–१ बाट अजित क्षेत्री र क्षेत्र नं.–२ बाट विष्णुप्रसाद पौडेल समेत दुई कान्छा आकांक्षी उम्मेदवारका रुपमा सिफारिस भएका छन् ।
जेनजी आन्दोलनको पृष्ठभूमिमा बनेको वर्तमान सरकारले फागुन २१ गते आमनिर्वाचनको मिति घोषणा गरेको छ । घोषित मितिमा हुने निर्वाचनमा भाग लिन आकांक्षी उम्मेदवार सिफारिस गर्न नेपाली काँग्रेस केन्द्रीय समितिले क्षेत्रिय र जिल्ला कार्यसमितिलाई गरेको निर्देशन बमोजिम जिल्ला–जिल्लाबाट उम्मेदवार गर्ने क्रममा स्याङ्जाबाट पनि सिफारिस गरिएको हो ।
दुई निर्वाचन क्षेत्र रहेको स्याङ्जा काँग्रेसद्वारा क्षेत्र नं.–१ बाट सिफारिस भएका ११ जनामध्ये अजित क्षेत्री कान्छा उम्मेदवार हुन् । क्षेत्रीसँगै काँग्रेस केन्द्रीय उपसभापति धनराज गुरुङ्, पूर्वसांसद राजु थापा, मुक्तिनाथ विकास बैंकका पूर्वअध्यक्ष भरतराज ढकाल, गण्डकी प्रदेश काँग्रेस उपसभापति मेखलाल श्रेष्ठ, महासमिति सदस्य गोविन्दबहादुर रानाभाट, प्रेमराज पौडेल, ईन्द्रबहादुर रिजाल, बन्दना लम्साल, बुद्धिबहादुर राना ‘कुमार’ र युवा उद्यमी खुमाप्रसाद अर्याल सिफारिस भएको स्याङ्जा काँग्रेसले जनाएको छ ।
स्याङ्जा क्षेत्र नं.–१ बाट सिफारिस भएकामध्ये कान्छा उम्मेदवार क्षेत्री २०४७ सालमा साविक किचनास गाविस र हाल हरिनाश गाउँपालिका–१ सालडाँडामा जन्मिएका हुन् । उच्च शिक्षाका लागि पोखरास्थित पृथ्वीनारायण क्याम्पसमा अध्ययन गर्दा विद्यार्थी राजनीतिको नेतृत्व गरेका क्षेत्रीले नेपाल विद्यार्थी संघ स्याङ्जाको क्षेत्रीय सभापति र लामो समय जिल्ला सभापपित भएर काम गरे ।
नेविसंघको सभापति हुँदा जिल्लाका प्रत्येक विद्यालयमा पुगेर गरेको संगठनको बलमा उनी काँग्रेसको १४औं महाधिवेशनमा महासमिति सदस्य बन्न सफल भए । गण्डकी काँग्रेसका प्रदेश कार्यसमिति सदस्यमा निर्वाचित क्षेत्री कार्यसम्पादन समितिका सदस्य र भातृ संघसंस्था विभाग संयोजक समेत हुन् । आउँदो निर्वाचनका लागि स्याङ्जा काँग्रेसले आकांक्षी उम्मेदवारको रुपमा सिफारिस गरेमध्ये ३५ वर्षिय क्षेत्री कान्छा उम्मेद्वार बनेसँगै उनको जिल्लामा चर्चापरिचर्चा बढेको छ ।
विद्यार्थी राजनीतिदेखि सुख दुःखसँग संगठन विस्तारमा काम गर्दै आएको सुनाउँदै आकांक्षी उम्मेदवार क्षेत्रीले भने–‘विद्यार्थी कालदेखि अहिलेसम्म निरन्तर संगठन विस्तारमा गाउँ जाने क्रम रोकिएको छैन् ।’ दिनरात विद्यार्थी, युवा, महिला वृद्धवृद्धासँगको सहकार्यले राजनीतिमा आत्मबल बलियो र दरिलो बनेको बताउँदै उनले भने–‘पार्टीले विश्वास गरेर टिकट दिए जनताबाट अनुमोदित हुन् तयार भएरै आकांक्षी बनेको छु ।’
त्यसैगरी स्याङ्जा क्षेत्र नं.–२ बाट सिफारिस भएका १२ आकांक्षीमध्ये अर्का कान्छा उम्मेदवार हुन्, विष्णुप्रसाद पौडेल । पौडेलसँगै गण्डकी प्रदेशका पूर्वसांसद भागवत प्रकाश मल्ल, गोपालमान श्रेष्ठ, धनराज गुरुङ, मोहनप्रसाद पाण्डे, श्यामप्रसाद बश्याल, युवाराज पाण्डे, केदार काफ्ले, उद्यमी खुमाप्रसाद अर्याल, धुर्व शर्मा पंगेनी, शेषकान्त पुरी र महिला नेतृ माया रानालाई आकांक्षी उम्मेदवारका रुपमा सिफारिस गरेको स्याङ्जा काँग्रेसले जानकारी दिएको छ ।
पारिवारिक वातावरणबाटै काँग्रेस भएका पौडेल २०६३ सालमा नेपाल विद्यार्थी संघको जिल्ला सदस्य र २०६६ सालतिर नेविसंघको जिल्ला उपाध्यक्ष बनेर काम गरे । नेपाली काँग्रेसको २०७२ मा भएको १३औं महाधिवेशनमा महासमिति सदस्य बनेका पौडेल त्यसयता लोकप्रिय मतसहित निरन्तर महासमिति सदस्य बन्दै आएका छन् । २०४० सालमा जन्मिएका पौडेलले २०७४ सालमा सम्पन्न प्रदेशसभा सदस्य निर्वाचनमा झण्डै ३४ वर्षकै उमेरमा टिकट पाएका थिए ।
काँग्रेसकै घात अन्तरघातले नेकपा एमालेका मोहन रेग्मीसँग पराजित भएका युवा नेता पौडेल संगठनमा निरन्तर खट्दै आएका छन् । वालिङ नगरपालिका–१४ का स्थायी बासिन्दा पौडेल नेकपा एमाले केन्द्रीय सचिव पद्मा अर्याल समेत मतदाता रहेको वडामा हरेक स्थानीय निर्वाचनमा सधैँ काँग्रेसका जुनसुकै उम्मेदवारलाई जिताउन महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन् ।
राजनीतिक मैदानमा विपक्षीसँग भौतिक रुपमै भिडेको अनुभव संगालेका पौडेलले संगठन विस्तारमा लामो सयमदेखि अभिछिन्न खटेको बताए । संगठनमा लाग्दा व्यक्तिगत चाहानाहरुलाई तिलाञ्जली दिनुपर्ने बाध्यता रहेको बताउँदै पौडेलले भने–‘संगठनको श्रीवृद्धिमा होमिदा आफ्नै र बाह्यि पार्टीका सदस्यलाई सहयोग गर्न पाउँदा हुने खुसीले मन आनन्दित हुने रहेछ ।’
बढ्दो बेथिति, भ्रष्टाचारविरुद्ध र युवा प्रतिनिधित्व सुनिश्चितताको माग गर्दै गत भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनको मर्म अनुसार स्याङ्जा काँग्रेसले धेरै युवा आकांक्षी उम्मेदवारलाई सिफारिस गरेको छ । दुबै निर्वाचन क्षेत्रबाट सिफारिस भएका युवामध्येका कान्छा आकांक्षी क्षेत्री र पौडेलको सिफारिसलाई आम मतदाताले सकारात्मक रुपमा लिएका छन् । युवाहरुको सिफारिससँगै युवा मतदातामा उत्साह छाएको जनाइएको छ ।




