अविजित पन्थी
अर्घाखाँची
अर्घाखाँची जिल्ला, पाणिनी गाउँपालिका वडा नम्बर २ का ५० वर्षीय वडाध्यक्ष चन्द्रकान्त पौडेल कृषि क्षेत्रमा व्यवसायिक सफलता हासिल गर्दै आएका छन् । कृषि विकासको पहलका रूपमा सुन्तला खेतीमा सक्रिय रहेका पौडेलले वार्षिक ५ लाखभन्दा बढी आम्दानी गर्दै आएका छन् ।
उनले आफ्नो निजी जमिनमा ४०० भन्दा बढी बोट सुन्तला बिरुवा लगाएका छन् । ती बिरुवामध्ये ९०–९२ ओटा बोटले बिस्तारै प्रतिफल दिन थालेका छन् र उत्पादन भएको सुन्तला बजारमा बिक्रीका लागि तयार भएको छ । उनले घरैबाट सुन्तला बिक्री गर्दै आएका छन्, जहाँ खरिदकर्ताहरू प्रत्यक्ष घरमै आएर कुन ग्रेडको सुन्तला कति मूल्यमा पर्छ भनी खरिद गरिरहेका छन् ।
स्थानीय कृषकहरूको लागि उदाहरणीय बनेका वडा अध्यक्ष पौडेल वडाको राजनीतिक, विकास निर्माणका काम बाहेक अन्य समयमा बिदाको बेलामा सुन्तला उत्पादन र बजार व्यवस्थापनमा सक्रिय रहेका छन् ।
पौडेलले आफ्नो वडामा कृषक र पशुपालकहरूको हितका लागि विभिन्न कार्यक्रम पनि सञ्चालन गर्दै आएका छन् । यसअन्तर्गत, सुन्तलाका बिरुवा निःशुल्क वितरण गर्ने, बाख्रालाई खोर सुधारको लागि बजेट छुट्याउने, बयर जातका बोकाहरु २५% लागत साझेदारीमा ७–८ वटा दरले हरेक वर्ष वितरण, यस वर्ष पनि गाई पाल्नेहरूलाई काउ म्याट वितरण जस्ता कार्यक्रमहरु सञ्चालन भएका छन् । साथै, बाँदर नियन्त्रणका लागि भोटे कुकुर वितरणलगायतका विभिन्न किसिमका उत्कृष्ट कार्यहरू पनि उनले गरेका छन् ।
पौडेलले भने–“जनप्रतिनिधि हुनुको अर्थ केवल प्रशासनिक काममा सीमित छैन । आफ्नो व्यवसायिक अभ्यासमार्फत् समुदायमा कृषिमा उत्प्रेरणा दिन सकिन्छ भन्ने मेरो विश्वास हो । मैले सुन्तला खेतीमा लगानी गर्दा स्थानीय रोजगारी सिर्जना र कृषिको विकास दुबै लक्ष्य राखेको छु ।”
उनको प्रयासले अन्य युवा कृषकहरूलाई पनि व्यावसायिक खेतीतर्फ आकर्षित गरेको छ । सो वडामा कम्तिमा १२० घर व्यवसायिक सुन्तला खेतीमा लागेका छन् । सुन्तला सिजन सकिएपछि किसानहरूले तरकारी खेतीमा पनि लगानी र तयारी गरिरहेका छन्, जसले समग्र रूपमा कृषि व्यवसाय र आय दुवैमा वृद्धि भएको छ ।
पौडेलले उत्पादन गरेका सुन्तला गाउँ–शहरका बजारमा बिक्री हुने गर्छन् र बजार व्यवस्थापनमा उनी स्वयं सक्रिय छन् । जनताको प्रतिनिधि सुशासन प्रत्याभूति गराउने, राजनीतिक र प्रशासनिक दायित्व र व्यवसायिक जिम्मेवारीसँगसँगै सम्हाल्नुपर्ने चुनौतीहरूका बाबजुद, पौडेलले कृषि व्यवसायलाई प्राथमिकता दिँदै आफ्नो क्षेत्रको विकासमा योगदान पु¥याइरहेका छन् ।
अन्य सफल कृषकहरूले पनि यस प्रकारको व्यवसायिक सुन्तला खेतीलाई प्रशंसा गरेका छन् र अन्य जनप्रतिनिधिहरूलाई समुदायमा सकारात्मक उदाहरण प्रस्तुत गर्न प्रोत्साहित गरेका छन् ।




